कोरोना संक्रमितको मलामी गएकाहरुले नै गरे आफ्नो टोल सील, सेतीको डाईलासिस वार्ड सील गरिएपछि सेवा प्रभावित, मृगौला पिडितहरु मारमा
2020/06/07, 2:07
 
death

धनगढी उपमहानगरपालिका– ४ महिमा टोलकी एक महिलामा मृत्युपछि कोरोना संक्रमणको पुष्टि भएपछि महिमा टोल सील गरिएको छ । प्रहरीले शनिवार साँझ महिमा टोल सिल गरिएको भन्दै माईकिङ गरेको थियो । माईकिङ गरेर फिर्ता भएको प्रहरी अहिलेसम्म त्यहाँ फर्केको छैन । प्रहरी नआएपछि चहलपहल पूर्ववत हुन थालेपछि मलाम गएका व्यक्तीहरुले नै धनगढी–अत्तरीया  मूल सडकको बोराडाडी भएर महिमा टोल आउने बाटो र यातायात व्यवस्था कार्यालय भएर बोराडाडी मुल सडक जोड्ने शाखा रोड अन्तर्गत पर्ने तुलसी चौकमा बोर्ड नै राखेर आवागमनमा अवरुद्ध गरेका छन् ।

पुरै टोल सिल गरिएपछि स्थानीय बासिन्दा निकै त्रसित छन् । स्थानीय बासिन्दा घरबाट निस्किन डराईरहेका छन् । पसलहरु बन्द छन् । स्थानीय बासिन्दा शनिवार साँझदेखि घरबाट निस्किएका छैनन । दुई दिनअघि सेती प्रादेशिक अस्पतालमा मृगौलाको डायोलिससका क्रममा महिमा टोलकी एक महिलाको मृत्यु भएको थियो । मृत्युपछि स्वाव संकलन गरिएकी ती महिलाको त्यसै दिन अन्त्येष्टि गरियो । र शनिवार मात्र ती महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

स्थानीय बिजय चौधरीले अन्त्येष्टिपछि कोरोना संक्रमणको पुष्टि भएपछि मलाममा गएका र खासगरी शव बोक्ने व्यक्तीहरु निकै आतंकित भएको बताए । मलाममा गएका व्यक्तीहरुले जतिसक्दो चाँडो थ्रोट स्वावको नमूना लिएर आफूहरुको कोरोना परीक्षणका लागि आग्रह गरेका छन् ।

सेती प्रादेशिक अस्पतालको डाईलासिस वार्डमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएपछि वार्ड सिल गरिएको छ । विरंग हेल्थ केयर प्रालिले सञ्चालन गरेको डायलासिस वार्डमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएपछि सेवा प्रभावित भएको हो ।

शुक्रबार डायलासिस युनिटमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएसँगै शनिबारदेखि युनिट सिल गरिएको छ । जसका कारण अन्य सेवा प्रभावित भएको अस्पतालले जनाएको छ । डायलासिस युनिट सिल गरिएपछि नियमित रुपमा डायलासिस गराउँदै आएका मृगौला पीडित मर्कामा परेका छन् । शनिबारदेखि सोमवा सम्मका लागि वार्ड सिल गरिएको डायलासिस युनिटका व्यवस्थापक दीपक भट्टले बताए ।

संक्रमित महिलाको उपचारमा संलग्न स्वास्थ्यकर्मी एवंम् सम्पर्कमा गएका अन्य कर्मचारी समेत गरी ७ जनालाई क्वारेन्टिनमा राखिएको छ । व्यवस्थापक भट्टका अनुसार सेती प्रादेशिक अस्पतालमा सञ्चालित डायलासिस युनिटबाट ५५ जना मृगौला पीडितले नियमित डायलासिस सेवा लिदै आएका छन् ।  

शुक्रवार अस्पतालको डायलासिस वार्डमा भर्ना भएपछि मृत्यु भएकी धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो । लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित उनी पहिलो पटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेका थिईन् । डायलासिस अघि उनको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो ।