कैलालीमा कोरोना महामारी नियन्त्रणमा निजी अस्पताल अग्रसर, ७ सय बढिको उपचार
2021/06/02, 4:57
 
nn

धनगढी : कोरोना भाइरसको दोस्रंो लहरले सुदूरपश्चिम आक्रान्त भएपछि सरकारी अस्पताल संक्रमितले भरिभराउ भए । शय्या अभावले अस्पतालको ग्यालरी र परिसरमा पनि कोरोना संक्रमितलाई राखियो । सोही क्रममा कैलालीका निजी अस्पतालले महामारी नियन्त्रणमा सरकारको सारथी बन्ने इच्छा व्यक्त गरे । निजी अस्पतालले कोरोना संक्रमितको उपचारको लागि वार्ड सञ्चालनमा ल्याउने प्रदेशको सामाजिक विकास मन्त्रालयसँग सम्झौता गरे । निजी अस्पताल संघ सुदूरपश्चिमका अध्यक्ष जनकराज जोशीका अनुसार सोही सम्झौताअनुसार जिल्लाका निजी अस्पतालमा संक्रमितको उपचारका लागि ५ देखि १० बेडसम्म सञ्चालनमा आएको बताए । संक्रमितको उपचार गर्न अत्तरियाको पद्मा अस्पताल र धनगढीको नवजीवन अस्पतालले १०–१० बेड उपलब्ध गराउने सम्झौता भएको थियो । धनगढीको कैलाली अस्पताल, माया मेट्रो अस्पताल, निर्सग अस्पताल, सीपी अस्पताल, नोभा अस्पताल, सारथी अस्पताल, केजी अस्पताल र ओम आशा अस्पतालले ५–५ बेड सञ्चालन गरेको अध्यक्ष जोशीले बताए । ‘निजी अस्पतालमा संक्रमितको उपचार सुरु भएपछि सरकारी अस्पतालमा चाप घटेको बुझाई हाम्रो छ,’ अध्यक्ष जोशीले भने, ‘यो अवधिमा निजी अस्पतालमा मात्रै झण्डै सात सय जना संक्रमितले उपचार पाएका छन् ।’ 

कुन अस्पतालमा कतिको भयो उपचार ?
सामाजिक विकास मन्त्रालयसंगको सम्झौतामा कोभिडवार्ड सञ्चालन गरेको धनगढीको निसर्ग अस्पतालले अहिलेसम्म एक सय २२ जना संक्रमितलाई भर्ना गरेको अस्पतालका सञ्चालकमध्येका एक कुवेर शाहीले बताए । ‘एक सय २२ जनामध्ये ९० जना कोरोनामुक्त भएर घर फर्किएका छन् । ५ जनाको मृत्यु भएको छ भने १० जना रेफर भएका छन् । बाँकी १५ जना अहिले पनि उपचाररत छन्,’ शाहीले भने । कैलाली अस्पतालले अहिलेसम्म ७२ जना संक्रमितलाई भर्ना गरेको थियो । ६७ जना बिरामी निको भएर घर फर्केका छन् भने चार जना गम्भीर बिरामीलाई अन्यत्र रेफर गरिएको छ । एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । धनगढीकै माया मेट्रो अस्पतालले ९६ जना संक्रमितलाई भर्ना गरेको अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले बताए । ‘८७ जना संक्रमित निको भएर घर फर्किएका छन्,’ उनले भने, ‘५ जनाको उपचारका क्रममा मृत्यु भएको थियो । चार जनालाई थप उपचारका लागि रेफर गरिएको छ ।’

धनगढीको नवजीवन अस्पतालमा अहिलेसम्म ५६ जना संक्रमित भर्ना भएका छन् । उनीहरुमध्ये ५२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् भने तीन जनाको उपचारका क्रममा मृत्यु भएको थियो । एक जनाको अहिले अस्पतालमा उपचार भइरहेको छ । यस्तै धनगढीको सारथी अस्पतालमा अहिलेसम्म ७६ जना कोरोना संक्रमित भर्ना भएका छन् । उनीहरुमध्ये ७० जना डिस्चार्ज भएका छन् भने दुई जनाको मृत्यु र चार जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको अस्पतालका प्रवन्ध निर्देशक वेदप्रकाश जोशीले खवरकुञ्जलाई जानकारी दिए । यस्तै धनगढीको सिपी अस्पतालले अहिलेसम्म २४ जना संक्रमितको भर्ना लिएको छ । उनीहरुमध्ये १८ जना डिस्चार्ज भएका छन् भने दुई जनाको उपचार भइरहेको छ । बाँकी चार जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

के थियो सरकारसंग भएको सम्झौता 
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार  सरकारी अस्पतालमा दिइरहेको सेवा निजी अस्पतालबाट दिने सम्झौताअनुसार निजी अस्पतालले उपचार गरेको बताए । सोको खर्च सरकारले व्यहोर्ने उनले बताए । सामान्य प्रकृतिको भए प्रतिदिन प्रतिबिरामीको उपचार खर्च ३ हजार ५ सय र जटिल लक्षण भएका बिरामीको हकमा ७ हजार र १५ हजार रुपैयाँ सरकारले निजी अस्पताललाई उपलब्ध गराउने सम्झौता भएको प्रवक्ता नरेन्द्र कार्कीले बताए । विभिन्न अस्पतालले बढि शुल्क लिएको गुनासो आएकोमा निजी अस्पतालहरुले भने सरकारसंग सम्झौता भएका बिरामीभन्दा बढि बिरामीको एकै दिन उपचार गर्दा केही शुल्क लिएको जनाएका छन् ।