कैलालीमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो, एक जनाको मृत्यु, एक रेफर, ९ जनाले कोरोना जिते
2020/06/07, 4:15
 
korona

सुदुरपश्चिममा आईतवार थप एक जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षण गर्दा कैलालीको मसुरीयाका ४७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । कैलाली जिल्लामा सवैभन्दा वढी ४६ जना संक्रमित पुगेका छन् । 

शनिवार जिल्लामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । गोदावरीका एक जनप्रतिनिधि, धनगढीकी ५५ बर्षीय मृतक महिला र गौरीगंगाका चार जना पुरुषमा शनिबार कोरोना पुष्टि भएको थियो । कैलालीमा सबैभन्दा बढी गौरीगंगा नगरपालिकामा २० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै धनगढी उप–महानगरपालिकामा ९ जना, जानकी गाउँपालिकामा ८ जना, टीकापुर नगरपालिकामा ४ जना, लम्कीचुहा नगरपालिका २ जना, भजनी नगरपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकामा एक एक जना कोरोना संक्रमित भेटिएका छन् ।

संक्रमित मध्ये हाल सम्म नौँ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन् । कैलालीका एक जना संक्रमितलाई थप उपचारका लागि काठमाण्डौं रेफर गरिएको छ । प्रदेशकै पहिलो पटक चैत १४ गते कोरोना संक्रमण देखिएका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुष, त्यसपछि चैत २२ गते धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, लम्कीका २१ वर्षीय युवक र  बैशाख १ गते संक्रमण पुष्टि भएकी लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ६१ वर्षीय महिला कोरोनाई जितेर घर फर्किसकेका छन् ।

b

जानकी गाउँपालिकाका ५ जना पनि कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । अन्यको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पतालको आईसोलेसन वार्ड र सम्बन्धित क्वारेन्टाईनमै उपचार भइरहेको छ ।

कैलालीका १३ ओटा स्थानिय तहमध्ये ९ ओटा स्थानीय तहहरुमा कोरोना संक्रमण फैलिसकेको छ । जिल्लाका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, घोडाडोडी नगरपालिका, गौरीगंगा नगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका, लम्की चुहा नगरपालिका, जानकी गाउँपालीका र बर्दगोरिया गाउँपालिकामा कोरोना संक्रमण फैलिएको हो ।

धनगढीकी ५५ बर्षीय संक्रमितको मृत्यु भइसकेको छ । धनगढीका दुई संक्रमित भने क्वारेन्टिनमै छन् । कैलालीपछि अछामका १५, कञ्चनपुरमा १३, डोटीका १०, डडेल्धुरा र बझाङमा ७÷७, बैतडीमा ६, बाजुराका तीन र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ ।