बैतडीको क्वारेन्टाइनमा मृत्यु भएका युवकको परीक्षणबिनै आइतबार दाहसंस्कार गरिएको छ। शनिवार राति मृत्यु भएका पाटन नगरपालिका ६ का ३० वर्षीय युवकको कोरोना परीक्षण गरिएन। ती युवकको दाहसंस्कार क्वारेन्टाइनमा सँगै बसेका उनका आफन्तले नै गरेका पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए।
दाहसंस्कारमा सहभागी तथा मलामी जाने सबै ६ जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको छ। मृतकको थ्रोट स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि धनगढी पठाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।
यही २३ गते भारतको बेंग्लोरबाट आएका उनी कैलालीको गौरीफन्टा नाका हुँदै गाउँ पुगेका थिए। शनिबार बिहान ११ बजेतरि मात्र क्वारेन्टाइनमा बसेका उनी बेलुका ६ बजे एक्कासि बसेकै स्थानमा बेहोस भएका थिए।
उपचारका लागि नजिकै रहेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिए पनि ती युवकको राति साढे ८ बजेतिर मृत्यु भएको हो।