लक्षण देखिएपछि कैलालीका थप ६ जना संक्रमित सेती प्रादेशिक अस्पताल भर्ना भएका छन् । आईतबार धनगढी र गौरीगंगाका ६ जना कोरोना संक्रमितमा लक्षण देखिएपछि उनीहरुलाई अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरिएको हो ।
शनिबार कोरोना संक्रमण पुष्टि भएका गौरीगंगा नगरपालिकाका १८, २६, २७ र ३३ वर्षीय पुरुषलाई आईसोलेसन वार्डमा भर्ना गरिएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । यस्तै लक्षण देखिएपछि धनगढी उप–महानगरपालिकाका दुई जनालाई पनि आईसोलेसन भर्ना गरिएको हो । उपमहानगरपालिकाको वडा नम्वर १४ का २२ वर्षीय युवती र २६ वर्षीय युवकमा कोरोनाको लक्षण देखिएपछि आइतबार आइसोलेसन वार्डमा भर्ना गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी बताए ।
यसअघि प्रादेशिक अस्पतालले स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार लक्षण नभएको भन्दै दुवै संक्रमितलाई क्वारेन्टिनमा बस्ने गरी जेठ २३ गते फिर्ता पठाएको थियो । स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकामा लक्षण नभएका र सामान्य लक्षण देखिएका बिरामीलाई होम आइसोलेसनमा राख्ने उल्लेख भएपछि उनीहरुलाई फिर्ता पठाइएको सेती प्रादेशिक अस्पतालले जनाएको थियो । तर अहिले लक्षण देखिएपछि सोही निर्देशिका अनुसार आइसोलेसनमा भर्ना गरिएको हो ।
यो सँगै सेती अस्पतालको आईसोलेसन वार्डमा उपचाररत व्यक्तीहरुको संख्या २५ पुगेको छ । यसअघि १९ जना लक्षण देखिएका संक्रमितको सेतीमै उपचार भईरहेको थियो भने ६ जना लक्षण नदेखिएका संक्रमितलाई नयाँ निर्देशिका अनुसार डिस्चार्ज गरेको थियो ।