क्वारेन्टाइन्मा मृत्यु भएकाको अझै पीसीआर रिपोर्ट आएको छैन । आइतबार बिहान ३ बजे केआई सिंह गाउँपालिकाको वडा नम्बर ३ स्थित सिताराम आधारभूत विद्यालयको क्वारेन्टाइनमा मृत्यु भएका १९ वर्षीय युवकको रिपोर्ट नआउँदा दाहसंस्कार हुन सकेको छैन ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा शनिबार बेलुका ६ बजे नै मृतक र उनीसँगै बसेका अन्य ९ जनाको स्वाब संकलन गरी पठाइएको थियो । स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले मृतकको स्वाब सोमबार बिहानसम्म पनि प्रयोगशालाभित्र परीक्षणका लागि नराखेको जानकारी दिए । ८ बजेको पहिलो लटमा प्रयोगशालामा हाले पनि दिउँसो १२ बजेभन्दा अघि रिपोर्ट आउने सम्भावना नरहेको उनले जानकारी दिए ।
स्थानीय आत्तिन थालेपछि सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले मृतकका थोरै आफन्त मात्र मिलेर दाहसंस्कार गर्न निर्देशन दिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख मलासीले बताए । दाहसंस्कारमा सहभागीलाई छुट्टै राख्न डा. अवस्थीले भनेका छन् ।
मृतकका आफन्तले रिपोर्ट नआउँदा दाहसंस्कारमा ढिलाइ भएको र शव गन्हाउने खतरा भएको भन्दै चाँडो रिपोर्ट पठाउन आग्रह गरेका छन् । प्रहरीले शवलाई घेरा हालेर बसेको छ । कोरोनाको डरले गाउँलेहरुले दाहसंस्कारमा सहयोग गर्न आनाकानी गरिरहेका छन् ।
दाहसंस्कारका लागि नेपाली सेना तयारीमा रहे पनि रिपोर्टको पर्खाइमा रहेको केआई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए । वर्षाका कारण हिलाम्य सडकका बाबजुद गाउँपालिकाका स्वास्थ्यकर्मीले स्वाब संकलन गरी दिपायलसम्म समयमै पु¥याए पनि धनगढीमा रहेको प्रयोगशालाले ढिलासुस्ती गरेको आरोप लागेको छ ।