मध्यान्न १२ बजे । धनगढीकाे उखरमाउलाे गर्मी । गौरिफन्टा नाकामा असिन पसिन हुँदै ३ सय भन्दा बढी लाइनमा छन् । लाइनको बीचमा छिन् बझाङ कि हिरा बोहरा । ९ महिनाको शिशु पिठ्युँमा झुन्डिएको छ । २ वर्षकी छोरीको हात समातेर डोहोर्याइरहेकी छन् ।
हतार हतारमा सीमा काट्दै गर्दा नेपाल प्रहरीका एक अधिकारीले सोध्छन्, ‘तपाईं कहाँ सम्मको हो ?
‘बेङ्लोर ।’
‘साथमा को को हुनुहुन्छ ?’
‘सबै ।’
पिठ्युँमा बाँधिएको शिशुको आवाज सुनिन्छ, ‘च्यायाँ, च्याया…।’
त्यसपछिको सवाल जवाफ उनीसँगै रहेका जयराम बोहरासँग हुन्छ ।
‘हाम्रो सबै परिवारका सदस्य उतै हुनहुन्छ’ उनले प्रहरीलाई भन्दै थिए ‘अहिले भाउजू, दिदी बाबुहरू र फुपू जान लागेका हौँ ।’
परिवारका केही सदस्य र आफन्तसहित उनीहरूको साथमा ६ जना थिए ।
भारतमा काम गर्ने ठाउँबारे सामान्य जानकारी लिएर उनीहरूलाई प्रहरीले पठाउँछ । त्यसबेलासम्म पिठ्युँमा बाँधिएको शिशु रुन बन्द बन्द हुन्छ ।
‘दुई तीन दिन लाग्छ त्यहाँ पुग्न । २ बच्चालाई लिएर कसरी जाने होला,’ हिरा भन्दै थिइन् ‘हामीले त दुख पाएकै थियौँ । यी नाबालकहरूले पनि दुःख पाउने भए ।’
‘कसरी पुर्याउनुहुन्छ नानीहरूलाई यति टाढा ?’ हामीले सोध्यौं ।
उनी मलिन भइन् । बोलिनन् ।
‘श्रीमान् आउनु भएन ?’प्रश्न थपियो ।
‘उहाँ अस्ति नै गइसक्नु भयो’ उनले भनिन् ।
साहुले ताकेता गरेपछि श्रीमान् केही दिनअघि नै भारत गएका रहेछन् । ‘तिमीहरू आउँदै गर्नु हौ’ भन्दै काखे बालक छोडेर काममा हिँडेका श्रीमान्सँगै काम गर्न हिरा अन्य आफन्तसँग फेरि त्यहि बाटो पच्छाउँदै गैरिफन्टा पुगिन् ।
‘काम नगरे चुलो बल्दैन । चुलो नबले भोकै परिन्छ । त्यसैले त पूरै परिवार भारत जानुपर्छ,’ उनले निदाएको शिशुको मुहार हेर्दै भनिन्, ‘हामीले जुनी भारतमै कटायौँ । यिनीहरूको पनि यस्तै हुन्छ कि भन्ने ठूलो पीर छ ।’
उनी फेरि गम्भीर भइन् ।
हिराको जस्तै समस्या बझाङबाटै भारतमा काम गर्न जाँदै गरेकी मनिषा बोहराको पनि छ । उनको काखमा पनि सन्तान निदाएको छ । मनिषाले २० वर्ष भारतमै कटाइन् । अझै कति वर्ष उतै कट्ने हो त्यो भने उनलाई थाहा छैन ।
‘घरमा समस्या छ । भारतमा काम नगरे चुलो बल्दैन’ उनले भनिन्, ‘श्रीमान्सँगै बस्ने र त्यहीँ काम गर्ने भनेर हिँडेका हौं ।’ उनका श्रीमान् पनि साहुले ताकेता गरेपछि केही समयअघि नै भारत पुगिसकेका रहेछन् ।
विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित हाल भारतमा छन् । प्रत्येक दिन दैनिक करिब १ हजार जनाले ज्यान गुमाइरहेका छन् । हालसम्म भारतमा २ करोड ९५ लाख ५ हजार ७ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो विषयमा भारतमा मजदुरी गर्न जाने नेपालीलाई जानकारी नभएको भने होइन । तर, नेपालमै रोजगारीको व्यवस्था नहुँदा उनीहरू सस्तोमा श्रम बेच्न भारत जान बाध्य छन् ।
बझाङका जयराम बोहरा पनि नेपालमा उचित व्यवस्थापन नहुँदा बाध्यताले भारत जानु परेको बताउँछन् । उनी गत महिना मात्रै घर फर्किएका थिए । आइतबार उनी पनि भारत जानेहरूको भीडमा भेटिए । भारतमा संक्रमितहरूको अवस्थाबारे थाहा पाउँदा पाउँदै पनि जानुपरेको उनले बाध्यता सुनाए ।
‘अहिले भारत भन्दा नेपाल धेरै सुरक्षित छ । एक महिनाअघि पनि हामी बाँचिन्छ कि भनेर फर्किएका हौँ,’ उनले भने, ‘अब यहाँ बसेर के गर्नु भन्ने हुन थाल्यो । भएको पैसा सकियो अनि भारत जान थालेका हौँ ।’
उनी ७ वर्षदेखि भारतमा मजदुरी गरिरहेका छन् ।
भारतमा कोरोना संक्रमणको भयावह अवस्था आँखैअगाडि देखेर सागर नेपाली २ महिना पहिले नेपाल फर्किएका थिए । त्यो बेला उनी अब कहिल्यै भारत नजाने यतै इलम गर्न भन्दै फर्किएका हुन् ।
तर, आफूसँग भएको रकम सकिएपछि उनी पनि जानै पर्ने भयो ।
‘नेपालमै बस्न हामीलाई रहन नभएको होइन । तर, यहाँ बेरोजगार भएर बस्नु भन्दा उतै जानु उपयुक्त लाग्यो,’ उनले भने, ‘कहिल्यै जान्न भनेर फर्किएको हुँ । दुई महिनामै जान बाध्य भएँ ।’
अहिले उनीहरू जस्ता हजारौं नेपाल भारत गइरहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती कञ्चनपुरका अनुसार आइतबार मात्रै ७ सय १३ जना नेपाल भारत गएका छन् ।
त्रिनगर नाका हुँदै पछिल्लो २ महिनामा १६ हजार २ सय ८१ नेपाली भारत गएका छन् । बैशाख महिनामा ४ हजार २ सय ९३ र जेठ महिनामा १२ हजार ४२ जना भारत प्रबेश गरेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।
‘अहिले प्रत्येक दिन ५ सय भन्दा बढी नेपाली भारत गइरहेका छन् । कहिले त ८ सय सम्म पुग्छन्’ इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश बिष्टले भने, ‘भारत जानेहरुको संख्या बढ्दो क्रममा छ ।’