कर्णालीबाट बच्चा लिएर पथरैया नदीमा पुगी आमा डल्फिन
2021/06/24, 9:55
 
dd

कर्णाली नदीबाट एक आमा डल्फिन आफ्ना बच्चा लिएर पथरैया नदीसम्म पुगेकी छ। कैलाली र बर्दियाको सिमानामा बग्ने कर्णालीमा उसको बाह्रै महिना बसाइ हुन्छ। यीमध्ये असार, साउन, भदौ र असोजका चार महिना घुमफिर गर्दै र आहारा खोज्दै बच्चा हुर्काउन ऊ कैलालीको पूर्वी दक्षिणी क्षेत्रमा बग्ने पथरैयामा आइपुगेकी हो।

केही डल्फिन प्रजननका लागि पनि यसबेला बढेको मोहनाको वहावलाई बाटो बनाएर पथरैया र काडा नदीसम्म पुग्छन्।डल्फिन संरक्षणमा लागेका टीकापुर नगरपालिका-७ का भोजराज ढुंगानाले यस वर्ष असारको सुरूमै पानी परेर नदीहरूमा जलसतह बढेपछि डल्फिन आइपुगेका बताए। ‘यहाँ भजनी र टीकापुरको सिमानामा बग्ने पथरैया र काडा नदी मिलेको त्रिवेणीनेर अहिले आमा र बच्चा डल्फिन जतिबेला पनि देख्न मिल्छ,’ उनले भने।

यो त्रिवेणीमा आएकी डल्फिन र उसको बच्चा हरेक एक मिनेटमा पानीमाथि निस्केर ‘स्वाँ’ आवाज निकाल्दै सास फालेर फेरि डुब्छन्। हरेक मिनेटमा उनीहरू यस्तो गरिरन्छन्। डल्फिनले टाउकोको थोरै पछाडि भएको ‘ब्लोहोल’बाट सास फालेको प्रस्ट देख्न सकिन्छ। एक मिनेटभित्र ऊ पानीमाथि उफ्रेर धनुष आकारमा फेरि डुब्छ। पानी नुनिलो नहुनाले समुद्रमा जस्तो पानीको सहतभन्दा माथिसम्मै पुग्ने गरी भने यो उफ्रदैन।

‘सास फेर्न निस्केका बेला नै डल्फिन पानी बाहिर देखिने हो। कहिलेकाहीँ माछा समातेको बेला पनि पानीभन्दा माथिसम्म उफ्रन्छ,’ ढुंगानाले भने।

डल्फिन देखिने पथरैया र काडा मिलेर बनेको त्रिवेणीनेर १६ देखि २० फिट गहिरो पानी छ। यहाँनेरको ५०० मिटर परिधिभित्र डल्फिन खेलिरहन्छ। पानीको वहाव कम नभएसम्म ऊ त्यहाँबाट कर्णालीमा फर्किँदैन। यहाँ पुगेको डल्फिन ग्याङ्गेटिक डल्फिन हो। यसले आँखा कम देख्छ। यसले आवाज सुनेका भरमा सिकार र खतरा पहिल्याउँछ।

आमा डल्फिनको तौल एकदेखि डेढ क्विन्टलसम्म र यसको लम्बाइ ८ फिटसम्म रहेको अनुमान गरिएको छ। यसको चुच्चो लामो छ। दाँत तीखा छन्। पथरैया र काडा नदीको मिलनविन्दु जस्तै भजनी र टीकापुरका अरू तीन विन्दुमा वर्षातको समयमा डल्फिन आइरहन्छन्। गैरीनाला-पथरैयाको दोभान, मोहना-पथरैयाको दोभान र मोहना-रेफ्टिनालाको दोभानमा पनि डल्फिनलाई नजिकैबाट मज्जाले हेर्न मिल्छ।

‘आजभोलि यी चार विन्दुमा जतिबेला पनि डल्फिन देखिन्छन्, कहिलेकाहीँ उनीहरू खेल्दै तल-माथि गरिरहेका बेला नदीका अरू स्थानमा पनि देखिन्छन्,’ ढुंगानाले भने। गंगामा प्रशस्त डल्फिन छन्। कर्णाली नदी गंगामा गएर मिसिन्छ। गंगामा पाइने प्रजातिका डल्फिन यहाँ पाइने भएर त्यहाँबाट कर्णालीको बाटो हुँदै आएका हुनसक्ने बताइन्छ।

‘हुन त भारतले बनाएको ड्यामबाट माथि डल्फिन आउन नसक्लान् पनि तर यी पहिले नै आएका थिए कि अहिले अहिले पनि आउजाउ हुन्छ त्यो अध्ययनको विषय हो,’ ढुंगानाले भने। कर्णाली, मोहना, पथरैयामा पानी प्रदुषित नभएर डल्फिन आएका हुन्। यहाँ माछा, झिंगेमाछा, लेउ पनि प्रशस्त खान पाइनाले डल्फिन आउने गरेको संरक्षणकर्मीहरू बताउँछन्।

यसबाहेक पछिल्लो समय मानवीय गतिविधिले अवरोध गर्न नपाइने भएर पनि डल्फिनलाई यहाँ आउन सजिलो भएको ढुंगाना बताउँछन्। ‘मान्छेले जिस्काउने गरिँदैन, यी नदीहरूमा दोभान बढी हुनाले बच्चा हुर्काउन, माछा खान सजिलो भएर यहाँ आउँछन्,’ उनले भने। वर्षामा डल्फिन देखिने पथरैया नदीको यो विन्दुको छेउछाउमा २०२३ सालतिर मान्छेको वस्ती बसेको बुढापाका बताउँछन्। उनीहरूले त्यसबेला पनि डल्फिन देख्थे।

‘हामी केटाकेटी हुँदा बुढापाकाहरू यो के हो, मान्छेलाई खाने पो हो कि भनेर डराउँथे, गुलेलीले हान्ने, जिस्काउने भगाउने पनि गरे,’ ढुंगानाले भने। २०५७ साल पछि डल्फिनको महत्वबारे धेरै स्थानीयले बुझे। यसपछि डल्फिन संरक्षण गर्नुपर्ने भनेर विभिन्न समूह बने। ‘पछि डल्फिन संरक्षण गर्नुपर्छ, गुलेली हान्ने, ढुंगा हान्ने र जिस्काउन नपाइने भनेर स्कुलमा, गाउँमा सिकाउन थालियो,’ उनले भने। त्यसबेलादेखि डल्फिन संरक्षणका लागि नदीमा जथाभावी माछा मार्न रोक लगाउने, विषादी हाल्न नदिने, फोहर र मरेका वस्तु नदीमा फाल्न नदिनेजस्ता काम हुन थाले।

पर्यटक भित्र्याउने लक्ष्यले यस क्षेत्रको प्रचारप्रसारका लागि अहिलेसम्म चार पटक डल्फिन महोत्सव आयोजना भएका छन्। २०६३ सालमा भजनी र नारायणपुरमा दुई दिन चलेको महोत्सवले विदेशी पर्यटकसम्म डल्फिन हेर्न मिल्ने कुरा पुगाउन सकेको थियो। त्यसै वर्ष पथरैयामा डल्फिन हेर्न पहिलो विदेशी पर्यटक इंग्ल्याण्डका जोन स्पासेट र उनका साथी आएका थिए।

बर्दिया राष्ट्रिय निकुन्ज आएका उनीहरू डल्फिन हेरेर फर्केका ढुंगानाले बताए। ‘विदेशी आएर डल्फिन हेरेर रमाए, यहाँका स्थानीय विदेशीलाई हेरेर रमाए,’ उनले ठट्टा गर्दै भने। त्यसपछि तीज पर्व र विभिन्न दिवसका अवसरमा डल्फिन संरक्षणका बारेमा प्रचार गर्ने गरिएको छ।उद्योग वाणिज्य  संघ, होटल व्यवसायी संघ, जिल्ला समन्यव समिति र स्थानीय सरकारले डल्फिन संरक्षण, प्रचारप्रसार र पर्यटन विकासका लागि आवाज उठाउँदै आएका छन्। हरेक वर्ष डल्फिन यहाँ आउने गरे पनि बीस वर्षको अवधिमा १५० जना मात्र विदेशी नागरिक डल्फिन हेर्न पुगेका छन्। आन्तरिक पर्यटक भने आइरहन्छन्।

अहिले पथरैया नदीमा राष्ट्रिय गौरवको रानी-जमरा सिंचाइ आयोजनाले जलचर डल्फिनमैत्री तटबन्ध बनाइदिएको छ। टीकापुर  र भजनी नगरपालिकाले २/२ वटा भ्यु टावर बनाएका छन्। स्थानीयहरूले नदी सरसफाइ, पर्यटकलाई स्वागत, डुंगाबाट अवलोकन गर्ने व्यवस्था गरेका छन्। ‘डल्फिन संरक्षण क्षेत्रका रूपमा सरकारले घोषणा गरेर यसलाई प्रजनन् केन्द्र स्थापना गर्नुपर्छ भन्ने यहाँका नागरिकको माग छ,’ ढुंगानाले भने।