कैलालीमा विपदबाट १० हजार घर परिवार प्रभावित हुने आकलन, यस्तो छ पुर्व तयारी
2021/06/25, 9:43
 
dd

कैलालीमा विपदबाट १० हजार घर परिवार प्रभावित हुने आकलन गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति कैलालीले यस वर्ष जिल्लामा विपदबाट दश हजार बढी घरपरिवार प्रभावित हुने आँकलन गरेको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले यस वर्ष जिल्लामा विपदबाट १० हजार घरपरिवार प्रभावित हुने आँकलन सहित विपद पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ पारित गरेको बताए ।

प्रमुख जिल्ला अधिकारी रिजालले भने– कैलालीका बाढीजन्य प्रकोपको पूर्व तयारीका लागि कर्णाली, कान्द्रा, पथरैया, मोहना नदी लगायतका जोखिमयूक्त क्षेत्रहरूमा हुन सक्ने कटान तथा बाढीका कारण हुने क्षति न्यूनिकरणका लागि समयमै रोकथाम तथा आपतकालिन तटबन्धको लागि कार्य गर्न सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिएका छौं ।’

उनले मनसुन अवधिभर मनसुन सम्बन्धि सूचना तथा बुलेटिनहरूलाई उच्च प्राथमिकता दिई प्रकाशन प्रसारण गर्न सबै सञ्चार माध्यमलाई अनुरोध गरिएको बताए । उनले भने– दैनिक मनसुन सम्बन्धि पूर्वानुमान महाशाखाले जारी गर्ने बुलेटिन सबै सरोकारवालालाई दैनिक इमेल मार्फत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । पूर्वसूचना प्रणालीका लागि जल तथा मौसम विज्ञान विभाग अत्तरियाको समन्वयमा सूचना संयन्त्र निर्माण गरिएको छ ।’ 

प्रजिअ रिजालले विगतमा वर्षातको समयमा डुवान तथा नदी कटानका कारण ठुलो विपदको सामना गर्नु परेकाले यस वर्ष पनि मनसुन शुरु भइसकेको सन्दर्भमा आवश्यक पूर्वतयारीका साथ खोज तथा उद्दार कार्यमा जुनसुकै वेला परिचालन गर्न सकिने गरी उद्दार, राहत र पुर्नस्थापना कार्यमा खटिने सुरक्षाकर्मी सहित आवश्यक जनशक्ति श्रोतसाधनहरू तयारी अवस्थामा राख्न सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अनुरोध गरिएको बताए । प्रमुख जिल्ला अधिकारी रिजालले २०७७ चैत २७ गतेदेखि असार २ गतेसम्म विपदबाट प्रभावितहरूलाई राहत वापत ६० हजार रुपैया उपलब्ध गराइएको जानकारी दिए ।

कैलाली सहित देशभरीनै अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी वायुका कारण कैलालीमा बाढी तथा पहिरोको जोखिम कायम रहेको छ । गत वर्ष (२०७७ साल) असारदेखि असोजसम्म बाढीका कारण कैलालीमा तीन जनाको मृत्यु भएको थियो । नौ हजार पाँच सय २१ घरपरिवार प्रभावित भएका थिए भने दुई हजार नौ सय एक घरपरिवार विस्थापित भएको कैलाली जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ । यस वर्ष विगतका वर्षहरूको तुलनामा मनसुन बढी सक्रिय हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । 

खोज तथा उद्दार सामग्री अभाव– मन्त्री जोशी
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले प्रदेश सरकार र स्थानीय प्रशासनसंग खोज तथा उद्दार सामग्रीहरू अभाव रहेको बताएकी छिन् । ‘विपदपछि राहत उपलब्ध गराउनका लागि (त्रिपाल, व्ल्यांकेट, खाद्यान्न लगायत) सामग्री मौज्दात रहेको छ । तर, विपदका समयमा खोज तथा उद्दार गर्न ठुला सामग्री (हेभी इक्यूपमेण्ट) प्रदेशमा अभाव रहेको छ ।’ प्रदेश सरकार अन्तर्गतको प्रादेशिक आपतकालीन गोदाम घरको अवलोकन तथा निरीक्षण गर्दै मन्त्री जोशीले भनिन–‘ठुला बजेटका सामग्रीहरू प्रदेश सरकार र स्थानीय तहले जोहो गर्न सक्दैनन् । यसका लागि संघीय सरकारसंग आग्रह गरिएको छ ।’

मन्त्री जोशीले केही दिनअघि संघीय गृह मन्त्रालयमा जनधन तथा क्षति न्यूनिकरणका लागि प्रदेशमा आवश्यक सामग्री उपलब्ध गराउन कुराकानी भएको बताइन । ‘बाढी पहिरोको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा विगतका वर्षहरूमा धेरै क्षती भएको थियो । विगतमा झैँ बिपदबाट क्षती ब्यहोर्न नपरोस भनेर सुदूरपश्चिम प्रदेश सरकारले विपद पूर्व सतर्कतासंगै विपदपछि उद्धार र राहतका लागि तयारी थालेका छौं ।’ मन्त्री जोशीले भनिन– ‘प्रदेश सरकारसंग भएको आवश्यक सामान तयारी अवस्थामा राख्ने र अपुग समान संघीय सरकारसंग माग गरिरहेका छौं ।’

मन्त्री जोशीले बिपदलाई रोक्नै नसके पनि चाँडो उद्दार र राहत उपलब्ध गराएर सकेसम्म क्षति कम हुने गरी प्रदेश सरकारले काम गर्ने बताइन । ‘हामीले हामीसंग भएको समान के कस्तो कति छ ? भनेर अनुगमन गरेका हौं ।’ मन्त्री जोशीले भनिन्– त्रिपालहरू, कपडाहरू यहाँ गोदाममा पर्याप्त छन् । अन्य समान के कति छ जानकारी लिएकी छु । अन्य जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबाट पनि मैले तथ्याकं लिएकी छु ।’