बारीका डिलमा उम्रिएका मेलका बोट काटेर दाउरा बनाउने डोटी सानागाउँका किसान भने अहिले त्यसलाई सम्पत्ती मान्दै जोगाउन थालेका छन्। दस वर्षअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले मेलका बोटमा कलमी गरेर नास्पाती बनाएका थिए। कलमी बनाइएका मेलका बोटमा गत वर्षदेखि नास्पाती फल्न थालेका छन्। बारीका डिलमा दाउरा काट्न प्रयोग हुने मेलमा अहिले नास्पाती फल्न थालेको भन्दै स्थानीय कृषक सिद्धराज जोशीले भने,‘दस वर्षअघि मेलको बोटमा नास्पाती कलमी गरिएको थियो, यसपालि भने फलेर लटरम्मै भएको छ।’
हिजोसम्म बारीमा ठिङ्गरिङ रहेका मेलका बोटहरु अहिले नास्पाती बनेर फल्न थालेपछि भने सानागाउँका कृषकलाई सम्पत्ती जस्तै प्यारो लाग्न थालेको छ। सानागाउँका कृषकका बारीमा रहेका मेलका बोटलाई कलमी गरी नास्पाती फल्न थालेपछि उनीहरुलाई मेलका बोट सम्पत्ती बनेका हुन्।
मेलका बोटमा लटरम्म नास्पाती फल्न थालेपछि गाउँमै ४० रुपैयाँ केजीसम्ममा बेचिन थालेको भन्दै स्थानीय अर्का कृषक मंगली खड्काले भनिन्,‘बारीका डिलमा आफै उम्रिएका मेललाई कलमी गरेपछि अहिले नास्पाती बोटभरी लटरम्म फलेका छन्।’ पहिले नास्पाती तराईबाट किनेर खाने गरेको स्मरण गर्दै उनले भनिन्,‘अहिले आफ्नै बारीमा जत्ति पनि नास्पाती छन्।’ मेलका बोटमा नास्पाती फलेपछि बेचेर घरखर्च चल्न थालेको उनले बताइन्।
अहिले कृषकहरु मेलको बोटलाई कलमी गरेर नास्पाती फल्न थालेपछि हौसिएका छन्। ‘आफ्नो बारीमा कति मेलका बोट थिए भन्ने हेक्का समेत नराखेका सानागाउँका कृषकहरु अहिले नास्पाती फल्न थालेपछि भने गन्न थालेको पूर्वीचौकी गाउँपालिकाका कृषि सेवा केन्द्र प्रमुख उदयराम साउँदले बताए। उनले भने,‘गाउँमा किसानका बारीमा भएका मेलमा नास्पाती फल्न थालेपछि उनीहरु खुसी छन्।’
खेर रहेका मेलका बोटहरुलाई दस वर्षअघि नास्पाती कलमी गरेको बताउँदै कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले भने,‘मेलका बोटमा नास्पाती फल्न थालेपछि कृषकको आयआर्जनमा वृद्धि हुने विश्वास गरिएको छ।’ आफूले दस वर्षअघि मेलका बोटलाई कलमी गरेपछि नास्पाती फल्छ भनेर भन्दा नपत्याएका किसान अहिले भने चकित परेको उनले बताए।
‘म त्यतिबेला तत्कालीन जिल्ला कृषि विकास कार्यालयको प्रमुख रहँदा मेलका बोटमा नास्पाती कलमी गरेको थिएँ,’ निर्देशक जोशीले दस वर्ष अघिको कुरा सम्झँदै भने,‘त्यसबेला मेलमा नास्पाती कलमी गर्दा फल्छ भन्दा किसानले पत्याएका थिएनन्, अहिले फलेपछि भने दंग छन्।’
आफै उम्रिएका मेलका बोटलाई कलमी बनाउँदा यसबाट फल्ने फलस शुद्ध अर्गानिक भएकाले विश्व बजारमै राम्रो बजार पाउन सक्ने उनले बताए। उनले भने,‘तर यसको गुणस्तर र प्रमाणिकरण गर्न सके विश्व बजारमा अर्गानिक नास्पाती भनेर ब्राण्ड दिन सकिन्छ।’
दस वर्षअघि डोटीको सानागाउँ र खातीवाडाका किसानका बारीमा उम्रिएका मेलमा नास्पाती कलमी गरिएको थियो भने डोटीकै बुडरस्थित डिलासैनी सामुदायिक वन उपभोक्ता समूहमा रहेको २ हेक्टर जमिनमा आफै उम्रिएको मेलको जंगलमा पनि नास्पाती कलमी गरिएको थियो। अहिले त्यो जंगलमा नास्पाती लटरम्म फलेको छ।