..त्यसपछि रावललाई भेट्न पुगेका थिए नेपाल
2021/07/22, 11:15
 
corona

आइतबार भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएपछि पहिलो पटक बुधवार एमालेका नेता माधव नेपाल र रावल बिच भेटवार्ता भएको छ । पार्टी एकताको लागि नेपाल पक्षबाट रावलको नेतृत्वका कार्यदल तयार गरिएको थियो । तर, कार्यदलले तयार गरेको सहमतिमा माधव नेपालले असन्तुष्टि व्यक्त गरेपछि रावल र नेपाल बिच दुरी पैदा भएको थियो ।

सहमति कार्यान्वयन नभएको र विश्वासको मत दिने दिन छलफल नभएको भन्दै आइतबार राजीनामा दिएका रावललाई मनाउन सुदूरपश्चिम प्रदेशका मन्त्रीसहित १२ सांसद टोखा पुगे । प्रदेश सभा सदस्यहरूले रावललाई भेटेपछि १० बजे एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगे । १२ सांसद सहित केही नेताहरू पनि उक्त छलफलमा थिए । कोटेश्वरमा करिब ३० मिनेट सम्म चलेको छलफल पछि बुधबारनै साँझ रावल भेट्न नेपाल टोखा पुगेका हुन् ।

नेपाल पक्षका सांसद मात्रै कोटेश्वर पुगेका हुन् । २५ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख बाहेकका २४ जना सदस्य मध्ये ओली पक्षमा ७ जना र नेपाल पक्षमा १७ जना रहेका छन् ।  १७ जना नै रावलले राजीनामा फिर्ता लिनु पर्ने पक्षमा रहेको उनीहरु बताउँछन् । नेपाललाई सुदूरपश्चिम प्रदेशबाट गएको टोलीले जुनसुकै अवस्थामा पनि भीम रावलको राजीनामा फिर्ता गर्नु पर्ने बताएका थिए ।

प्रदेशको टोलीबाट एमाले प्रदेश संसदीय दलका नेता प्रकाश शाहले रावलको राजीनामाले नेपाल समूह भित्रै अविश्वास सृजना हुने र देश भरी यसको गलत सन्देश जाने बताएका थिए । ‘दलको नेताले नेपाललाई सुरुमा राजीनामा फिर्ता लिन लगाउनु परो भन्नुभयो । अनि पार्टी एकताको लागि सशक्त रूपमा उभिनु पर्छ भन्नुभयो ’ छलफलमा सहभागी एक सांसदले भने, ‘ एउटै टिम भित्र अविश्वास गर्नु राम्रो भए । यसले देशभरिका कार्यकर्ताहरूमा असर पर्छ नेपाललाई सुझाव दिनुभयो’

जवाफमा माधव नेपालले आफूले राजीनामा फिर्ता लिन पहल गर्ने बताएका थिए । ‘म पहल गर्छु । अहिले सम्म सबैलाई समेटेर लगेको छु । मलाई पनि नेता बनाउनु भएको छ ’ नेपालले भनेका थिए । करिब ३० मिनेटको छलफलमा पार्टीको आगामी रणनीतिको बिषयमा त्यति धरै कुराकानी भएन। तर, नेपालले विश्वासको वातावरण अझै नबनाएको हुँदा पार्टी एकतामा समस्या भइरहेको सुनाएका थिए ।

‘विश्वासको वातावरण अध्यक्षले सृजन गर्नु पर्ने हो । सुरु देखि अहिले सम्म विश्वास गर्न लायक काम भएको छैन’ नेपालले भनेका थिए ‘सबै ठाउमा जालझेल भयो । विश्वास गर्ने भरपर्दा आधार भएपछि मात्रै एकताका लागि सहमत हुन्छु ।’  छलफल फेरी राजीनामा फिर्ता गराउने तर्फ केन्द्रित भयो । प्रदेश सभा सदस्यहरूले भीम रावलले राजीनामा फिर्ता नलिए आफूहरूले पनि सामूहिक राजीनामा दिने चेतावनी दिएका थिए । त्यसपछि नेपाल थप गम्भीर भएका थिए ।

उनले भने, ‘किन यस्तो डिसिजन लिनु भयो मलाई पनि आश्चर्य लाग्यो तर, म फिर्ता गर्न पहल गर्छु। ’  नेपालले राजीनामा दिनुको कारण आफूले अझै जानकारी नपाएको बताए ।  छलफलमा सहभागी भएका १२ सांसद सहित अन्य नेताहरूलाई भने रावलले राजीनामा दिनुको कारण बारे बुधवार बिहानै प्रस्ट पारेका थिए ।  कार्यदलको संयोजन भएर १० बुँदे सहमति भएपछि विश्वासको मत लिने बेला छलफल नै भएन ।

त्यसपछि उनलाई नैतिक सङ्कट पैदा भयो । रावल निवास टोखामा भएको छलफलमा सहभागी एक सांसदले भने, विश्वासको मत दिँदा आफै कार्यदलको संयोजक भएकाले पार्टी एकतामा बाधा पुग्ने मत नदिँदा केपी ओलीलाई समर्थन गरेको देखिने त्यही भएर उहाँले राजीनामाको बाटो रोज्नु भएको हो ।’
रावलले राजीनामा दिएर पार्टी एकताको पक्षमा लाग्ने बताएको उनले बताए ।