सुदूरपश्चिमका सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्थाबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरीएको छ। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले नौँ वटै जिल्लाका सञ्चार माध्यम र सञ्चारकर्मीको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो।
सार्वजनिक गरीएको प्रतिवेदनमा दैनिक र साप्ताहिक पत्रपत्रिकाहरु बन्द रहेको एफएम रेडियो संचालनमा रहेको, व्यावसायिक विज्ञापन बन्द गर्न भनिएको, तलब खुवाउने अवस्था नरहेको, एक महिना थप लकडाउन भयो भने रेडियो समेत बन्द हुने अवस्थामा पुगेको, राष्टिय संचार माध्यममा कार्यरत स्ट्रिञ्जर पत्रकारलाई मिडिया हाउसले घुमाउरो पारामा काम नगर्न भनेको उल्लेख गरीएको छ।
सञ्चारकर्मीहरुका लागि व्यावसायिक तथा आर्थिक सुरक्षा, स्वास्थ्य सामाग्री, वीमा जरुरी रहेको समेत महासंघले निष्कर्ष निकालेको छ।
यस्तो छ अध्ययन प्रतिवेदन:
नेपाल पत्रकार महासंघ
सुदूरपश्चिम प्रदेश समिति
अध्ययन प्रतिवेदन
पृष्ठभूमी :
यतिबेला विश्वभर कोभिड–१९ को त्रास छ । हाम्रो देश पनि कोरोना कहरबाट प्रताडित छ । प्रारम्भमा अरुतिर संक्रमणको असर नदेखिएका बेला चैत दोस्रो सातादेखि सुदूरपश्चिममा संक्रमितको संख्या बढि थियो । बीचको एक महिना अवधिमा अन्य प्रदेशतिर असर बढ्दै गर्दा सुदूरपश्चिममा केही कम रह्यो । तर पछिल्लो समयमा संक्रमितको संख्यामा बृद्धि हुनु र मृत्युका घटनाले सुदूरपश्चिमलाई नराम्ररी झस्काएको छ ।
भारतबाट अब्यवस्थित रुपमा स्वदेश फर्किनेहरुको संख्या, अस्तव्यस्त क्वारेन्टाइन, आवश्यकता अनुसार जाँच नहुनुको परिणाम सुदूरपश्चिममा कोरोना संक्रमणकोे अझ बढी जोखिम छ । सरकारले कोभिड–१९ को महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न लामो समयदेखि लकडाउन गर्दै आएको छ । लकडाउन सुरु भएदेखि आमजनजीवन निकै प्रभावित छ । आम जनजीवनसँगै सञ्चार क्षेत्रसमेत लकडाउनको मारमा छ ।
उद्धेश्य :
फ्रन्टलाईनमा खटिने यस प्रदेशका संचारकर्मीहरु कोरोना भाइरसबाट संक्रमणको अध्यधिक जोखिममा छन् । साथै कोरोना कहरबाट सिंगो सञ्चार क्षेत्र आर्थिक तथा व्यवसायिक रुपमा प्रभावित भएको जटिल परिस्थिती छ । यही पृष्ठभूमिमा प्रदेशका सबै जिल्लाको स्थलगत अनुगमन गरी सञ्चारकर्मीहरुको अवस्थाका बारेमा पत्रकारहरुसँग छलफल अन्तरक्रिया गर्ने, आधारभूत स्वास्थ्य सामग्री उपलब्ध गराउने लगातयत संचारकर्मी तथा संचारमाध्यमहरुले भोग्नु परेका पछिल्ला समस्याहरुको पहिचान तथा समाधानका उपायहरु पहिल्याउने उद्धेश्यले नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारीद्धारा ०७७ जेठ ८ गतेदेखि १४ गतेसम्म ९ वटै जिल्लाको स्थलगत अनुगमन तथा पत्रकारहरुसँग अन्तरक्रिया गरिएको हो ।
सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्था :
सुदूरपश्चिम प्रदेशमा नौवटा जिल्लामा सञ्चालित एफएम रेडियोको संख्या ७५ वटा छ । दैनिक पत्रिकाको संख्या ४६, साप्ताहिक पत्रिकाको संख्या ४५, स्थानीय टेलिभिजनको संख्या २ रहेको छ । नियमित प्रकाशन हुँदै आएका प्रायः सबैजसो दैनिक र साप्ताहिक पत्रिकाहरु लकडाउन सुरु भएदेखि नै बन्द छन् । कैलाली र कञ्चनपुरमा मात्रै केही सीमित पत्रिकाहरु प्रकाशन भइरहेका छन् । नियमित प्रकाशन भैरहेका पत्रिकालेसमेत निकै समस्या र चुनौतिको सामना गर्नु परेको छ । बजार बन्द छ, स्वास्थ्य असुरक्षा उस्तै छ । विज्ञापन शुन्य छ ।
यस अवस्थामा समूदाय तहसम्मलाई सूचना दिने काम एफएम रेडियोले गरिरहेका छन् । रेडियोले आम स्रोतालाई कोभिड– १९ का बारेमा समेत जनचेतना जगाउने काम गरिरहेका छन् । सरोकारवालाहरुलाई जवाफदेहिता बृद्धि गराउने कार्य पनि गरिरहेका छन् । थुप्रै समस्याका बाबजुद पनि एफएम रेडियोहरु नियमित प्रशारण भइरहेका भएपनि उनीहरुको आम्दानी ह्वात्तै घटेको छ । व्यापारिक विज्ञापनहरु छैनन् । प्रशारण हुँदै आएका विज्ञापन समेत सम्बन्धित व्यक्ति र संस्थाहरुले बन्द गर्न लगाएका छन् ।
अधिकांश पत्रपत्रिकाहरु लकडाउन सुरु भएदेखि पत्रपत्रिकाहरु नियमित प्रकाशन हुन सकेका छैनन् । अनलाइनहरु आम नागरिकलाई सूचना प्रदान गर्ने गराउने सशक्त माध्यम बनेका छन् । एफएम रेडियोले पनि समय घटाउनु परेको बाध्यात्मक अवस्था छ । यस प्रदेशका प्रायः सबै रेडियो, पत्रपत्रिका, अनलाइन र टेलिभिजनको अवस्था आर्थिक तथा व्यवसायिक रुपमा दयनीय बन्दै गएको छ । जसका कारण सम्पूर्ण श्रमजीवि पत्रकारहरुमाथिको संकट बढ्दै गएको छ । यही सन्दर्भमा जिल्लागत अवस्थाको संक्षिप्त विवरण यहाँ समेटिएको छ ।
डोटीः
- दैनिक र साप्ताहिक पत्रपत्रिकाहरु बन्द अवस्थामा छन् । अफसेट प्रेस संचालन भयो भने पत्रिका प्रकाशित गर्न सकिन्छ ।
- रेडियो एफ.एम. संचालनमा छन् । व्यावसायिक विज्ञापन बन्द गर्न भनिएको छ । तलब खुवाउने अवस्था छैन । एक महिना थप लकडाउन भयो भने रेडियो समेत बन्द हुने अवस्था छ ।
- राष्टिय संचार माध्यममा कार्यरत स्ट्रिञ्जर पत्रकारलाई मिडिया हाउसले घुमाउरो पारामा काम नगर्न भनेको छ ।
- जोखिम बढी छ । सुरक्षाको अवस्था कमजोर छ । विमाको व्यवस्था हुनुपर्छ ।
बाजुरा
- पत्रपत्रिका बन्द छन् ।
- रेडियो एफ.एम. संचालनमा छन् । पारिश्रमिक नियमित नपाएको अवस्था छ । रेडियोकर्मीले लामो समयदेखि तलब पाएका छैनन् ।
- रेडियोका उपकरणहरु बिग्रिएका छन्, मर्मत गर्न समस्या रहेको छ । इन्टरनेटको सुविधा भरपर्दो छैन । विद्युत अनियमित छ ।
- राष्टिय संचार माध्यममा कार्यरत स्ट्रिञ्जर पत्रकारलाई मिडिया हाउसले घुमाउरो पारामा काम नगर्न भनेको छ ।
- जोखिम बढी छ । सुरक्षाको अवस्था कमजोर छ । विमाको व्यवस्था हुनुपर्छ ।
अछाम
- दैनिक र साप्ताहिक पत्रपत्रिकाहरु बन्द अवस्थामा छन् । अफसेट प्रेस संचालन भयो भने पत्रिका प्रकाशित गर्न सकिन्छ ।
- रेडियो एफ.एम. संचालनमा छन् । व्यावसायिक विज्ञापन कम छ । तलब खुवाउने अवस्था छैन । समाचार बुलेटिन घटाइएको छ ।
- रेडियोले कोरोना सम्बन्धी जनचेतना जगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
- राष्टिय संचार माध्यममा कार्यरत स्ट्रिञ्जर पत्रकारलाई मिडिया हाउसले घुमाउरो पारामा काम नगर्न भनेको छ । समाचार छापिने ग्यारेन्टी हुँदैन ।
- जोखिम बढी छ । पत्रकारको स्वास्थ्य सुरक्षाको अवस्था कमजोर छ । विमाको व्यवस्था हुनुपर्छ ।
डडेल्धुराः
- दैनिक र साप्ताहिक पत्रपत्रिकाहरु बन्द छन् ।
- रेडियो एफ.एम. संचालनमा छन् । व्यावसायिक विज्ञापन घटेको छ । एफएमको आर्थिक अवस्था कमजोर भएको छ ।
- राष्टिय संचार माध्यममा कार्यरत स्ट्रिञ्जर पत्रकारलाई मिडिया हाउसले घुमाउरो पारामा काम नगर्न भनेको छ ।
- जोखिम बढी छ । पत्रकारको स्वास्थ्य सुरक्षाको अवस्था कमजोर छ । विमाको व्यवस्था हुनुपर्छ ।
- स्वास्थ्य सामग्री अभाव छ । किनेर पनि पाउने अवस्था छैन । सेल्फ सुरक्षाबाहेक अर्को विकल्प छैन ।
- रेडियोको हकमा नवीकरण शुल्क, विद्युत महशुल र टेलिफोन शुल्क मिनाहा गरिनुपर्छ ।
बझाङ
- पत्रपत्रिकाहरु बन्द छन् । अफसेट छैन । धनगढीबाट छाप्नुपर्ने हुनाले पत्रिका बन्द गर्नु परेको हो ।
- रेडियो एफ.एम. संचालनमा छन् । अवस्था गाहे छ । विज्ञापन कम छ । स्थानीय पालिकाले सहयोग त गर्छन् तर राजनीतिक आस्थाका आधारमा । प्रतिस्पर्धा धेरै छ ।
- राष्टिय संचार माध्यममा कार्यरत स्ट्रिञ्जर पत्रकारलाई मिडिया हाउसले घुमाउरो पारामा काम नगर्न भनेको छ ।
- जोखिम बढी छ । पत्रकारको स्वास्थ्य सुरक्षाको अवस्था कमजोर छ । विमाको व्यवस्था हुनुपर्छ ।
- रेडियोको हकमा नवीकरण शुल्क, विद्युत महशुल र टेलिफोन शुल्क मिनाहा गरिनुपर्छ । नवीकरण गर्न ताकेता गरिरहेको छ । रोयल्टी तिर्न नसके नवीकरणमा समस्या हुने देखिन्छ ।
- सुचना प्राप्त गर्न सहजता छैन । कोरोनाका नाममा अनियमितता भइरहेको छ । डेरामा बस्ने पत्रकारहरु समस्यामा छन् ।
दार्चुला
- दैनिक र साप्ताहिक पत्रपत्रिकाहरु बन्द छन् ।
- रेडियो एफ.एम. संचालनमा छन् । व्यावसायिक विज्ञापन घटेको छ । एफएमको आर्थिक अवस्था कमजोर भएको छ ।
- राष्टिय संचार माध्यममा कार्यरत स्ट्रिञ्जर पत्रकारलाई मिडिया हाउसले घुमाउरो पारामा काम नगर्न भनेको छ । अन्य आम्दानीको श्रोत छैन ।
- जोखिम बढी छ । स्वास्थ्यप्रति सचेत छौं । काम गर्ने उत्साह घटेको छ । पत्रकारको स्वास्थ्य सुरक्षाको अवस्था कमजोर छ । विमाको व्यवस्था हुनुपर्छ ।
- महासंघले प्रति पत्रकार रु.१,५०० का दरले ४५ जनालाई प्रोत्साहन स्वरुप आर्थिक राहत सहयोग गरेको छ । अन्य संघसंस्थाले सहयोग गरेका छैनन् ।
- रेडियोको हकमा घरभाडा, नवीकरण शुल्क, विद्युत महशुल र टेलिफोन शुल्क मिनाहा गरिनुपर्छ ।
- चट्यांगका कारण रेडियो उपकरणहरुमा क्षति पुगेको छ । मर्मत गर्न समस्या छ ।
- पत्रकारको विमा हुनुपर्छ । प्रेस पास वा महासंघको सदस्यताका आधारमा विमा गरिनु पर्छ ।
बैतडी
- पत्रपत्रिकाहरु बन्द छन् ।
- रेडियो एफ.एम. संचालनमा छन् । व्यावसायिक विज्ञापन घटेको छ । एफएमको आर्थिक अवस्था कमजोर छ ।
- जोखिम बढी छ । काम गर्ने उत्साह घटेको छ । पत्रकारको स्वास्थ्य सुरक्षाको अवस्था कमजोर छ । विमाको व्यवस्था हुनुपर्छ ।
- अन्य संघसंस्थाले सहयोग गरेका छैनन् ।
- रेडियोको हकमा घरभाडा, नवीकरण शुल्क, विद्युत महशुल र टेलिफोन शुल्क मिनाहा गरिनुपर्छ ।
कञ्चनपुर
- अधिकांश पत्रपत्रिकाहरु बन्द छन् । प्रकाशित भएका केही पत्रपत्रिका समेत पुर्ववत रुपमा वितरण हुन सकेको छैन ।
- रेडियो एफ.एम. नियमित संचालनमा छन् । व्यावसायिक विज्ञापन घटेको छ । एफएमको आर्थिक अवस्था कमजोर भएको छ । ऋण सापट गरेर रेडियोकर्मीलाई तलब खुवाउनु परेको छ ।
- राष्टिय संचार माध्यममा कार्यरत स्ट्रिञ्जर पत्रकारलाई मिडिया हाउसले घुमाउरो पारामा काम नगर्न भनेको छ ।
- जोखिम बढी छ । पत्रकारको स्वास्थ्य सुरक्षाको अवस्था कमजोर छ । विमाको व्यवस्था हुनुपर्छ ।
- रेडियोको हकमा घरभाडा, नवीकरण शुल्क, विद्युत महशुल र टेलिफोन शुल्क मिनाहा गरिनुपर्छ ।
कैलाली
- अधिकांश पत्रपत्रिकाहरु बन्द छन् । लकडाउनमा प्रकाशित भएका युगअस्त्र दैनिक, अनुमोदन दैनिक, टीकापुर दैनिक र हाम्रो सेती साप्ताहिक पत्रपत्रिका समेत वितरण हुन सकेको छैन ।
- रेडियो एफ.एम. नियमित संचालनमा छन् । व्यावसायिक विज्ञापन घटेको छ । एफएमको आर्थिक अवस्था कमजोर भएको छ ।
- राष्टिय संचार माध्यममा कार्यरत स्ट्रिञ्जर पत्रकारलाई मिडिया हाउसले घुमाउरो पारामा काम नगर्न भनेको छ ।
- पत्रकारको स्वास्थ्य सुरक्षाको अवस्था कमजोर छ । विमाको व्यवस्था हुनुपर्छ ।
- रेडियोको हकमा घरभाडा, नवीकरण शुल्क, विद्युत महशुल र टेलिफोन शुल्क मिनाहा गरिनुपर्छ ।
- पत्रकारहरुको स्वास्थ्य जाँच हुनुपर्छ । राहतका कार्यक्रमहरु ल्याइनु पर्छ ।
अनलाइनः
पछिल्लो समय सञ्चारको सशक्त माध्यमका रुपमा विकास भैरहेको अनलाइन समेत आम मानिसको सूचनाको स्रोत बनेका छन् । धेरै मानिसलाई कोभिड–१९ का बारेमा सूचना दिने र सचेतता गराउने काम अनलाइनले गरेको पाईएको छ । अनलाइनमा काम गर्ने सञ्चारकर्मीहरुका समेत उस्तै समस्या छन् । अनलाइनमा विज्ञापन शुन्य छ ।
राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मीहरुको अवस्था :
सबै जिल्लामा हरेक राष्ट्रिय मिडियाका प्रतिनिधि छन । ती मध्ये अधिकांश स्ट्रिन्जर (समाचार प्रकाशन÷प्रशारण भए मात्रै पैसा पाउने) छन । उनीहरुलाई मिडिया हाउसले घुमाउरो पारामा काम नगर्न भनेको छ । उनीहरुलाई कोरोनाका कारण सुरक्षित भएर घरमा बस्न भनिएको छ । टेलिभिजनले भने आफ्ना प्रतिनिधिहरुलाई अहिले पनि काममा लगाईरहेको छ । तर उनीहरुको स्वास्थ्य अवस्था र पारिश्रमिकका बारेमा टेलिभिजन पक्ष बोलेको छैन । टेलिभिजनमा काम गर्ने सञ्चारकर्मीहरुले व्यक्तिगत जोखिम मोलेर काम गर्दै आएका छन । हरेक व्यक्तिहरुको सम्पर्कमा जानुपर्ने भएका कारण रेडियोकर्मी तथा टेलिभिजनकर्मीहरु कोरोनाको उच्च जोखिममा छन ।
स्वास्थ्य सामाग्रीको अवस्था :
कैलाली र कञ्चनपुरका सञ्चारकर्मीहरुले थोरै भएपनि स्वास्थ्य सामाग्रीका रुपमा मास्क, सेनिटाइजर र पञ्जा पाएका छन । तर पहाडी जिल्लामा कार्यरत सञ्चारकर्मीहरुले त त्यो पनि पाउन सकेका छैनन् । उनीहरु स्वास्थ्य सामाग्री बिना नै रिपोर्टिङमा गैरहेका छन । कतिपय स्थानीय निकाय, संघसंस्था र व्यक्तिहरुले पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन । तर धेरैजसो ठाउँमा किनेर पनि स्वास्थ्य सामाग्री पाउने अवस्था छैन ।
सूचनाको स्रोत :
कोरोना प्रभावितको संख्या दिनप्रति दिन बढ्दै गैरहेको छ । कतिपय व्यक्तिले कोरोनाका कारण ज्यान समेत गुमाएका छन । यस्तो बेलामा आम मानिसलाई सचेत गराउने जिम्मेवारी सञ्चारकर्मीको काँधमा आएको छ । उनीहरु कोभिड–१९ को अवस्थाका बारेमा आम मानिसलाई जानकारी दिन चाहन्छन । तर सरकारी निकायले सूचना दिने काममा कञ्जुस्याँई गरेको छ । सूचना सहज रुपमा प्राप्त गर्न नसकेका कारण समेत सञ्चारकर्मीहरु समस्यामा छन ।
निष्कर्ष :
सञ्चारमाध्यम आर्थिक हिसावले जर्जर हुन थालेका छन् । र सञ्चारकर्मीको अवस्था जटिल बन्दै गएको छ । उनीहरु जोखिम मोलेर काम गरिरहेका छन् । यस्तो अवस्थामा सञ्चारकर्मीहरुका लागि व्यावसायिक तथा आर्थिक सुरक्षा, स्वास्थ्य सामाग्री, वीमा जरुरी छ । यसतर्फ सरोकारवालाहरुको गम्भिर चासोको जरुरत छ ।
योगेश रावल
महासचिव
नेपाल पत्रकार महासंघ
सुदूरपश्चिम प्रदेश समिति
मितिः २०७७ जेठ २८ गते