सुदूरपश्चिम विश्वविद्यालय: विद्यार्थीले परीक्षा दिए, उत्तरपुस्तिका बुझाउन पाएनन्
विद्यार्थीको भविष्यमाथि ‘खेलवाड’
2021/08/18, 2:26
 
dd

२ भदौ, धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी मन्जु बडु सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा स्नातक तहमा अध्ययन गर्दै आएकी छन् । मन्जुले गत साउन ९ देखि २४ गतेसम्म चलेको स्नातक तह चौथो सेमेष्टरको परीक्षा अनलाइन प्रणाली मार्फत दिइन् । सबै परीक्षा राम्रै गरेकी मन्जुले एउटा विषयको उत्तरपुस्तिका भने समावेश गर्न नसक्दा अहिले पनि आफूसँगै राखेकी छन् । विश्वविद्यालयले परीक्षा सञ्चालन र उत्तरपुस्तिका समावेश गर्न प्रयोग गरेको टिम्स नामक सफ्टवेयरले काम नगरेकै कारण मन्जुले उत्तरपुस्तिका समावेश गर्न पाइनन् ।

विश्वविद्यालयले उत्तरपुस्तिका समावेश गर्न दिएको एक घण्टाको समय सकिन ३० मिनेट बाँकी रहेका बेला प्राविधिक समस्याका विषयमा विश्वविद्यालयलाई जानकारी गराइन् तर उल्टै इन्टरनेटको समस्या भन्दै राम्रो नेटवर्क भएको स्थानमा गएर अपलोड गर्न भनियो । बडुले वाइफाइका अतिरिक्त नेपाल टेलिकम, एनसेल र स्मार्टको डाटा किनेर प्रयास गर्दा समेत परीक्षा प्रणालीले काम गरेन । प्रयास गर्दागर्दै एक घण्टाको समयसीमा सकियो र परीक्षा प्रणाली स्वतः बन्द भयो ।

उनका दाजु राजेन्द्र बडुले तत्कालै उत्तरपुस्तिकासहित समस्याबारे भौतिक रुपमै महेन्द्रनगरस्थित विश्वविद्यालयको परीक्षण नियन्त्रण कार्यालयमा पुगे तर त्यहाँ पनि सुनवाइ भएन । ‘विश्वविद्यालयले अनलाइन प्रणाली मार्फत परीक्षा सञ्चालन गरेको थियो । तर विद्यार्थीलाई कुनै खालको प्राविधिक सहयोग दिइएन । कार्यालयमै पुगेर भेट्दा समेत त्यहाँका कर्मचारीले यो विषयलाई हलुका ढंगले लिए,’ राजेन्द्र भन्छन्, ‘परीक्षा दिँदादिँदै पनि विश्वविद्यालयकै लापरबाहीले उत्तरपुस्तिका समावेश गर्न नसकिँदा अनुत्तीर्ण देखाएको छ । यसको जिम्मा लिनु पर्छ कि पर्दैन ?’

उनले विश्वविद्यालयले निर्विकल्प अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गर्दै विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप लगाए । ‘हामीले निर्धारित समय सकिनुभन्दा ३० मिनेट पहिले सिस्टम चलिरहेको छैन के गर्ने ? भनेर विश्वविद्यालयमा सम्पर्क गरेका छौं,’ उनले भने, ‘तर शिक्षक तथा कर्मचारीले यो कुरालाई सामान्य रुपमा लिए । मेरो बहिनी मात्र नभएर उसकै सयौं साथीहरुको यसैगरी उत्तरपुस्तिका छुटेको छ । यसरी विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न पाइन्छ ?’ मानविकी संकाय, शिक्षाशास्त्र संकाय, व्यवस्थापन तथा स्नातकोत्तर तहसम्मकै सयौं विद्यार्थीले यसरी नै उत्तरपुस्तिका समावेश गर्न नपाउँदा परीक्षाबाट वञ्चित हुनुपरेको छ ।

कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका धेरै विद्यार्थीले बडुले जस्तै समस्या भोग्नुपरेको छ । यद्यपि अनलाइन परीक्षा प्रणालीमा आएको प्राविधिक समस्याले के–कति विद्यार्थीले परीक्षा दिएर पनि उत्तरपुस्तिका बुझाउन सकेनन् भन्ने यकिन तथ्यांक क्याम्पससँग छैन । ‘पहिलो दिनको परीक्षामा उत्तरपुस्तिका अपलोड भइरहेको छैन भनेर हामीकहाँ १४ जना विद्यार्थी आएका थिए,’ दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डम्बर पालले भने, ‘त्यसपछि पनि दैनिक १/२ जना त्यस्तै समस्या लिएर आउने गरेका थिए । हामीले तत्कालै विश्व विद्यालयको केन्द्रीय क्याम्पसलाई जानकारी गराएका थियौं । यो विषयमा परीक्षा नियन्त्रण कार्यालयको बैठक बसेर कुनै निकास निकाल्नुपर्ने हो तर अहिलेसम्म केही भएको छैन ।’

विद्यार्थीहरुले भने उत्तरपुस्तिका नै समावेश नभएका विषयको पुनः परीक्षा लिइनुपर्ने माग गरेका छन् भने विश्वविद्यालयले त्यस्ता विद्यार्थीका लागि मौका परीक्षाको व्यवस्था गर्ने मुडमा देखिएको छ । यद्यपि निर्णय गरिसकेको अवस्था भने छैन ।

विद्यार्थीमाथि दोष थुपारेर पन्छिने प्रयासमा विश्वविद्यालय

‘यो विद्यार्थीको कमजोरी हो । उत्तरपुस्तिका अपलोड गर्न नसक्नु हाम्रो समस्या होइन । त्यस्ता विद्यार्थीलाई पटक–पटक फोन सम्पर्क गरेका छौं तर त्यतिखेर वास्ता नै गरेनन्,’ सुदूरपश्चिम विश्वविद्यालयको मानविकी संकायका विभागीय प्रमुख सह प्राध्यापक डा.हरिशचन्द्र भट्टले भने । भट्टले आफ्नो संकायमा स्नातकदेखि स्नातकोत्तरसम्मका धेरै विद्यार्थीले आफ्नै कमजोरी र असावधानीका कारण अनलाइन परीक्षा प्रणालीमा तोकिएको समयमा उत्तरपुस्तिका समावेश गर्न नसकेको दाबी गरे ।

‘केही विद्यार्थीहरुले पासवर्ड नै हेरेका छैनन् । ग्रुपमा समावेश नै नभएका विद्यार्थीको छुटेको छ । कतिपयले उत्तरपुस्तिका बुझाउने समयको ख्याल नै नगर्दा छुट्न गयो । यसमा विश्वविद्यालयले केही गर्न सक्दैन,’ भट्टले भने । प्राविधिक समस्या आइपरेको खण्डमा अनलाइन प्रणाली बाहेक इमेलको माध्यमबाट पनि विद्यार्थीले उत्तरपुस्तिका बुझाउन सक्ने विकल्प नदिइएको विषयमा भने अघिल्लो वर्षको सिकाइको प्रयोग गरिएको उनी बताउँछन् ।

‘अघिल्लो वर्ष मेल मार्फत उत्तरपुस्तिका बुझाउने भन्यौं । नतिजा आइसकेपछि पनि विद्यार्थीहरुका मेल हामीलाई तारन्तार आइरहे । अहिलेको सफ्टवेयर जस्तो मेललाई त बन्द गर्न सकिँदैन । मेलको दुरुपयोग भएकाले अहिले त्यो विकल्प नराखिएको हो,’ उनले दाबी गरे । भवितव्य बाहेक प्राविधिक समस्या देखाएर एउटै परीक्षा दुई पटकसम्म हुन नसक्ने तर्क भट्ट गर्छन् ।

विद्यार्थीप्रति परीक्षा नियन्त्रण कार्यालय पनि अनुदार

आफैंले सञ्चालन गरेको अनलाइन परीक्षामा सहभागी भएर प्राविधिक समस्याले उत्तरपुस्तिका बुझाउन नसकेका विद्यार्थीको हकमा सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय पनि अनुदार देखिएको छ । परीक्षा दिएर पनि अनुपस्थित देखिएर आफ्नो शैक्षिक भविष्य बिग्रिने भन्दै चिन्तित बनेका विद्यार्थीहरुको माग सम्बोधन गर्न परीक्षा नियन्त्रण कार्यालय गम्भीर नबनेको पाइएको हो ।  कार्यालयले हालसम्म प्राविधिक समस्याले निश्चित विषयको परीक्षा छुटेका विद्यार्थीको विवरण संकलन गर्न समेत चासो दिएको छैन भने कार्यालयमै पुग्ने विद्यार्थीहरुका कुरा समेत नसुन्ने प्रवृत्ति देखिएको विद्यार्थीहरुको गुनासो छ ।

तर यो खालको प्राविधिक त्रुटिकै कारण उत्तरपुस्तिका बुझाउन नसकेका विद्यार्थीको पाँच सयको हाराहारीमा हुनसक्ने विश्वविद्यालयकै शिक्षक कर्मचारी अनुमान गर्छन् । विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय महेन्द्रनगरका परीक्षा नियन्त्रक देव नाथले अहिले त्यस्ता विद्यार्थीको तथ्यांक संकलन गर्ने काम नभएको बताउँछन् । ‘अहिले प्रायः सबैजसो संकायको प्रयोगात्मक परीक्षा भइरहेको छ । प्रयोगात्मक सकिएपछि मात्र हामी त्यो तथ्यांक संकलनको काम गर्छौं अहिले छैन,’ नाथले भने, ‘तथ्यांक संकलनपछि परीक्षा समितिको आन्तरिक बैठक बसेर निर्णय लिन्छौं । त्यो कुरा हामीले सार्वजनिक रुपमै सूचना दिएर सबैलाई जानकारी गराउँछौं ।’

विद्यार्थी संगठन पनि मौन, बार्गेनिङको आरोप

विश्वविद्यालयले अनलाइन परीक्षा प्रणाली व्यवस्थित गर्न नसक्दा विद्यार्थीले भोग्नु परेको समस्याबारे भने विद्यार्थी संगठनहरु पनि मौन देखिएका छन् । विद्यार्थीकै हकहितका लागि भन्दै विभिन्न राजनीतिक दलले विश्वविद्यालयको केन्द्रीय क्याम्पस र आंगिक क्याम्पसहरुमा भातृ संगठनका रुपमा गठन गरेका विद्यार्थी संगठनहरुले यस विषयमा केही पनि बोलेका छैनन् ।

आफ्नो स्वार्थ पूर्ति नभएमा सामान्य समस्यालाई पनि तिलको पहाड बनाएर वक्तव्यबाजी गर्ने, विश्वविद्यालयमा शैक्षिक हड्ताल, तालाबन्दी जस्ता अमर्यादित गतिविधिमा उत्रिने विद्यार्थी संगठनले विद्यार्थीलाई परेको यो समस्याबारे मुख नखोलेका हुन् । एउटा प्राविधिक विषयले सयौं विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेका बेला उनीहरुले यस विषयमा कुनै पहल नगरेको विद्यार्थीहरु बताउँछन् ।

विद्यार्थी नेताहरु यो विषयलाई भित्रभित्रै मिलाउने भन्दै विश्वविद्यालयसँग बार्गेनिङमा लागेको आरोप समेत विद्यार्थीले लगाएका छन् । विश्वविद्यालयको केन्द्रीय क्याम्पसको इकाई कमिटीमा रहेर राजनीति गरिरहेका विद्यार्थी नेताहरु यो विषयमा प्रतिक्रिया माग्दा बोल्न मानिरहेका छैनन्।