पर्यटकीय क्षेत्रको भिडले बढायो कोरोना जोखिम
2021/08/23, 5:35
 
dd

धनगढी उपमहानगरपालिका यादव भण्डारी साउन पहिलो साता डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ छतिवनमा रहेको छहरा झर्ना पुगे । बिदाका दिन उनी सपरिवार सो झर्नामा पुगेका थिए । झर्नाको दृश्यले रोमाञ्चित भएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा तस्बिरहरु पोष्ट गरेका छन् । कञ्चनपुरकी शिला महराले छहरा झर्नामा तीजको गीतमा नाचिरहेको भिडियो टिकटकमा राखेकी छन् । उनले राखेको टिकटकमा पनि न कसैले मास्क लगाएका छन् न त भौतिक दुरी नै कायम छ ।

धनगढी उपमहानगरपालिका बस्दै आएकी अम्बिका मल्लले कञ्चनपुरको महेन्द्रनगरस्थित छ लेन सडकमा केही साथीहरुले टिकटक बनाएर भिडियो पोष्ट गरेको देखिन् । बिदाको मौका छोपी भीडभाडमै उनी पनि सोही स्थानमा टिकटक बनाउन पुगिन् । उनले टिकटक र तस्बिर खिचेर सामाजिक सञ्जालमा ‘भाइरल रोडमा’ भन्दै पोष्ट गरेकी छन् । धनगढी उमपहानगरपालिका वडा नम्बर १ की कान्छु साउद धनगढीमा गर्मी बढेपछि गोदावरी, खानीडाँडा, छहरा झर्ना लगायतका स्थानमा पुगिन् । जहाँ-जहाँ पुगिन्, उनले पनि मास्क र सामाजिक दुरीको बेवास्ता गर्दै बेपर्वाह फोटो र भिडियो खिचिन् ।

कोरोना संक्रमणको दोश्रो लहरमा केही कमी आएसँगै व्यवसायिक तथा पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ । कोरोना संक्रमण ओरालो लागेका बेला निषेधाज्ञा खुकुलो गरिएपछि अहिले फेरी संक्रमण उकालो लागेको छ । सहरी क्षेत्रमा मास्क नलगाएरै हिँडेमा प्रहरीले जरिवाना गर्छ तर यी पर्यटकीय क्षेत्रमा हुने हजारौँको भिड हेर्दा ‘कोरोना टाढैबाट भाग्छ कि’जस्तो लाग्छ ।

डोटीको जोरायल गाउँपालिकामा पर्ने छहरा झरना, कञ्चनपुरको महाकाली छेउमा रहेको भाइरल रोड, कैलालीको चिसापानी, कैलालीकै हाडखोली क्षेत्रमा अहिले दैनिक हजारौँ मानिसको भिड हुन्छ । तर यो भिडमा माक्सको प्रयोग गर्ने निकै कम भेटिन्छन् । डोटीको जोरायल गाउँपालिका, बुडरनजिकै पर्ने छहरा झर्नामा रमाउनेहरुको अहिले भिड देख्न सकिन्छ । कैलाली र कञ्चनपुरबाट अधिकांश मानिस यो झर्नामा पुग्ने गरेका छन् । झर्नामा पुग्ने अधिकांश पर्यटकहरु नुहाएर आउँछन् ।

तराई क्षेत्रबाट माक्स लगाएर हिँडेका पर्यटकहरु खानीडाँडा नपुग्दै माक्स खल्तस्मा हाल्छन् । खनीडाँडामा ८ वर्षदेखि होटल व्यवसाय गर्दै आएका नविन रावतले त्यहाँ पुग्ने अधिकांश मानिस बिनामाक्स नै आउने गरेको बताए । ‘अनिवार्य माक्स या सुरक्षा उपाय अपनाउनमा धनगढीतिर कडाइ होला । तर, यता केही हुँदैन त्यही भएर बिनामाक्स हिँड्ने गर्छन्,’ उनले भने, ‘चहलपहलले व्यवसायमा केही राहत त हुनछ । तर सबैले यस्तो बेला सतर्कता अपनाए हामी सुरक्षित हुन्थ्यौँ ।

बुडरको छहरा झर्नामा बिदाको दिन पारेर बढीजसो पर्यटकहरु पुग्ने गर्दछन् । बिदाको दिनमा १० हजारसम्म पर्यटक पुग्ने गरेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । ’बिस्तारै यसको विकास र प्रचारप्रसार भइरहेको छ,’ ओझाले भने, ‘झर्नासम्म पुग्ने बाटो बनाएका छौँ । अन्य कामका लागि डीपीआर बनाइरहेका छौँ ।’ उनले भिडभाड बढेको स्वीकार गरे । ‘मानिसको चाप बढ्दा यहाँको व्यवसाय पनि वृद्धि भएको छ । तर कहिलेकाँही व्यवस्थापनमा चुनौती थपिन्छ र भिडभाडले संक्रमणको पनि जोखिम बढेकाले यसको व्यवस्थापनका लागि छलफल गरिरहेका छौँ, छिट्टै निर्णय हुन्छ,’ उनले भने ।

डोटीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले झर्नामा भिडभाड बढेको र सतर्कता अपनाउनका लागि जोरायल गाउँपालिकालाई निर्देशन दिइसकेको बताइन् । ‘व्यवस्थापन गर्ने भनेको स्थानीय तहले नै हो । हामीले गाउँपालिका अध्यक्ष ज्यूलाई भिडभाड नहुने गरी झर्नामा पर्यटक भित्र्याउने गरी काम गर्नुस् भनिसकेका छौँ । त्यो केही दिनबाटै कार्यान्वयन हुन्छ होला,’ उनको भनाइ छ । स्वास्थ्य सुरक्षाबारे कोही पनि सचेत नभएको गुनासो आएपछि सोहीअनुसार भनिसकेको उनले बताइन् । उनले भनिन्, ‘एक पटकमा निश्चित संख्या मात्रै जान पाउने वा कसरी हुन्छ कमभन्दा कम भिड गराउने गरी गाउँपालिका र सम्बन्धित सुरक्षा निकायले काम गर्नेछन् ।’

‘प्रहरी जनशक्ति नपुगे थप खटाउँछाैं’

डोटीको छहरा झर्नामात्र कैलालीको खानीडाँडा, घोडाघोडी ताल, कर्णाली पुललगायत र कञ्चनपुरको छ लेन सडक लगायतका विभिन्न पर्यटकीय स्थलमा पनि आन्तरिक पर्यटकहरुको भिडभाड बढेको छ । पर्यटकीय स्थलमा मास्कको प्रयोग नगर्दा संक्रमणको जोखिम बढेको छ । कैलाली जिल्ला प्रशासन कार्यालयले मास्क प्रयोग नगरेका व्यक्तिबाट सय रुपैयाँ जरिवाना असुल गर्ने निर्णय गरेको भए पनि पर्यटकीय स्थलहरुमा सुरक्षाकर्मीको उपस्थिति नहुँदा समस्या भएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले कोरोनाबाट बचाउनकै लागि कैलालीमा पनि प्रहरीले ‘तपाईंको माक्स खै ?’ अभियान चलाएको बताए । ‘हामीले बाटो-बाटोमा चेक गरेर मास्क नलगाउनेलाई जरिवानासमेत गर्ने गरेका छौँ,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘प्रहरी नपुगेको ठाउँमा सुरक्षाका मापदण्ड नअपनाएको हुनसक्छ । चिसापानी पुल, हाटखोली क्षेत्रमा पनि अब प्रहरी परिचालन गर्छौँ ।’

कञ्चनपुर प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कञ्चनपुरको महेन्द्रनगरको छ लेन सडकलगायत पर्यटकीय स्थलहरुमा भीडभाड बढेको बताए । उनले भने, ‘भिडभाड नबढाउने आदेश दिएका छौं । सुरक्षा निकायसमेत पुगेर त्यस्ता ठाउँमा स्वास्थ्य मापदण्डको पालना गराउने, मास्क अनिवार्य प्रयोग गराउने, क्षमताभन्दा बढी मानिसलाई प्रवेश गर्न नदिने लगायतका कार्य गरिरहेको छ ।’ उनले सामान्य अनुरोधका भरमा अहिले कुनै पनि स्थलमा स्वास्थ्य मापदण्ड पालना नभइरहेको बताए । उनले भने, ‘हामीले संक्रमणका दरका आधारमा निर्णय गर्ने हो । अहिले जिल्लामा संक्रमितको संख्या कम छ । केही जिल्लामा संक्रमण दर बढेको पनि देखिएको छ ।’ उनले संघीय सरकारको कोभिड-१९ जोखिम नियन्त्रण, व्यवस्थापन तथा रोकथाम समितिले थप निर्णय लिनुपर्ने बताए ।