पछिल्लो समय धनगढी बजार सवारी चापका कारणले अत्यधिक भिडभाड हुने गरेको छ । त्यसैमाथि सडकमा छाडा पशु चौपायाले दुर्घटनाको जोखिम पनि बढाएको छ । चुनावी नारामा छाडा पशु चौपायालाई मुख्य एजेन्डा बनाएका जनप्रतिनिधिका ती बाचा चार वर्ष बितिसके । तर छाडा पशु चौपायाको समस्या हल हुन सकेन ।
छाडा पशु चौपायाको व्यवस्थापनमा विभिन्न सङ्घसंस्था तथा स्थानीय तहले काम गरिरहेको भए पनि यसको व्यवस्थापन भने अगाडी बढ्न नसकेको स्थानीयवासी बताउँछन् । धनगढी उपमहानगरपालिकाले वडा नम्बर ७ को देवहरियामा तथा समुदायबाट वडा नम्बर ३ मा गौशाला बनाएको भए पनि सडक तथा बजार क्षेत्रमा अझै गाईवस्तु देख्न सकिन्छ।
छाडा चौपायाले बालीनाली सखाप पार्ने समस्या त छदै छ यसले दुर्घटनाको जोखिम पनि बढाएको छ । छाडा चौपायाको व्यवस्थापन हुन नसक्दा किसानहरूले लगाएको बालीनाली सखाप पारिदिएपछि किसानहरूले हैरानी खैपनुपरेको छ । धनगढीकी स्थानीय चन्द्रा देवी जोशीले छाडा चौपायाले खेतमा लगाएको बाली र तरकारी पुरै नष्ट गरेको दुखेसो पोखिन् ।
‘बारीमा लगाएको सबै तरकारी तथा अन्न बाली छाडा पशुचौपायाहरुले खाइदिन्छ,’ स्थानीय जोशीले भनिन्, ‘मेहनत गरेर अन्न बाली लगाउँछौँ, त्यो मिहिनेत अहिले सबै खेर जादैँछ।’ छाडा पशु चौपायाबाट बाली जोगाउनका लागि अबेर राति सम्म पनि अनिदो बस्नुपर्ने बाध्यता रहेको उनको भनाई छ ।
छाडा चौपाया व्यवस्थापनको विषयलाई धनगढीका जनप्रतिनिधिले छाडा चौपायालाई चुनावी नारा बनाएका थिए । निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दा पनि किसानहरूका समस्या समाधान हुन नसकेको अर्का स्थानीय जया धामीले बताइन् ।
‘यहाँका नेताहरूले चुनावी नारा छाडा पशुचौपाय व्यवस्थापनलाई बनाउनुभएको थियो ।’, उनले भनिन् अहिले कार्यकाल सकिन अब धेरै समय पनि छैन् । तर उहाँहरूले बोलेका ती चुनावी नारा ज्युँका त्युँ छन् ।’ चुनावमा निर्वाचित भएका जनप्रतिनिधिले यसको व्यवस्थापनमा अझै पनि ध्यान दिन नसकेको उनले बताइन् ।
धनगढीका अधिकांश क्षेत्रमा छाडा चौपायाहरूले बालीनाली नोक्सान गर्ने गरेको छ । एका तिर किसानले लगाएको अन्नबाली नोक्सान गर्दै आइरहेको छ भने अर्को तर्फ सडक दुर्घटनाको जोखिम समेत बढाएको छ। बडी जसो रातीको समयमा सडकमै छाडा चौपाया हुँदा दुर्घटनाको जोखिम बढ्ने गरेको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वामदेव गौतमले बताए ।
‘बिषेशगरी धनगढी अत्तरिया सडक खण्डमा छाडा चौपायाको बिगबिगी बढ्दो देखिएको छ’,प्रहरी उपरीक्षक गौतमले भने,‘यही छाडा चौपायाको कारणले पनि दुर्घटना हुने गरेको छ । दुर्घटना न्यूनीकरणकै लागि हामीले छाडा चौपायामा टल्कने स्टिकर लगाउने अभियान पनि सञ्चालन गरेका थियौ । यसले केही मात्रामा भए पनि राहत पुगेको छ ।’ दुर्घटनाको कारणहरूमा छाडा चौपाया पनि रहेकोले स्थानीय तहले यसको व्यवस्थापनमा प्रभावकारी ढङ्गले काम गर्न आवश्यक रहेको उनले बताए ।
छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय तहहरूले लाखौँ रकम खर्च गरिसकेका छन् । तर त्यो रकम बालुवामा पानी हाले सरह भएको आरोप समेत लाग्न थालेको छ । यता धनगढी उपमहानगरपालिकाका प्रवक्ता एवं वडा अध्यक्ष सन्तोष मुडभरीले भने छाडा चौपाया व्यवस्थापनमा उपमहानगरपालिका लागि परेको बताए ।
‘हामीले छाडा चौपाया व्यवस्थापन गर्नकै लागि गौशाला समेत निमार्ण गरेका छौँ ।, तर पनि बाहिरबाट मानिसहरूले चौपाया छोड्दा छोड्ने गरेका छन् । यसले हामीलाई थप चुनौती भने कायमै छ ।’ वडा अध्यक्ष मुडभरीले भने, ‘रातीको समयमा पनि अरू पालिकाका व्यक्तिहरूले धनगढीमा छोडिदिने गरेका छन् । त्यै पनि हामी छाडा चौपाया व्यवस्थापनमा पछि हटेका छैनौँ ।’ बाहिरबाट नै छाडा चौपाया छोडिदिँदा सो समस्या समाधान गर्न अप्ठेरो भइरहेको उनको भनाई छ ।