सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ । यो पर्वलाई पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वास गरिन्छ ।
सुदूरपश्चिममा मात्रै नभएर कर्णाली प्रदेशको केही जिल्ला र छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । गौरा पर्व भाद्र शुक्ल वा कृष्ण पञ्चमी देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ। गौरा पर्वको पहिलो दिन महिलाहरूले निराहार रही आ आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गहुँ केराउ गहत मास र गुरुस गेडागुडी भिजाउने गर्छन्।
यसरी भिजाएको गेडागुडीलाई 'बिरुडा' भन्ने गरिन्छ । महिलाहरुले दोस्रो दिन घर नजिकै रहेका पानीका मुहान र पँधेरामा गई सामूहिक रुपमा बिरुडा पखाल्ने गर्दछन । त्यसैगरी सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ मन्दिरमा डालोमा स्थापना गर्ने चलन छ। गौरा भित्रयाएर पुजा अर्चना गरि महिलाहरुले दुबो, धागो चढाउने गर्छन। साथै महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसि पूजाआजा गर्ने चल्न रहि आएको छ ।
गौरा पर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ। यसरी गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघर अथवा खुला स्थानमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा खेल खेलेर रमाउने गर्दछन ।
अनुकूल तिथि हेरी विसर्जन गरिने गौरा पर्वले धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुख शान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ। प्रदेश बाहिर रहेका सुदुरपश्चिमेलीहरु देउडामा रमाउन फर्किने गर्छन। गौरामा विवाहित चेलीहरु पनि माइत आउने चलन छ।