परिस्थितिले जोडेका एकै म्यानका दुई तरबार
एकातिर खस्कँदो जनाधार अर्कातिर पानी बाराबार
2021/08/27, 10:57
 
bb

भनाइ नै छ एकै म्यानमा दुई तरबार अट्दैनन् । तर सुदूरपश्चिम प्रदेशका प्रभावशाली दुई कम्युनिस्ट नेता भीम रावल र लेखराज भट्टलाई समयले फेरि एकै म्यानभित्र पुर्‍याइदिएको छ । विगतमा रावलले सुदूरपश्चिमबाट नेकपा एमाले र भट्टले माओवादी केन्द्रको नेतृत्व गर्थे । यसअघि २०७४ सालको प्रदेश तथा प्रतिनिधिको निर्वाचन पश्चात् २०७५ जेठमा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेयता रावल र भट्ट एउटै पार्टीमा त थिए‚ तर दुवै नेताको ‘गुट’ एकै थिएन । नेकपाभित्र पूर्वमाओवादी र पूर्व एमालेको दूरी हुँदा दुवै नेताहरू फरक फरक गुटमा थिए ।

केही समयपछि नेकपाका एक अध्यक्ष प्रचण्डले रावलका पक्षमा सार्वजनिक स्थलमै भाषण गरेपछि भट्टसमेत वर्षौँको सम्बन्ध त्यागेर ओली कित्तामा पुगे । दुई पक्षको कडा टक्कर रहेको नेकपामा आन्तरिक रुपमा रावललाई टक्कर दिन नै भट्ट आफैँले हुर्काएको दल माओवादी छाडेर एमाले बन्ने कठोर निर्णयमा पुगेका थिए । तर केही समयअघिसम्म माधव नेपाल र प्रचण्ड निकट रहेका रावल यू टर्न गर्दै ओली पक्षमै फर्किएपछि सुदुरपश्चिममा यी दुई ‘तरबार’ एकै ‘म्यान’मा अब कसरी अटाउलान् भन्ने आकलन र आशंका गर्न थालिएको छ ।

नेकपा रहिरहेका बेला प्रचण्डले रावललाई च्यापेपछि भट्ट ओली पक्षमा लागेका थिए । तत्कालीन अवस्थामा भट्ट ओली सरकारका मन्त्रीसमेत थिए । कतिपयले मन्त्री पदकै लोभमा भट्टले ओलीलाई रोजेको आरोप पनि लगाएका थिए । त्यसबेला माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने अन्य मन्त्रीहरू भने फिर्ता भएपनि भट्ट लगायतका केही नेता एमाले बन्न राजि भए र मन्त्री पद जोगाए । भट्टले एमाले रोज्नुमा मन्त्री पद जोगाउनु मात्र नभएर रावलसँगको टकराव र प्रचढण्डले आफूलाई छोडेर रावललाई बढी बिश्वास र जिम्मेवारी दिनुको इगोले काम गरेको भट्ट निकटका नेताहरूले नै गर्ने गरेका छन् ।

तर‚ अचानक जस्तै गरी रावल एमालेमै रहने भएपछि भट्टलाई सकस भइरहेको उनी निकटका नेताहरू बताउँछन् । मन्त्री र सांसदबाट हट्नुपरेको पीडामात्र होइन‚ अब रावलसँग पनि एकै पार्टीमा रहनुपरेपछि उनलाई असजिलो भएको उनीहरुको दाबी छ । हुन पनि जो कहिल्यै राजनीतिक विचारमा एक ठाउँमा उभिएका थिएनन्, एउटै पार्टीमा आइसक्दा पनि दुई धारमा विभक्त थिए‚ उनीहरू अब कसरी एकै नाउँमा सवार होलान्‚ यो पक्कै रोचक हुनेछ ।

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्दा सुदूरपश्चिम प्रदेशको ईन्चार्जको जिम्मेवारी रावललाई दिइएको थियो । उनीभन्दा जुनियर नेता पार्टीको नौ जनाको सचिवालयमा बस्दा आफूलाई प्रदेश ईन्चार्ज र स्थायी समितिमै सीमित पारेको भन्दै रावल असन्तुष्ट थिए । उनी सुरुवातमा पार्टी एकताको पक्षमा पनि नरहेको भन्ने चर्चा त्यसबेला चलेको थियो । त्यसबेला नेता भट्ट र उनको हैसियत लगभग एउटै रह्यो ।  नेकपाभित्रको विवाद बढ्दै जाँदा उनलाई ईन्चार्जबाट हटाएपछि भट्टलाई ईन्चार्जको जिम्मेवारी दिइएको थियो ।

समानान्तर कमिटी चलाएको माधव समूहले रावल नै प्रदेशको ईन्चार्ज भएको भन्दै प्रदेश पार्टी कार्यालयमा भट्टको नामको नेमप्लेट हटाएर रावलको नेमप्लेट राख्न लगाएको थियो । जहाँ दुई समूहबीच तनावको अवस्था सिर्जना भएको थियो । यसपछि रावल र भट्टको सम्बन्ध झन् चिसिएको थियो । अहिलेको अवस्थामा एमालेको सुदूरपश्चिम प्रदेश ईन्चार्जका रुपमा लेखराज भट्ट छन् । पार्टी २०७५ जेठ २ अगाडिको अवस्थामा गयो भने प्रदेश ईन्चार्ज नहुन सक्ने अवस्था छ भने नेता रावल उपाध्यक्ष यथावत् छन् ।

रावल र भट्ट पार्टी एकतापूर्व र पार्टी एकतापछि पनि सुदूरपश्चिम प्रदेशमा सर्वाधिक प्रभावशाली कम्युनिस्ट नेता हुन् । माओवादी केन्द्र हुँदा भट्टको सुदूरपश्चिममा राम्रो छाप थियो । पार्टी एकतापछि नेकपा हुँदा पनि उनको पक्षमा धेरै नेताहरू थिए । रावलसँग असन्तुष्ट नेताहरू पनि भट्टसँग नजिकिएका थिए । त्यसबेला रावल पनि प्रदेशमा झन् बढी प्रभावशाली थिए । उनी माधव पक्षधर भएकै कारणले पनि सुदूरपश्चिममा उनको ‘दबदबा’ थियो ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेका सभामुखबाहेक २४ जना सांसदमध्ये १७ जना उनकै पक्षमा थिए । उनले भनेअनुसार नै सुदूरपश्चिम प्रदेश सरकार चल्थ्यो भन्दा पनि फरक पर्दैन थियो । किनभने भट्ट एमालेमै रहेपछि माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट उनले भनेको मान्नेवाला थिएनन् । माओवादी केन्द्र पनि सरकारविरोधी गठबन्धनमा भएकाले सो समयमा महत्वपूर्ण निर्णयहरू रावलले भनेअनुसार नै हुने गरेका थिए ।

तर अहिले एक्कासी परिस्थिति बदलिएको छ । तत्कालीन समयमा प्रभावशाली नेताद्वय रावल र भट्ट अहिले जनाधारविहीन जस्ता देखिएका छन् । जहाँ उनीहरूले आफ्नै विश्वास पात्रलाई पनि आफ्नो पक्षमा ल्याउन सकेनन् । वर्षौँ माओवादीमा बिताएका भट्टले एमाले बन्ने निर्णय गर्दा धेरै नेता‚ कार्यकर्ताले उनलाई साथ दिएनन् । अब पालो रावलको आएको छ । लामो समय माधव पक्षमा रहेका रावलले पार्टी विभाजनमा ओली पक्षमा रहने निर्णय गरेपछि उनी पक्षका नेता‚ कार्यकर्ता पनि उनीसँगै नरहने अवस्था आएको छ । जसको उदाहरण सुदूरपश्चिम प्रदेशसभामा देखिइसकेको छ ।  आफ्नै पार्टीमा रहँदै गर्दा पनि रावलले सुदूरपश्चिम प्रदेश सभाका तीन चार जनाभन्दा बढीलाई आफ्नो पक्षमा लैजान नसक्ने देखिएको छ ।

यसअघि उनका विश्वास पात्र मानिएका प्रदेश सरकारका भौतिक पुर्वाधारमन्त्री दीर्घ सोडारीले समेत नयाँ पार्टी नेपाल नेतृत्वको नेकपा एकीकृत रोजिसकेका छन् । प्रदेशसभामा सोडारीको राम्रो प्रभाव छ । प्रदेशमा पनि अधिकांशले एकीकृत समाजवादी रोज्न लागिरहेको बताइएको छ । रावलको गृहजिल्ला अछाममा उनका सबैभन्दा नजिकका विश्वासपात्र शेरबहादुर कुँवरले पनि रावललाई साथ दिन सकेनन् । अछाममा कुँवरको बलियो पकड रहेको मानिन्छ ।

जनाधार गुमाउँदै आफ्नो पार्टी नै परित्याग गरेर एमालेमै रहेका भट्टको अवस्था झन दयनीय बनेको छ । ओलीलाई रोजेदेखि नै उनले आफ्नो जनाधार क्षेत्र गुमाइसकेको उनको पूर्वपार्टीकै नेताहरू बताउँछन् । ‘आफ्नै पार्टीमा रहँदा रावलले त आफ्नाहरूलाई लैजान सकेनन् भने पार्टी नै परित्याग गरेका भट्टलाई कसले साथ दिन्थ्यो र ?’ माओवादी केन्द्रका एक नेता बताउँछन् ।

निर्वाचन आयोगले दुई पार्टीलाई पूर्ववत् अवस्थामा फर्काएपछि माओवादी केन्द्रका प्रायः नेताहरू आफ्नै पार्टी फर्किएका थिए । केन्द्रमा भट्टसहितका केही नेताहरू एमालेमै रहेपनि प्रदेश र जिल्ला तहका नेताहरू भने आफ्नै पार्टीमा फर्किए‚ जसले गर्दा पनि नेता भट्टले आफ्नो पूरानो आधारलाई जोगाउन सकेनन् । भट्टले माओवादीका सुदूरपश्चिमका सबै नेता‚ कार्यकर्तालाई गुमाइ नै सकेका छन् । अब दुवै नेताका कार्यकर्ता पनि एउटै हुने भएका छन् । एमालेका पनि अधिकांश नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा आवद्ध हुन थालेपछि दुवै नेता जनाधारविहीन हुने अवस्थामा पुगेका छन् ।  दुवैलाई अहिले एकातिर आफ्नो पक्षमा नेता‚ कार्यकर्ता बटुल्नु त छँदैछ‚ पार्टीभित्र एक-अर्काविरुद्ध आन्तरिक प्रतिस्पर्धा गर्नु त छँदैछ ।