सुदूरपश्चिममा  एमाले सरकारबाट बाहिरिदै
2021/08/28, 12:41
 
dd

नेकपा एमाले बिभाजनको असर सुदूरपश्चिममा पनि परेको छ । एमालेबाट अलग भएर माधव नेपालको नेतृत्वको गठन भएको नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुको संख्या यकिन नभएपनि एमाले बिभाजनको असर सुदूर पश्चिम प्रदेश सरकारको समिकरणमा समेत पर्ने भएको छ । 

यतिबेला एमाले र समाजवादी दुबै पार्टी बहुमत आफ्नो पक्षमा हुने दावी त गरिरहेका छन्, तर दुबै पक्षमा कति जना प्रदेश सभा सदस्य छन्, दुबै पक्षले प्रष्ट पार्न सकेका छैनन, बहुमत पु¥याउन दुबै पक्षको कसरत भने जारी छ ।  सुदूर प्रदेश सरकारको नेतृत्व यतिबेला माओवादी केन्द्रका त्रिलोचन भट्टले गरिरहेका छन् । र, माओवादीलाई नेकपा एमाले टुक्रिनु अघिको माधव नेपाल समूहको साथ छ । 

नेकपा संसदीय दलका नेता प्रकाश शाहले केही महिना अघि सरकारमा रहेका ओली पक्षीय मन्त्रीहरु पठान सिंह बोहरा र झपट बोहरालाई हटाएर माधव पक्षीय सांसदहरुलाई मन्त्री बनाएका थिए ।  तिनै शाह माधव नेपाल नेतृत्वको समाजवादीमा गएनन । उनी यतिबेला आफैले कारबाही गरेकाहरुको कित्तामा उभिएका छन् । शाहले पार्टी बिभाजनकै क्रममा आफू एकताको पक्षमा भएको प्रष्ट पारेका थिए ।

सुदूर पश्चिम प्रदेश सभामा ५३ जना जना सदस्य छन् । नेकपा एमालेका २५ जना सांसद थिए । पार्टी बिभाजनअघि माधव नेपाल समूहका पक्षमा १७ जना प्रदेश सभा सदस्य थिए । तटस्थ भूमिकामा रहेका सभामुख अर्जुन बहादुर थापा पनि माधव नेपाल पक्षधर मानिन्छन । नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य तथा सुदूर पश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले समाजवादी पार्टीमा बहुमत सदस्य रहेको बताईन ।  प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादी बन्ने निश्चित छ, उनले भनिन, बहुमत सदस्य हाम्रो दलमा आवद्ध भईसकेका छन् ।

जोशीसंगै पूर्व मन्त्री माया भट्ट समाजवादीको केन्द्रीय सदस्य बनेकी छन् । भौतिक पूर्बाधार मन्त्रीले आफू माधव नेपाल नेतृत्वको समाजवादी पार्टीमा रहेको प्रष्ट पारिसकेका छन् । उनले आफूसंगै बल बहादुर सोडारी, अमर साउँद लगायत बिगतमा आफ्नो साथमा रहेका आधा दर्जन बढि सांसदहरु समाजवादी पार्टीमा रहेको दावी गर्दै आएका छन् । सोडारीले सुदूर पश्चिम प्रदेश सरकारको नेतृत्व समाजवादी पार्टीको दावी रहने बताउदै आएका छन् ।

नेकपा संसदीय दलका पूर्व प्रमुख सचेतक तारा लामा तामाङ र कुलवीर चौधरी पनि माधव नेपाल नेतृत्वको समाजवादी पार्टीमा छन् । प्रदेश सरकारका सामाजिक विकास मन्त्री, लाल बहादुर खड्का, राज्य मन्त्री मना साउँद, राज्य मन्त्री चुनकुमारी चौधरी पनि समाजवादी पार्टीको पक्षमा छन् । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक खड्काले आफू समाजवादी पार्टीमा रहेको प्रष्ट पारेका छन् ।

राज्यमन्त्री अर्चना गहतराज पनि समाजवादी पार्टीका पक्षमा रहेको समाजवादी पार्टीकी केन्द्रीय सदस्य जोशीले बताईन । १३ जना प्रदेश सभा सदस्य हाम्रो पक्षमा खुलिसकेका छन्, यो संख्या अझै बढ्ने छ, समाजवादीका एक नेताले भने, प्रदेश सभामा हाम्रो दल सबै ठूलो हुने छ । बिगतमा माधव नेपाल समूह अन्तर्गत भीम रावलको पक्षमा रहेको १७ जनामध्ये रावल नेकपा एमालेमा फर्किएपछि रावललाई प्रकाश शाह र प्रकाश रावलले मात्र खुलेर साथ दिएका छन् । सुदूर पश्चिम प्रदेश सभामा नेकपा संसदीय दलको नेता रहेका शाह एमालेका केन्द्रीय सदस्य समेत हुन् । 

एमाले उपाध्यक्ष भीम रावलका भिनाजु प्रदेश सभा सदस्य हर्क कुवँर गोविन्द समेत नेकपा एमालेका पक्षमा अहिलेसम्म खुलेका छैनन । उनले केहीदिनअघि पश्चिम टुडेसंगसंगको कुराकानीमा आफू प्रतिगमन र अतिवादका विरुद्धमा लडेकोले अतिवाद र प्रतिगमनको पक्षमा नहुने बताएका थिए । उनको भनाईको आशयले उनी केपी शर्मा ओलीलाई साथ नदिने देखिन्छ ।  नेकपा एमालेका पक्षमा रहेका प्रदेश सभा सदस्य प्रकाश रावलले निर्वाचन आयोगमा गएर एकीकृत समाजवादीका पक्षमा सनाखत नगरेसम्म सबै सांसदहरु एमाले नै रहने बताए । उनले भने, अहिलेसम्म कसैले निर्वाचन आयोगमा गएर सनाखत गरिसकेका छैनन । त्यसैले अहिलेसम्म सबै एमालेमै छन् । 

मन्त्रीहरु आफ्नो पद जोगाउने कसरतमा छन् । मन्त्री नभएकाहरु मन्त्री पद पाउनका लागि कसरत गरिरहेका छन् ।नेकपा एमालेका पक्षमा जानेहरुले मन्त्री पद गुमाउनु पर्ने भएकोले एमालेका धेरै प्रदेश सभा सदस्यहरु कता जाने भन्ने दुबिधामा छन् । मन्त्री पद जोगाईरहनका लागि भने धेरै प्रदेश सभा सदस्यहरु एकीकृत समाजवादी पक्षमा जाने देखिन्छ ।
पार्टी बिभाजनपछि नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिने निश्चित छ । प्रदेश सभाहरुले आफ्नो कित्ता प्रष्ट पारेकै दिन एमाले सरकारबाट बाहिरिनेछ ।

त्यसपछि भने माओवादी केन्द्र, नेपाली काँग्रेस, समाजवादी पार्टी र जनता समाजवादीको संयुक्त सरकार बन्ने छ । प्रदेश सभामा माओवादी केन्द्रका १३, काँग्रेसका १२ र जसपाका २ जना सांसद छन् । पछिल्लो समय नेपाली काँग्रेसले प्रदेश सरकारको नेतृत्वमा दावी गरिरहेको छ । एमाले र समाजवादीको साथ बिना पनि काँग्रेसलाई सरकार बनाउन आवश्यक संख्या २७ जना जुट्ने देखिन्छ ।