कान्द्रा नदीमा निर्माणाधीन पक्की पुलको ठेक्का भएको दशक बिते पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।ठेकेदारको लापरवाहीका कारण तोकिएको समायवधिमा पुल निर्माण हुन नसकेको हो । पटक–पटक म्याद थप गर्दासमेत ठेकेदारले लापरवाही गर्दै आएपछि भजनी नगरपालिकावासीले पक्की पुलमा हिड्ने सपना १० वर्षसम्ममा पनि पूरा हुन सकेको छैन ।
एक दशक लगाएर दुई स्पाममात्रै बनेको पुलको अझै त्यतिनै स्पाम बन्न बाँकी रहेको छ । तेस्रो पटक थप गरिएको म्याद गएको साउन मसान्तमा सकिएको छ । कोरोनाका कारण पछिल्लो समय काम प्रभावित भएकाले पुनः छ महिना म्याद थप्ने तयारी भइरहेको हुलाकी राजमार्ग आयोजनाको कार्यालयले जानकारी दिएको छ ।भजनी नगरपालिका–१ स्थित थेकीपुरमा निर्माणाधीन सो पुल हुलाकी राजमार्ग आयोजनाद्वारा निर्माण भइरहेको छ । हुलाकी सडक अन्तर्गत कैलालीमा पर्ने बाँकी सबै पुलको निर्माण कार्य पूरा भइसकेको छ । अब कान्द्राको पुलमात्रै बाँकी रहेको आयोजनाको कार्यालयले जानकारी दिएको छ ।
निर्माण कम्पनीले असोज महिनाबाट सुरु गरि तदारुकता काम गरेमा पाँच महिनाभित्र अर्थात आगामी माघ मसान्तसम्म बाँकी दुई स्पामको काम पूरा गर्न सकिने हुलाकी राजमार्ग आयोजनाका सूचना अधिकारी इन्जिनीयर पदम मडैले बताए । ‘अब पहिलेको जस्तो गाह«ो काम छैन’, उनले भने । ‘यदि, निर्माण कम्पनीले तदारुकताका साथ काम गरेमा पाँच महिनामा पुल निर्माण कार्य सम्पन्न हुन सक्छ । एउटा स्ल्यापको लागि डण्डी पनि आइसकेको छ ।’
लामा–शाल्पा शेर्पा–विरुवा जेभीलाई २०६८ सालमा सो पुल निर्माणको ठेक्का मिलेको थियो । यद्यपि, लामा–शाल्पा शेर्पा–विरुवा जेभीको नाममात्रै थियो । सो फर्ममार्फत ठेक्काको काम गर्ने ठेकेदार भने विकास झा थिए । ठेकेदार झा २०७५ मा काम छोडेर भागेपछि झन्डै दुई वर्षसम्म पुल निर्माणको कार्य अलपत्र परेको थियो । ठेक्का पाउने जेभीमध्येका विरुवाले अब काम गरिरहेको छ ।ठेकेदार विकास झा धेरै बद्मास ठेकेदार रहेको र मुलुकभरि नै निर्माणको कार्यमा धोका दिदैं आएको इन्जिनीयर मडैले बताए । ‘उनी भागेपछि अब बाँकी काम ठेक्का पाउने कम्पनीमध्येका एक विरुवाले काम गरिरहेको छ’, उनले भने।
एक सय मिटर लामो कान्द्रा पुल निर्माण गर्न तीन करोड् ४५ लाख २० हजार रुपैयाँको ठेक्का भएको थियो। तर, दशक बिते पनि पुल नबन्दा स्थानीयवासीले जोखिम मोलेर नदी वारिपारि गर्न बाध्य छन् । बर्खा याममा उनीहरु डुङ्गामार्फत ओहोरदोहोर गर्दै आएका छन् ।बेलैमा पुल नबन्दा वडा नम्बर १, ३, ५, ७, ८ का बासिन्दाले धेरै सास्ती भोग्नु परेको वडा नम्बर ३ का वडा अध्यक्ष विक्रम चौधरीले बताए । ‘पुल नहुँदा दिनकै जोखिम मोलेर डुङ्गामार्फत ओहोरदोहोर गर्नु पर्ने बाध्यता छ’, उनले भने ।
छ वर्षमा ३२ किमी कालोपत्रे
कञ्चनपुरमा निर्माणाधीन हुलाकी राजमार्ग कालोपत्रे कार्य अत्यन्त सुस्त रहेको छ । सो जिल्लामा हुलाकी राजमार्ग निर्माण कार्य ७५ प्रतिशत पूरा भए पनि छ वर्ष लगाएर जम्मा ३२ किलोमिटर राजमार्गमात्रै कालोपत्रे गरिएको छ । तीन खण्ड गरेर निर्माण भइरहेको हुलाकी राजमार्गको ६२ किलोमिटर क्षेत्रमा ग्राभेल हाल्ने कार्य पूरा भएको छ । यसका लागि बेस राख्ने कार्य समेत ६० प्रतिशत पूरा भएको छ ।
पहिलो खण्डमा डोकेबजारदेखि बुटावारी सम्मको २० किमी लागि ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । दोस्रो खण्डमा बुटाबारीदेखि बेलडाँडीसम्मको २० किमी सडक निर्माणका लागि ४१ करोड रुपैयाँ र तेस्रो खण्डको २२ किमी सडकका लागि ४० करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ । बाबाहंस सिद्धिकी र शर्मा जेभीले राजमार्ग निर्माणको जिम्मा पाएका छन् ।
‘विसं २०७३ मा राजमार्ग निर्माणको कार्य शुभारम्भ गरी विसं २०७६ भदौ मसान्तमा सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिएको थियो’, हुलाकी राजमार्ग आयोजनाका सूचना अधिकारी पदम मडैले भने, ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा पर्ने रुख हटाउन अनुमति दिन एक वर्ष लगाएपछि पर्खनुपर्यो । त्यसपछि कोरोना भाइरसको महामारी फैलिएपछि कार्य अगाडि बढाउन विलम्ब भएको छ ।’