दार्चुलाका विभन्न भेगमा आएको बाढी र पहिरोका कारण तीन जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन् । बाढीले घर, पुल र लघु जलविद्युत् समेत बगाएको छ। आइतबार राति आएको बाढीपहिरोमा परि दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको हो।
पहिरोले घर पुरिँदा दुहु गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशिला महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए। यस्तै दुहु गाउँपालिकाको वडा नम्बर ५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको प्रहरी नायब उपरीक्षक भट्टले बताए। कालागाड खोलामा आएको बाढीले डडाललाई घरसहित बगाएको थियो। बाढीले घरसहित पुल, जलविद्युत आयोजना, पानी घट्ट र पशुचौपाया पनि बगाएको छ।
सो क्षेत्रमा ५ वटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल पनि बगेको स्थानीयले बताएका छन्। यस्तै वडा नम्बर ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन्। निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएको जिल्ल प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भट्टले बताए।
निजाङगाडकै खोलाले दार्चुला–तिंकर सडकमा रहेको मोटरेबल पुल र दुई वटा झोलुंगे पुल पनि बगाएको छ। सो क्षेत्रम रहेका आधा दर्जन घर तथा पसलहरु बगाएको छ। दार्चुला–तिंकर सडकको निजाङगाड पुल बग्दा दुहुँ र व्याँस गाउँपालिकाको सम्बन्ध विच्छेद भएको छ। यस्तै निजाङगाड खोला नजिकै रहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेन्जपोष्ट भवनको आधा भाग बगाएको छ। यस्तै महाकाली नगरपालिका १ को श्रीबगडमा देव बहादुर बम, अमरबहादुर बम, सुन्दर बहादुर बम र जीतबहादुर बमको पसल बगाएको छ।
गएरातीबाट आएको अविरल वर्षाका कारण दुहुँ गाउँपालिकाभरी बाढि र पहिरोले वितण्डा मच्चाएको छ । सबै वडामा पहिरोले दर्जनौ घरमा क्षति पुर्याएको छ । दुहुँका स्थानीय लोकेन्द्र बहादुर बमका अनुसार दुहुँ गाउँपालिका १ को पिपलचौरीमा दुई वटा घर पूर्ण रुपमा क्षति भएको छ । २५ बढि घरहरुमा पहिरोको जोखिममा छन् ।
दुहुँ गाउँपालिकाका तीन वटा लघुजलविद्युतमा क्षति पुगेको छ । वडा नम्बर २ को सिमार खोला १८ किलोवाट, वडा नम्बर ५ को कालागाड ३४ किलोवाट र कालागाड दोस्रो ४० किलोवाट जलविद्यूतमा क्षति पुगेको छ । गाउँपालिकाभरीका ५ वटा झोलुंगे पूल बगाएको छ । आधा दर्जन बढि पानी घट्ट बगेका छन् । तीन जनाको ज्यान गएको छ । ठाउँ ठाउँमा पहिरो गएको छ । दुहुँबाट सदरमुकाम खलंगा आउने बाटो अवरुद्ध भएको छ । दुहुँ र महाकाली नगरपालिका जोड्ने दार्चुला तिंकर सडक खण्डको निजाङगाड खोलामा लगाएको पक्की मोटरेवल पूल बगाएपछि सम्बन्ध विच्छेद भएको छ ।