६ वर्षअघि कैलाली सहित देशका तीन जिल्लाबाट शुरु भएको स्वास्थ्य बिमा कार्यक्रम सुदूर पश्चिममै प्रभावकारी हुन सकेको छैन । सरकारले निशुल्क औषधी उपचारको घोषणासंगै आर्थिक अभाव वा समयमा उपचार नपाएर अकालमा नागरिकले ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले २०७२ सालमा कैलाली, ईलाम र बागलुङबाट स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको थियो ।
देशमै पहिलो चरणमै स्वास्थ्य बिमा शुरु गरिएको कैलाली जिल्लामा नै स्वास्थ्य बिमा कार्यक्रममा समेट्निे नागरिकको संख्या न्यून छ । कञ्चनपुरको अवस्था पनि कैलालीको भन्दा फरक छैन । स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय सुदूरपश्चिमका अनुसार २५ लाख ५२ हजार ५ सय १७ जनसंख्या रहेको सुदूरपश्चिममा स्वास्थ्य बिमा गर्ने संख्या ३ ७८ हजार ७ सय ९० जनाले मात्र स्वास्थ्य बिमा गरेका छन् ।
सुदूरपश्चिममा स्वास्थ्य बिमा गर्ने सबैभन्दा बढि नागरिक कैलालीमा छन् । स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय सुदूरपश्चिम प्रदेशका अनुसार कैलालीमा १ लाख ९६ हजार ४ सय र कञ्चनपुरमा ३२ हजार ८ सय ८० जनाले स्वास्थ्य बिमा गरेका छन् ।
सरकारले एक परिवारमा पाँच जना सदस्य रहने अनुमान गर्दै बिमा कार्यक्रम लागु गरेको छ । पाँच जना सदस्य भएका परिवारले बिमा वाफत प्रति वर्ष ३ हजार ५ सय रुपैया प्रिमियम बुझाउनु पर्ने हुन्छ । त्यसभन्दा माथि प्रति सदस्य सात सय रुपैया तिर्नुपर्छ । स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय सुदूरपश्चिमका प्रमुख जनक साउँदका अनुसार बिमा गरे वाफत एक लाख रुपैया बराबरको औषधी उपचार र एक हजार एक सय ३३ प्रकारका औषधी निशुल्क पाईने बताए ।
“सरकारले तोकेका औषधी बाहेकको हकमा भने बिमा गर्ने व्यक्तिले किन्नु पर्ने हुन्छ,”उनले भने,“स्वास्थ्य बिमाको महत्वका बारेमा प्रचार प्रसारको कमि र स्वास्थ्य संस्थाको उपलब्धता सबै क्षेत्रमा नहुदा बिमा कार्यक्रम प्रभावकारी हुन नसकेको हो ।” उनले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन बिमा साक्षरता कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको बताए । स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन पहिले सबै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य प्रदायक संस्थाको उपलब्धता अनिवार्य भएको उनको भनाई छ ।
“दुर्गम भेगमा स्वास्थ्य प्रदायक संस्था छैनन,”साउँदले भने, “त्यहाँका नागरिकले बिमा गरे पनि उनीहरुले सहजै स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन । स्वास्थ्य बिमा कार्यक्रमका लागि यो सबैभन्दा ठूलो चुनौती हो ।”