घोडाघोडी– १०, पहलमानपुरका ४९ वर्षीय डम्बर खत्री नागरिकता बनाउन एक सातादेखि लाइनमा छन्। उनी दैनिक रूपमा बिहान १० बजे सुखडमा रहेको इलाका प्रशासन कार्यालय पुग्छन्। दिनभरि लाइन लाग्छन्, तर काम हुँदैन। साँझ ५ बजे कार्यालय बन्द हुन्छ, कर्मचारी निस्कन्छन्, उनी पनि निराश हुँदै घर फर्किन्छन्।
‘श्रीमतीको नागरिकता बनाउन यहाँ धाएको एक साता भइसक्यो, अहिलेसम्म नागरिकता बनाउन सकेको छैन,’ उनले गुनासो गरे, ‘भिडभाड धेरै छ, तँछाड मछाड हुन्छ, म बुढो मान्छे ठेलमठेल गर्न सक्दिनँ, सास्ती झेलिरहेको छु।’कर्मचारीको ढिलासुस्ती मात्रै छैन। उनीहरूले नातावादका आधारमा सेवा दिइरहेको समेत खत्रीको आरोप छ।
‘समयमा कर्मचारी पुग्दैनन्, काम पनि सुस्त तरिकाले भइरहेको छ। हामी ७÷८ दिनदेखि कुरिरहेका छौँ तर कर्मचारीले आफन्तको काम भने एकै दिनमा गरेर पठाइरहेका छन्। हामीलाई काम हुन्छ–हुन्छ मात्र भन्छन्। खै कहिले हुने हो,’ उनले भने। खत्री मात्रै होइन, मोहन्याल गाउँपालिकाबाट छोरीको नागरिकता बनाउन सुखड पुगेका पूर्णबहादुर थापाको गुनासो पनि यस्तै छ।
‘कर्मचारीहरू समयमा कार्यालयमा नपुग्ने, कार्यालयमा भए पनि मोबाइल फोनमा व्यस्त हुने र आफन्तलाई पहिलो प्राथमिकतामा राखेर काम गर्छन्, उनले भने, ‘यहाँ आएको तीन दिन भइसक्यो। होटेलमा बसिरहेका छौँ, दैनिक रूपमा कार्यालय धाइरहेको छु तर पनि काम भएको छैन।’
कार्यालय परिसरमा चरम लापरबाही, छैन सावधानी
इलाका प्रशासन कार्यालय सुखड परिसरमा चरम लापरबाही छ। कर्मचारीले सेवा प्रवाहमा ढिलासुस्ती गरिरहँदा बढेको सेवाग्राहीको चापले कोरोना जोखिम निकै बढाएको छ। कार्यालय परिसरमा बिहानदेखि साँझसम्म अत्यधिक सेवाग्राही हुन्छन् तर स्वास्थ्य सतर्कता भने कसैले अपनाएका हुँदैनन्।
‘नागरिकताको लागि लाइनमा लागेको दुई दिन भइसक्यो, भिडभाड धेरै छ। सामाजिक दूरी त कसैले पालना नै गरेका छैनन्,’ सेवाग्राही हिरा रावतले भनिन्, ‘नागरिकता बनाउन नपाउँदै कोरोना सङ्क्रमित पो भइने हो कि भन्ने डर छ।’दोस्रो लहरको कोरोना सङ्क्रमण कम हुँदै गएपछि भदौ १० गतेदेखि इलाका प्रशासन कार्यालय सुखडले बारअनुसार पुनः सेवा प्रवाह गर्न थालेको छ।
‘इलाका प्रशासन कार्यालय सुखडले बिहीबार र शुक्रवार सेवा दिने भनेर सूचना निकालेको थियो। सोही अनुसार बिहीबार नागरिकता बनाउन एक दिनभरिको जोखिमपूर्ण बाटो हिँडेर अर्को दिन सुखडको प्रशासन कार्यालयमा पुग्यौं तर त्यहाँ दिउँसोको १२ बजेसम्म कर्मचारी नै कार्यालयमा देखेनौँ,’ मोहन्याल गाउँपालिका– ७ बाट नागरिकता बनाउन आएका दीपक माझीले भने, ‘कर्मचारीको पर्खाइमै १ बज्यो, त्यो दिन कर्मचारी त आए तर समय अभावले काम हुन पाएन। जिल्ला प्रशासन कार्यालय कैलाली, धनगढीबाट सेवा लिन त सजिलो थियो तर के गर्ने धनगढी जान सकिँदैन र सकिए पनि धनगढी पुगेर नागरिकता बनाएर घर पुग्दा त ४ दिन पुरै लाग्छ, चार÷चार दिनसम्म नागरिकताकै लागि १५ हजार खर्च हुन्छ।’
यता इलाका प्रशासन कार्यालय सुखडका प्रमुख बालाराम घिमिरेले भने सेवाग्राहीको चाप कम गर्न बारअनुसार सेवा प्रदान भइरहेको बताए। ‘कोरोनाले बन्द भएका कार्यालयहरू १० गतेदेखि पुनः सुरु भएपछि साउनको १५ गतेबाट इलाका प्रशासन कार्यालयमा भिडभाड बढेको हो,’ उनले भने, ‘नागरिकताका प्रतिलिपि लिने र राहदानी बनाउन आउनेको भिडभाड बढी छ। राष्ट्रिय परिचयपत्रको लागि फोटो खिचाउन आउने र परिचयपत्रका लागि नागरिकता सच्याउन पनि सेवाग्राही आइरहेका छन्। भिडभाडले गर्दा सेवा प्रवाहमा अप्ठ्यारो परिरहेको छ। तर हामीले सक्दो व्यवस्थापन गरिरहेका छौँ।’
इलाका प्रशासन कार्यालय सुखडले कैलालीका चार स्थानीय तह मोहन्याल, बर्दगोरिया गाउँपालिका र गौरीगंगा, घोडाघोडी नगरपालिकाका जनतालाई सेवा प्रदान गर्दै आएको छ। इलाका प्रशासन कार्यालय सुखडले नागरिकता बनाउने, राष्ट्रिय परिचयपत्रको लागि फोटो खिच्ने, राहदानीका लागि सिफारिस गर्ने, नाबालक प्रमाणपत्र प्रमाणित गर्ने लगायतका कामहरू गर्दै आएको छ। कैलाली सुगम मानिएको जिल्ला भए पनि साबिकका सात वटा गाउँ विकास समिति (हालका दुई वटा स्थानीय तह चुरे र मोहन्याल गाउँपालिका) दुर्गम पहाडी क्षेत्रमा पर्छन्। कैलाली जिल्ला ठूलो र भौगोलिक हिसाबले निकै विकट छ।
यसलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले आफ्ना सेवाहरू छिटोछरितो र सजिलो तवरले प्रदान गर्नका लागि जिल्लाका तीन ठाउँबाट सेवा प्रवाह गर्दै आएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले इलाका प्रशासन कार्यालय सुखड, इलाका प्रशासन कार्यालय टीकापुर र जिल्ला प्रशासन कार्यालय धनगढीबाट सेवा प्रदान गर्दै आएको छ। जिल्ला प्रशासन कार्यालय कैलाली, धनगढीले चार वटा स्थानीय निकाय चुरे गाउँपालिका, गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका नागरिकसँगै जिल्लाका सबै ठाउँबाट आउने सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ।