कैलालीको घोडाघोडी नगरपालिकाको साडेपानी बजारबाट वडा कार्यालय हुँदै अघि बढे करिब ३ किलो मिटरको दुरीमा पर्छ बौराह खोला । सो सडक वडा नम्बर ६ तथा वडा नम्बर ८ को केही भूभागका बासिन्दाहरूका लागी मूल सडक हो । साबिकको साडेपानी गाउँ विकास समितिले स्थानीयहरूको आवतजावतलाई केही सहज बनाउन सो नदीमा काठे पुल निर्माण गरेको थियो ।
तत्कालीन अवस्थामा सर्वदलीय संयन्त्र मार्फत आवश्यकता महसुस गरी करिब साढे ३ लाख बजेट विनियोजन गरी काठे पुल निर्माण गरिएको हो । स्थानीय चक्र विष्टले भने,... “पुल निर्माणले स्थानीयको आवतजावतलाई केही सहज बनाई दियो ।” उनका अनुसार आर्थिक वर्ष २०६३/०६४ मा निर्माण भएको पुल मर्मत बाहेक केही हुन सकेन । देशको व्यवस्था नै परिवर्तन भए पनि सो पुलको स्वरूप भने हाल सम्म परिवर्तन हुन सकेको छैन । पूर्ण जीर्ण र जोखिम अवस्थामा त थियो नै सोमबार राती देखीको अविरल वर्षाका कारण आएको बाढीले त झनै सो काठे पुल समेत बगाएको छ ।
काठे पुल बगाउँदा बजारको पहुँचमा पुग्न निकै कठिन हुने भएको छ । यस विषयमा स्थानीय, प्रदेश तथा सङ्घीय सरकारहरूले आफूहरूलाई बेवास्ता गरेको भन्दै स्थानीयहरूले गुनासो गर्ने गर्नेका छन् । अन्य वैकल्पिक बाटाहरू पनि नभएकाले समस्या हुने भए पनि चाडै सो पुल मर्मत गर्ने वडा नम्बर ६ का वडा अध्यक्ष विनोद विश्वकर्माले बताए । लामो समयको प्रयास पछि प्रदेश सरकारले सो ठाउँमा पक्की पुल निर्माणको योजना रातो किताबमा पारी चालु आर्थिक वर्षका लागी १० लाख रुपैयाँ विनियोजन गरेकाले अव चाडै काम सुचारु हुने वडा अध्यक्ष विश्वकर्माको विश्वास छ ।
प्रदेश सरकारले विनियोजन गरेको १० लाखले पक्की पुल निर्माण हुनै नसक्ने तथा बहुवर्षिय योजनाका रूपमा अघि बढाउँदा त्यहाँका स्थानीयहरूको समस्या विद्यमान रहने भन्दै प्रदेश सरकारको समेत आलोचना हुन थालेको छ । कतिपयले प्रदेश सरकारले जनतालाई आश्वासन मात्रै बाढेको भन्दै टिप्पणी समेत गर्न थालेका छन् । तर यता प्रदेश सांसद अमर बहादुर साउदले भने योजना रातो किताबमा पर्ने कुराले अर्थ नराख्ने बताउँछन् । सरकारले पूर्णता पाउने बित्तिकै टेन्डर प्रक्रिया सुरु हुने र आफ्नो कार्यकाल भित्र सो ठाउँमा पक्की पुल निर्माण गरी सक्ने उनको दाबी छ ।
पालिकाको वडा नम्बर ८ तारा नगर, वडा नम्बर २ साडेपानी र बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ४ मुडा बजार हुँदै वडा नम्बर ६ मा पुग्न सकिने भए पनि स्थानीयहरूको मूल बाटो नै बौराह खोलाको पुल हो । यो बाटो बाहेक अन्य ठाउँबाट ग्राभेलको अभावले बर्सादमा हिँड्न समेत निकै कठिन हुने गरेको छ ।