प्राथमिकतामा परेन सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग
2021/09/01, 11:07
 
dd

सुदूरपश्चिमको समृद्धिसँग जोडिएको भनिएको बहुप्रतीक्षित सेती लोकमार्गको निर्माणमा निकै ढिलासुस्ती भइरहेको छ । लोकमार्गको निर्माण स्थानीय, प्रदेश र केन्द्र सरकारको प्राथमिकतामा नपरेको स्थानीयवासीको बुझाइ छ । बर्सेनि बजेट फ्रिज हुने र समयमा ठेक्का नलागेर निर्माण अघि बढ्न सकेको छैन । योजना कार्यालय कर्मचारीविहीन छ । 

सेती लोकमार्ग निर्माणको चर्चा एक दशकअघिदेखि नै चलेको भए पनि अहिलेसम्म अपेक्षाअनुसार कामले गति लिन नसक्नुमा सरोकारवालाको कमजोरी रहेको स्थानीयको भनाइ छ । २०७२ भदौ ३१ गतेको सरकारको निर्णयानुसार सेती लोकमार्ग सडक योजना अछाममा स्थापना भएको हो ।

कैलालीको टीकापुरदेखि बझाङको चैनपुरसम्म सेती लोकमार्गको लम्बाइ २ सय ४२ किलोमिटर रहेको योजना कार्यालयले जनाएको छ । जसमा उत्तरीखण्डको लम्बाइ १ सय १० किलोमिटर छ । सन २०१२ मा आयोजनाको डीपीआर तयार भएको थियो । आयोजनाले भारत र चीन दुई छिमेकी देशको नाकालाई छोएको छ । टीकापुर नाकाबाट भारत र तलकोट बझाङले चीनलाई छोएको छ ।

टीकापुर–खप्तड छान्ना गाउँपालिका (बझाङ) र खप्तड छान्ना गाउँपालिका (बझाङ)–तल्कोट गरी आयोजनालाई दुई खण्डमा विभाजन गरिएको छ । सेती लोकमार्ग निर्माणलाई तीव्रता दिन भन्दै सरकारले दक्षिणी खण्डको निर्माणका लागि अछामको साँफेबगर र उत्तरी खण्डका लागि बझाङको चैनपुरमा छुट्टाछुट्टै आयोजना कार्यालय स्थापना गरेको छ ।

सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट अछामको साँफेबगर जोड्ने एक मात्र सडकको लम्बाइ अहिले करिब २ सय ७० किलोमिटर रहेकोमा सेती लोकमार्ग निर्माण भएपछि त्यो मार्गको लम्बाइ १ सय ३५ किलोमिटरमा झर्नेछ । ‘सेती लोकमार्ग निर्माण भएपछि बिहान कैलाली गएर साँझ अछाममा पुग्न सकिन्छ । करिब १ सय ३५ किलोमिटर दूरी कम हुनेछ । यो काम समयमै सम्पन्न होस भन्नका लागि हामी लागिरहेका छौं,’ जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवरले भने, ‘सडक बनेपछि यस क्षेत्रका बासिन्दाहरूको आवतजावतमा समय र खर्च आधाभन्दा कम हुनेछ ।