बढे शुक्लाफाँटामा बाघ
2021/09/03, 2:01
 
kk

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ बढेका । सन् २०१८ मा १६ पाटेबाघ रहेकामा अहिले १९ पुगेको छ । गत जेठ महिनामा गरिएका गणनामा बाघको सङ्ख्या बृद्धि भएकोे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनलले आज यहाँ आयोजित कार्यक्रममा बाघको सङ्ख्या बृद्धि भएको जानकारी दिए  । उनले स्वचालित क्यामेरा विधिबाट बाघ गणना गरिएको बताए  । “जेठ ४ देखि २३ गतेसम्म गरिएको गणनामा बाघको सङ्ख्या वृद्धि हुनुका साथै थप वृद्धि हुने आशा पलाएको छ ।” उनले भने , “यो सङ्ख्या घटेको पनि होइन, धेरै बढेको नभए पनि सुधारको लक्षण देखियो ।”

उनले निकुञ्जमा ११ पोथी, छ भाले, लिङ्ग पहिचान नभएको एक र वस्यक पाटेबाघ रहेको जानकारी दिए   । तीन सय छ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा बाघ गणनाका लागि ८९ क्यामेरा जडान गरिएको थियो । गणनामा निकुञ्ज, प्रकृति संरक्षण कोष शुक्लाफाँटा र नेपाली सेनाको देवीदल गणको संयुक्त टोली परिचालन गरिएको थियो ।

“गणना अघि खटिने ३३ जना कर्मचारीलाई तालिमसमेत दिइएको थियो ।” प्रमुख संरक्षण अधिकृत पुनले भने , “गणनामा आर्थिक र प्राविधिक सहयोग जेडएसएल नामक संस्थाले ग¥यो ।” शुक्लाफाँटामा बाघका लागि आहार प्रजातिको सहज उपलब्धता हुनु, चोरी शिकारी नियन्त्रणलगायतका कारणले वृद्धि भएको हो ।

त्यसैगरी प्रकृति संरक्षण कोष, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लक्ष्मीराज जोशीले चारैतिर मानव बस्ती र नेपाल–भारत सिमानासित समेत जोडिएकाले बाघ संरक्षणमा चुनौती रहेको बताए  । सन् २०१० मा सरकारले मुलुकमा बाघको सङ्ख्या २५० पु¥याउने लक्ष्य लिएको बताउँदै हाल २३५ को हाराहारीमा बाघ पुगिसकेको जानकारी दिए  ।

विसं २०२६ मा शाही शिकार आरक्ष रहेको शुक्लाफाँटा २०७३ फागुनमा सरकारले राष्ट्रिय निकुञ्जका रुपमा विकास गरेको थियो । निकुञ्जमा गत आर्थिक वर्षमा चोरी शिकारी र वन पैदावारतर्फ गरी ४१ वटा मुद्दा दायर भएको निकुञ्ज कार्यालयले जनाएको छ । जसमध्ये ३२ वटा मुद्दा फाच्र्यौट भइसकेका छन् ।

प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले यहाँ दरबन्दीसहितको वन्यजन्तु उद्धार केन्द्रको आवश्यकता रहेको बताए  । “बाघका लागि शुक्लाफाँटा उत्कृष्ट वासस्थानका रुपमा रहेको छ ।” उनले भने , “कुनै बेला यो एसियाकै सबैभन्दा बढी बाघको घनत्व भएको क्षेत्रको रुपमा परिचित थियो ।”