कञ्चनपुरका विद्यालयले अनुमति पाए भातिक रुपमै कक्षा सञ्चालन गर्ने
2021/09/04, 12:23
 
dd

कञ्चनपुरको पुनर्वास नगरपालिकाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरुले नगरपालिकाको शिक्षा शाखाले विद्यालय सञ्चालन गर्न अनुमति दिए पठनपाठन सुरु गर्न आफुहरु तयार रहेको बताएका छन्।  शुक्रबार अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयको सहयोगमा मानव अधिकार समूहले पुनर्वास नगरपालिकामा आयोजना गरेको शिक्षा अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक सम्वाद कार्यक्रममा बोल्दै उनीहरुले अनुमति पाए स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी कक्षा सञ्चालन गरिने बताएका हुन्।

सम्वाद कार्यक्रमा बोल्दै दुर्गा माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्णा कुमारी गुरुङ्गले नगरपालिकाको शिक्षा शाखाले विद्यालयहरुलाई बेवास्ता गरेको गुनासो गरिन्।  आफू विद्यालयको अध्यक्ष भएको ८ वर्ष भइसकेको अवस्थामा १ दिन पनि शिक्षा शाखाले समन्वय नगरेको उनको गुनासो थियो।  

नमूना आधारभूत विद्यालयका अध्यक्ष कोपीला ओलीले विद्यालय सञ्चालन नहुँदा बालबालिकाहरु रोजगारीका लागि भारत गइरहेको तथा विभिन्न दुव्र्यसनमा फस्ने सम्भावना दिन प्रतिदिन बढ्दै गइरहेको बताइन्। उनले उक्त विषयमा सरोकारवालाहरुको ध्यान जान जरुरी भएको बताइन।

यस्तै दुर्गा माविका प्रधानाध्यापक विनोद चन्दले सरकारले वितरण गर्ने भनेको ‘सियूजी’ सिम कार्ड लागि विद्यार्थीहरुलाई फाराम भर्न आव्हान गरेकोमा ७ सय विद्यार्थी भएको आफ्नो विद्यालयमा ६७ वटा मात्रै आवेदन परेकोले अनलाइन कक्षा प्रभावकारी नहुने बताए।  सिम कार्ड मात्रै वितरण गर्नु भनेको गरिब तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुको परिवारमा कलह निम्त्याउनु भएको उनको तर्क थियो। विद्यालयले सिम वितरण गर्ने भएपछि बालबालिकाहरुले मोबाइल किन्न अभिभावकहरुलाई दबाब दिन थालेको उनले बताए। 

जनकल्याण माविका प्रधानाध्यापक रामनारायण कडेलले मोबाइलको नेटवर्क समेत नआउने पुनर्वास जस्तो ग्रामीण क्षेत्रमा अनलाइन कक्षा प्रभावकारी हुनै नसक्ने बताए। उनले भौतिक रुपमै विद्यालय सञ्चालन गर्ने अनुमतिका लागि नगरपालिकामा निवदन पेश गरेकोले अनुमति पाउने बित्तिकै कक्षा सुरु हुने बताए।

कार्यक्रमा मानवअधिकार समूहका सदस्य रुपेश खरेलले राजनीतीक दलका कार्यक्रम गर्दा, जुलुस गर्दा, बजार सञ्चालन गर्दा, सार्वजनिक सवारीहरु चलाउँदा, भिडभाड हुने मालपोत कार्यालय तथा नगरपालिका जस्ता कार्यालय सञ्चालन गर्दा, मेला पर्वहरु मनाउँदा कोरोना नसर्ने तर विद्यालय सञ्चालन गर्दा कोरोना सर्ने कुरा कुर्तक भएको बताए। 

पुनर्वास नगरपालिकाका शिक्षा शाखा प्रमुख भक्तबहादुर रोकायाले विद्यालय सञ्चालन तथा बन्द गर्ने अधिकार स्थानीय तहलाई नभएकोले कोरोना रोकथाम तथा नियन्त्रण समितिको निर्देशन कुर्नुपर्ने अवस्था रहेको जानकारी दिए।  

कार्यक्रमा बोल्दै मानव अधिकार समूहका संयोजक पर्शुराम विश्वकर्माले कोरोना महामारीका  कारण पछिल्ला २ वटा शैक्षिक सत्रमा असर परेकाले शिक्षण शिकाईको स्तर वृद्धिमा सचेत रहन सरोकारवालाहरुलाई आग्रह गरेका थिए।