विदेशी सहित एक हजार पर्यटकद्वारा डल्फिन अवलोकन
2021/09/09, 9:58
 
V

कैलालीमा देखिने विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिका डल्फिनलाई यसवर्ष विदेशीसहित करिब एक हजार पर्यटकले अवलोकन गरेका छन् । टीकापुर र भजनी नगरपालिकाको डल्फिन सर्किट क्षेत्रमा पुगेर उनीहरुले अवलोकन गरेका हुन । कोरोना महामारीलाई बेवास्ता गर्दै फ्रान्स र नेदरल्याण्ड्सका दुई जना विदेशी पर्यटक, भारतीय पर्यटकसहित आन्तरिक पर्यटकले डल्फिन हेरेर रमाएको संरक्षणमा क्रियाशील डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिए ।

उनले भारतको असमबाटसमेत यो वर्ष डल्फिन अवलोकनका लागि पर्यटक आएको बताए । यहाँका असमवासीले नेपालमा समुदायस्तरबाट भइरहेको संरक्षणको प्रशंसा गरेका छन् । साथै, उनीहरुले नेपालमा राम्ररी डल्फिन देखिने गरेकाले संरक्षणमा अझ क्रियाशील हुन आग्रह गरेका छन् ।डल्फिन संरक्षणका लागि आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमको क्रममामात्रै दुई सयभन्दा बढी आन्तरिक पर्यटकले डल्फिन अवलोकन गरेको जनाइएको छ । सबैभन्दा बढी बर्दियाबाट आन्तरिक पर्यटक आएको ढुङ्गानाले जानकारी दिए ।

कैलालीको कर्णाली, मोहना, पथरैया, काँढा, कान्द्रा नदी, गैरी खोला लगायत नदीनालामा बर्खाभरि डल्फिन देखिने गर्दछन् । नदीहरुमा पानीको सहत घटेपछि गहिराई खोज्दै पुनः कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा जानेका गरेका छन् । यसैबीच, गतसाता यहाँ डल्फिन गणना पनि गरिएको छ । डाब्स् नेपालले डल्फिन गणना गरेको हो । सो क्रममा ६५ देखि ७० को हाराहारीमा देखा परेको जनाइएको छ । 

डल्फिन संरक्षित क्षेत्रको १३ स्थानमा एक साथ गणना गरिएको थियो । विहान ७ बजेदेखि १० बजेसम्मको समय सीमा तोकेर अवलोकन विधिबाट डल्फिन गणना गरिएको ढुङ्गानाले जानकारी दिए । एनका अनुसार १३ वटै स्थानमा एक साथ अवलोकन गरेर सङ्ख्या तोकिएको हो । यद्यपि, त्यसको प्राविधिक विश्लेषण भइरहेका कारण अन्तिम नतिजा आउन बाँकी रहेको छ । अवलोकनबाट प्राप्त तथ्याङ्कको प्राविधिक विश्लेषण प्राणीविद डा. मुकेशकुमार चाालिसेले गरिरहेका छन् ।

डल्फिन गणनाका लागि अहिलेसम्म अरु कुनै विधि नरहेका कारण फरक–फरक स्थानमा एकैसाथ अवलोकन गरेर डल्फिन गणना गरिएको अध्यक्ष ढुङ्गानाले बताए ।स्थानीय गणकहरुले बैरी झरन, बाउन्नघार उत्तर पुरुवा, मोहना–पथरैया नदीको दोभान, पथरैया–काँढा नदीको दोभान, पथरैया नदी–गैरी खोलाको दोभान, जनकपुरघाट जमरा कुलोको दोभानमा डल्फिन गणना गरेका थिए । यसैगरी, मोहना नदी र रेप्ती नालाको दोभान, मारियाघाट–कुसुमघाट, मोहना–कान्द्रा नदीको सङ्गम स्थान, तिला घाट, खक्रौला घाट, सत्ती पुल र मोहना–कर्णाली नदीको दोभान (चौगुर्दी घाट¬¬) मा डल्फिन गणना गरिएको हो । 

यी ठाउँहरुमध्ये मोहना–पथरैया नदीको दोभान, पथरैया–काँढा नदीको दोभान, पथरैया नदी–गैरी खोलाको दोभानमा सबैभन्दा बढी डल्फिन देखिएको जनाइएको छ । यसअघि, विक्रम सम्वत २०७३ मा गरिएको गणनामा ६५ र २०७५ सालमा गरिएको गणनाको क्रममा ५५ डल्फिन अभिलेख गरिएको थियो । यो वर्ष डल्फिनको उपस्थिति अत्यन्त राम्रो रहेको उल्लेख गर्दै एकै स्थानमा एक साथ १५ वटासम्म डल्फिन देखा परेको अध्यक्ष ढुङ्गानाले बताए ।

कैलालीमा मनसुन सिजन अवधिभरि देखिदैं आएका डल्फिनको संरक्षण स्थानीयस्तरबाट भइरहेको छ । झन्डै दुई दशकदेखि स्थानीय व्यक्ति संरक्षणमा क्रियाशील छन् । उनीहरुले संरक्षणकर्मी भोजराज श्रेष्ठको नेतृत्वमा डल्फिन संरक्षण गर्दै आएका छन् ।