विक्रम सम्वत २०४९ सालमा हिम्मतपुर गाउँ नेपाल–भारत सीमा क्षेत्र नजिक बसेको थियो । तर, त्यहाँ बसेको दशक नबित्दै सिङ्गो गाउँ नै विस्थापित हुन पुग्यो । २०५८ सालमा आएको बाढी र भएको डुबानका कारण साविक स्थानमा गाउँ सुरक्षित थिएन । त्यसैमाथि थपियो, नदीको कटान समस्या । कटानका कारण कैलालीको भजनी नगरपालिका–७ स्थित हिम्मतपुर गाउँ साविकको स्थानमा रहन सकेन । गाउँको उठिबास भयो । नदीका कारण विस्थापित गाउँ उत्तरतिर सरेको थियो ।
नदीले कैयौं बिघा जमिन कटान ग¥यो । हाल त्यो जमिन पारि छ । जसमध्ये करिब १२ बिघा जमिन भारतीय नागरिकले खनजोत गर्दै आएका छन् । ‘नदीले बस्ती त सुरक्षित रहन सकेन । कटानका कारण केही बिघा जमिन पनि गुम्यो’, स्थानीय दलबहादुर कुमालले भने । पारि गइसकेकोमध्ये केही जमिन भने हिम्मतपुरवासीहरुले उपभोग गरिरहेको उनले जनाए ।नदीका कारण जोखिममा परेपछि २० वर्ष अगाडि उत्तरतिर विस्थापित भएका थिए, हिम्मतपुरवासी । तर, दुई दशकपछि फेरि उनीहरुको उठिबास सुरु भएको छ । मोहना नदीका कारण पुनः सिङ्गो गाउँ जोखिममा परेपछि उठिबास हुन थालेको हो । नदीको कटानका कारण यसवर्ष १३ घरपरिवार विस्थापित भएका छन् ।
जमिन कटान गर्दै नदी बस्तीमा सोझिएपछि उनीहरु विस्थापित भएका हुन । कटानको कारण विस्थापित भएका परिवार बसन्ता वन क्षेत्रको जमिनमा झुप्रो हालेर बस्न बाध्य भएका छन् । नदीले बगाउने अवस्था सृजना भएपछि बर्खा याममा घर उजारेर अन्यत्र विस्थापित हुनु परेको विपद् प्रभावित किशन चौधरीले बताए । ‘धमाधम कटान भएर ज्यान जोखिममा प¥यो’, उनले भने । ‘नदीले बगाउने अवस्था आएपछि बाध्य भएर विस्थापित भयौं ।’
हिम्मतपुर गाउँमा १०१ परिवारको बसोबास रहेको छ । नदी कटान गर्दै बस्ती नजिक पुगेपछि बर्खाभरि सो गाउँका बासिन्दा चयनको निन्द्रा सुत्न सकेनन् । कुन, बेला ठूलो बाढी आउने हो र, बगाउने हो भन्ने त्रासले उनीहरुलाई पिरोलिरह्यो । ‘हामी त्रासमा बाँचिरहेका छौं’, स्थानीय छल्लु चौधरीले भने । ‘बर्खामा डरले रातभरि सुत्न सक्दैनौं । कुन राति घर नदीमा गइहाल्ने हो भन्ने चिन्ताले पिरोलिरहन्छ ।’
विगतमा मोहना नदी गाउँभन्दा केहि पर थियो । कटान पनि कमै हुन्थ्यो । तर, यसवर्ष भने साउनदेखि नै नदीले कटान गरिरहेको छ । गाउँवासीका अनुसार पहिले ‘ओभर फ्लो’ भएर गाउँमा डुबान हुन्थ्यो । यो वर्षदेखि भने कटान भइरहेको छ ।
स्थानीयले गाउँ जोगाउनका लागि नदी किनारमा परम्परागत रुपमा माटोको बाँध बनाएका थिए । बाढीले त्यो बाँधसमेत कटान गरेको छ । केही हद्सम्म सुरक्षित बनाएको बाँध नरहेपछि नदी गाउँ पस्ने खतरा कुमालको भनाइ छ ।‘बाँध हुँदासम्म सुरक्षित थियौं’, उनले भने–‘तर, अब गाउँ सुरक्षित छैन । बाँच्नलाई विस्थापित हुनुको विकल्प देखिन्न ।’
स्थानीयले नदीमा तटबन्ध बनाउनका लागि विभिन्न निकायसंग गुहार माँगेका थिए । उनीहरुले आफ्नो समस्या पूर्वमन्त्री गौरीशङ्कर चौधरीलाई पनि सुनाएका थिए । ‘उहाँले तटबन्ध निर्माणका लागि सङ्घीय सरकार समक्ष पहल गर्ने आश्वसन दिनु भएको थियो’, हिम्मतपुरका भलमन्सा बालकिशन चौधरीले भने । ‘तर, तटबन्ध मिलेन । आश्वसनमै सीमित हुँदा गाउँवासीको उठीबास हुन लाग्यो ।’ हिम्मतपुर गाउँ निर्वाचन क्षेत्र नम्बर ३ मा पदर्छ । गौरीशङ्करले सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभामा चुनाव जितेका थिए ।
बेलैमा तटबन्ध निर्माण गरिएको भए कटान नहुने र बस्ती पनि जोगिने स्थानीय बताउँछन् । उनीहरुले तटबन्ध बनाइएमा बस्तीमात्रै नभइ उर्वर भूमि पनि जोगिने सुनाउँछन् । नदीका कारण कैयौं बिघा जमिनमा खेतीबालीमात्रै प्रभावित नभइ खेतीयोग्य जमिन पनि घटिरहेको भलमन्सा चौधरीले बताए । ‘जमिन कटान हुँँदै गएको छ’, उनले भने ।
नदीको कटानका कारण विस्थापित भएका परिवार हाल बसन्ता वन क्षेत्रको जमिनमा बसिरहेका छन् । उनीहरुको उचित बसोबासको व्यवस्था मिलाउनका लागि स्थानीय सरकारलाई आग्रह गरेको भलमन्सा चौधरीले बताए ।