विद्यालय जान पाएपछि विद्यार्थी उत्साहित
2021/09/14, 10:31
 
aa

कोरोनाका कारण विद्यालय बन्द भएपछि विद्यार्थी निरज चौधरीको धेरै समय गैर सिकाइमूलक कार्यमा बित्यो । धनगढी उपमहानगरपालिका–७ मनहेरास्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत उनी, बढी समय खेल्नमै बिताए । कक्षा छ मा पुगेका उनी, कहिले खोलामा माछा मार्न जाने गर्थे । त, कहिले साथीहरुसंग खेल्न । ‘बल्छी पनि खुब लगाइयो’, उनी भन्छन् । ‘विद्यालय खुलेपछि खुशीका साथ स्कुल गइरहेको छु ।’ कक्षा छ मा पुगेको बेला बल्ल विद्यालय जान पाएकोमा उनले खुशी व्यक्त गरे । ‘विद्यालय जाँदा राम्रो लाग्छ’, निरज भन्छन् । 

विद्यालय नखुल्दा नयाँ शैक्षिक सत्र सुरु भएको अढाई महिनासम्म गैर सिकाइमूलक कार्यमा समय बिताएका कैलालीका विद्यार्थी अहिले उत्साहित भएका छन् ।  विद्यालय जान पाउँदा उनीहरु खुशी भएका हुन । कोरोना महामारीका कारण गत वैशाखदेखि विद्यालय बन्द गरिएको थियो । झन्डै पाँच महिनापछि गएको आइतबारबाट विद्यालय पूर्ण रुपमा खोलिएको छ । ‘छ पास गरेर सात कक्षामा पुगेकाले विद्यालय जान हतार भएको थियो’, रामपुरस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत स्वप्निल चौधरीले भने । ‘अहिले आएर बल्ल विद्यालय गएर नयाँ कक्षामा पढ्न पाउँदा खुशी लागेको छ ।’ आफ्नो विद्यालयले दुई ‘सिफ्ट’ गरेर पढाउने गरेको र आफूहरुको कक्षा ११ बजेपछि सुरु हुने गरेको उनले जानकारी दिए । 

गत वैशाखबाट दोस्रो लहरको कोरोना महामारी बढेसंगै मुलुकभरि नै बन्दाबन्दी गरिएको थियो । सरकारले यसअघि नै बन्दाबन्दी खुकुलो पारे पनि विद्यालय सञ्चालनको अनुमति भने दिएको थिएन । विद्यालय सञ्चालन नहुँदा विद्यार्थीले मोबाइल गेम खेल्ने, खेत, कुलोमा बल्छी खेल्ने जस्ता गैरसिकाइमूलक कार्य गर्दै आएका थिए । विद्यालय सञ्चालन नभएपछि पढ्ने बानी नै बिग्रेको उल्लेख गर्दै पवेरास्थित जन कल्याण माध्यमिक विद्यालय अध्ययनरत विद्यार्थी सरस्वती चौधरीले अब विद्यालय जान पाउँदा खुशी लागेको उल्लेख गरिन । ‘विद्यालय नखुलेको बेला दिनभरि घरमै बस्नु पर्ने बाध्यता थियो’, उनले भनिन् । ‘विद्यालय खुलेपछि साथीभाईसंग भेटघाट गर्न पाएको छु । विद्यालयमा समय बितेको पत्तै हुँदैन ।’ 

कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि विद्यार्थीको सिकाइ प्रणालीमा ठूलो असर परेको छ । उनीहरु धेरै समय खेल्नमै बिताएकाले बानी बिग्रिसकेको छ । विद्यार्थीको सिकाइमा असर पर्न नदिनका लागि इन्टरनेटको पहुँचमा रहेका क्षेत्रमा भर्चुअल (अनलाइन) विधिबाट पठनपाठन गराइएको थियो । तर, सो सुविधाबाट बञ्चित ग्रामीण क्षेत्रका विद्यार्थी खेल्नमै तल्लिन रहेका थिए । यो जिल्लामा सङ्क्रमण घटेपछि केही दिन अगाडि कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले विद्याल सञ्चालन गर्न पाइने निर्णय गरेको थियो । सो निर्णयपछि सरकारी, निजी धेरै विद्यालय खुलेका छन् ।

डीसीसीएमसीको निर्णय अनुसार स्मार्ट लकडाउनको कार्यविधिको परिभित्र रहेर विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय कैलालीले आदेश जारी गरेको छ । यसैगरी, यो जिल्ला अझै पनि ‘रेड जोन’ मा रहेकाले सकेसम्म अनलाइबाट नै पठनपाठन गर्न सुझाव दिइएको छ । विद्यालय खुलेपछि कतिपय विद्यार्थी भने मास्क नलगाएरै विद्यालय जाने गरेको देखिएको छ । खासगरी, ग्रामीण क्षेत्रमा विद्यार्थीले न मास्क लगाउने गरेका छन् न त सामाजिक दूरी कायम गर्ने गरेका छन् । यसले सङ्क्रमणको जोखिम हुन सक्ने देखिएको छ ।

जिल्लामा धेरैजसो विद्यालयहरु सञ्चालन भइरहेको र स्थानीय तहले आ–आफ्नै किसिमले सञ्चालन गर्न अनुमति दिएको शिक्षा समन्वय इकाईका प्रतापसिंह धामीले बताए । ‘कतिपय विद्यालयमा दुई चरणमा कक्षा सञ्चालन भइरहेको छ भने कतिपय विद्यालयहरु एकैसाथ सबै कक्षा सञ्चालन भइरहेका छन्’, उनले भने । कोरोना महामारी घटेपछि विद्यालय सञ्चालन गरिएको हो । यो जिल्लामा कलेजमासमेत भौतिक उपस्थितिमा पढाई सुरु गरिएको छ । कैलालीमा ५७३ वटा सामुदायिक र ३५५ वटा संस्थागत गरी जम्मा ९२८ वटा विद्यालय रहेका छन् । यो जिल्लामा बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म गरेर दुई लाख १५ हजार ७२१ जना विद्यार्थी रहेका छन् ।