कञ्चनपुरको बेदकोट नगरपालिका–७ मा भजनकीर्तन समूहमा आवद्ध भएर मासिक पाँच बचत गर्दै आएका महिलाले सहकारी सञ्चालनमा ल्याएका छन्। बेदकोट र भीमदत्त नगरपालिकालाई कार्यक्षेत्र बनाएर महिलाले बैजनाथ महिला बहुद्देश्यीय सहकारी संस्था सञ्चालनमा ल्याएका छन।
महिला अधिकारकर्मी तुलसी जोशीको नेतृत्वमा विसं २०६० मा बैजनाथ भजनकीर्तन समूह खोलिएको थियो । त्यसलाई अहिले सहकारी बनाइएको छ। सहकारीका अध्यक्ष जोशीले ग्रामीण क्षेत्रका महिलाको आर्थिक उत्थानका लागि सहकारी सञ्चालमा ल्याइएको बताए। उनका अुनसार सहकारीमा १२० शेयर सदस्यसहित रु २१ लाख पूँजी सङ्कलन गरिएको छ।
सहकारीका लेखा समिति संयोजक पूजा भट्टले भजनकीर्तन मण्डली समूहले गत वर्षको फागुनमा भेला गरी सहकारी खोल्ने निर्णय गरेको बताए। भदौ २० गते सहकारी दर्ता भई सञ्चालनमा ल्याइएको जानकारी दिए। सहकारी महासङ्घका केन्द्रीय सदस्य माधव जोशीले महिला समूहको जागरणबाट खोलिएको सहकारीले नीति, सिद्धान्तअनुसार सञ्चालन भएर काम गर्ने विश्वास व्यक्त गरे।