दुर्गालक्ष्मी प्राविधिक नमुना विद्यालयले मनायो विज्ञान दिवस !
2021/09/17, 1:06
 
dd

अत्तरिया स्थित दुर्गालक्ष्मी प्राविधिक नमुना विद्यालयले विविध कार्यक्रमहरू गरि ९ औं विज्ञान दिवस मनाएको छ । विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विज्ञान प्रदर्शनी, विज्ञान प्रविधिका विविध विषयमा चर्चापरिचर्चा तथा सूचनामूलक गतिविधिहरु सञ्चालन भएका थिए ।

विज्ञान तथा प्रविधि सँग सम्बन्धित विभिन्न सामग्रीको प्रदर्शनी कार्यक्रमको मूख्य आकर्षण रह्यो । विद्यार्थीहरुले निर्माण गरेका विभिन्न काम गर्ने रोबोट, पानीघट्ट, हावाबाट बिजुली निकाल्ने प्रविधि, स्वचालित सडक बत्ति, बनस्पतिबाट बिजुली लगायत चार दर्जन बढी प्राविधिक सामग्रीहरु प्रदर्शनी गरिएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थी तथा विद्यालय बाहिरका व्यक्तिहरुले प्रदर्शनी अवलोकन गरेका थिए ।

कार्यक्रममा शिक्षकहरू राजाराम चौधरी, बिक्रम खड्का, सुरेश धामी, किरण भट्ट, केपिसी थापा, डिल्लीराज जोशी लगायतले विज्ञान प्रविधिका विविध विषयमा आफ्ना धारणा राखेका थिए । राज्यले आवस्यक सहयोग गरेमा व्यवहारिक उपयोगका लागि पनि सामग्रीहरु बनाउन सकिने सहभागी विद्यार्थीहरूले बताएका छन् । विद्यार्थीका सबैखाले रचनात्मक क्रियाकलापमा विद्यालयले सक्द‍ो सहयोग गर्ने कुरा विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले बताए ।

विज्ञान तथा प्रविधि समुहका संयोजक अनिल ओझाको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सहजीकरण जनक रसिकले गरेका थिए । दुर्गालक्षमी प्राविधिक नमुना विद्यालयले प्रत्येक वर्ष विज्ञान दिवस मनाउँदै आएको छ । यो वर्षको राष्ट्रिय विज्ञान दिवसको नारा "विज्ञान र प्रविधिको उन्नत विकास : प्रक‍ोप र महामारीबाट सहज निकास !" रहेको छ ।