सुदूरपश्चिममा शनिबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकाका ५० वर्षिय पुरूषको कोभिड संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। प्रदेशमा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ९ सय २७ जनाको परीक्षण गर्दा थप ४६ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ९९ जनाको पीसीआर परीक्षण गर्दा ४४ जना संक्रमित पाइएका छन् भने, ८ सय २८ जनाको नमूना एन्टिजेन विधिबाट परीक्षण गर्दा थप २ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७६ जनाको कोरोना परीक्षण भएकोमा ३८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै डडेल्धुरा अस्पतालमा १४ जनाको परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको छ।
सुदूरपश्चिममा हालसम्म पीसीआर र एन्टिजेन विधिबाट गरि ३ लाख ३५ हजार ७ सय १५ जनाको नमूना परीक्षण भएकोमा ४६ हजार ८ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने, ५ सय ८९ जनाले ज्यान गुमाइसकेको छन्।