प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा अनन्त चतुर्दशीको मेला शुरु
2021/09/19, 11:15
 
dd

प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्रा सुरु भएको छ। हरेक वर्ष अनन्त चतुर्दशीका दिन सो मन्दिरमा ठूलो जात्रा लाग्ने गरेको भए पनि भाद्र शुक्ल त्रयोदशीबाट सुरु भई भाद्र शुक्ल पूर्णिमाका दिन सकिन्छ।

यो मेलालाई स्थानीय भाषामा ठूली जात भनिने र धेरै श्रद्धालुहरुले तीन रात मन्दिरमा बस्ने चलन रहेकाले निकै घुँइचो लाग्ने गरेको छ। यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन रही आएको छ। मेलामा निङ्गलाशैनी भगवतीको भण्डार घरबाट भण्डार ल्याएर मन्दिरमा राख्ने र पूर्णिमाको बिहान फेरी घरमै पु¥याइन्छ । साथै सोराडी र बैतडाको जात यो मेलाको मुख्य आकर्षण हो।

निङ्गलाशैनी भगवती मन्दिरमा असोज र चैतको महिना लाग्ने जात्रामा बली दिने चलन रही आएको भए पनि यो जात्रामा भने बली दिने चलन नरहेको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष रनबहादुर बोहराले बताए। निङ्गलाशैनी भगवती मन्दिरमा हरेक महिना नित्य पूजाआजा हुने गरेको र विशेष पर्वमा जात्रा लाग्ने गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए। दशैँको बेला महाष्टमीको दिन सो मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ।

पौष शुक्ल पूर्णिमा, चैतको नवरात्री, अनन्त चतुर्दशीको अवसरमा मन्दिरमा विशेष पूजाआजासहित मेला लाग्ने गरेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ। निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ। जात्रामा नेपाल र भारतका विभिन्न क्षेत्रका दर्शनार्थी आउने गर्दछन्। अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलामा भीडभाड नहोस् भनेर अस्थायी पसल भने राख्न नदिएको वडाध्यक्ष बोहराले जानकारी दिए। मेला अवधिभर देहीमाण्डौँ बजार क्षेत्रमा मदिरा निषेध गरिएको छ।

गत वर्ष भने कोरोना महामारीका कारण अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला पहिलो पटक रोकिएको थियो। यसैबीच जात्राको अवसरमा दशरथचन्द नगरपालिकाले पनि असोज ३ र ४ गते सार्वजनिक बिदा दिएको छ।