हुलाकी राजमार्गको पुल १० वर्षदेखि अलपत्र
2021/09/20, 4:50
 
dd

कैलालीको भजनी नगरपालिकास्थित कान्द्रा नदीमा निर्माणाधीन पुल १० वर्षदेखि अलपत्र छ । पुलका चारवटा स्पानमध्ये दुईवटाको काम मात्र सकिएको छ । तेस्रोपटक थपिएको म्याद सकिनै लाग्दा पुल कहिले सम्पन्न हुन्छ भन्ने अझै अनिश्चित छ । हुलाकी राजमार्गअन्तर्गत पर्ने यो पुल निर्माणका लागि सरकारले ३१ जेठ २०६८ मा लामा–साल्पा–शेर्पा–विरुवा जेभीसँग सम्झौता गरेको थियो । सम्झौताको १० वर्ष नाघ्दा भौतिक प्रगति भने अहिलेसम्म ७० प्रतिशत मात्र रहेको हुलाकी राजमार्ग आयोजना कार्यालय कैलालीले जनाएको छ ।

४ करोड ४३ लाख रुपैयाँ लागत रहेको पुलको लम्बाइ १ सय मिटर र चौडाइ ७.२ मिटर रहने स्टिमेट छ । पुल निर्माणको काम अहिले पनि ठप्प छ । ठेकेदारले दशकसम्म काम अलपत्र पार्दा सम्बन्धित निकायले समेत पुल निर्माणमा चासो नदेखाएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन् । भजनी नगरपालिका–५ का स्थानीय गणेश बुढाले पुल निर्माण नहुनुमा ठेकेदारको मात्र नभई सरकारी निकायको समेत लापर्बाही रहेको बताए । ‘सय मिटर लामो पुल १० वर्षसम्म नबन्दा हुलाकी राजमार्ग आयोजना कार्यालय के हेरेर बस्यो ?’ एमाले स्थानीय नेतासमेत रहेका उनले भने, ‘कि ठेकेदारलाई कारबाही गरेर अर्कालाई ठेक्का दिनुपथ्र्यो, कि त्यसैबाट काम गराउन सक्नुपथ्र्यो ।’

आयोजना प्रमुखहरूले आर्थिक लाभ लिएर काम नगर्ने ठेकेदारलाई उन्मुक्ति दिने गरेको बुढाको आरोप छ ।
पुल निर्माण नहुँदा वर्षायाममा जोखिम मोलेर नदी तर्नुपर्ने स्थानीयको बाध्यता हटेको छैन । कान्द्रा नदीमा पुल नभएकै कारण धनगढीदेखि टीकापुरसम्म हुलाकी राजमार्ग पनि सञ्चालनमा आउन सकेको छैन । धनगढीबाट भजनी–टीकापुर पुग्न पूर्व–पश्चिम राजमार्ग भएरभन्दा हुलाकी राजमार्ग छोटो पर्छ । तर, नदी तर्न नसकिने हुँदा हुलाकी राजमार्गमा यातायात चल्न नसकेका स्थानीयले बताएका छन् ।

भजनीका स्थानीय तुलाराम भण्डारीले पुल निर्माणको काम लामो समयदेखि ठप्प रहेको बताए । हरेक वर्ष केही दिन काम गरेर ठेकेदार गायब हुने गरेको उनले बताए । ‘काम भइरहेको छ÷छैन भनेर न सरकारी मान्छे हेर्न आउँछन्, न ठेकेदारलाई मतलव छ,’ भण्डारीले भने, ‘पुल बन्न थालेको १०÷११ वर्ष भइसक्यो, कहिले सकिन्छ भन्ने अहिलेसम्म टुंगो छैन ।’  पुल बन्न सुरु हुँदा नदी पार गर्दाका दुःखका दिन जाने भए भनेर खुसी भएका स्थानीय ढिलासुस्तीले निराश र आक्रोशित छन् । ‘१० वर्षमा आधा सकियो, यही हिसाबले काम हुने हो भने अझै १० वर्ष लाग्ला । हाम्रा दुःख उस्तै छन्,’ भण्डारीले भने ।

थपिएको अवधि पनि सकियो

पुलको काम सक्न तेस्रोपटक थप भएको अवधि पनि साउनमा सकिएको छ । सुरुमा ठेक्का भएपछि पुलको डिजाइन परिवर्तन गरिँदा र पछि ठेकेदारका कारण काममा ढिलाइ भएको हुलाकी सडक आयोजना कार्यालय धनगढीका प्रमुख रामपुकार जैसवालले बताए । उनका अनुसार डिजाइन परिवर्तन भएपछि २०७२ मा निर्माण कम्पनीलाई साढे दुई वर्षको समय दिइएको थियो । सो अवधि ठेकेदारले पिल्लर राख्ने काम पनि गर्न सकेन । २५ असार २०७५ मा निर्माण अवधि सकिएपछि ठेकेदार सम्पर्कविहीन भएको जैसवालले बताए ।

सरकारले गत वर्ष सार्वजनिक खरिद नियमावली संशोधन गर्दै सबै पुराना ठेक्काको म्याद एक वर्ष थप गरेपछि निर्माण कम्पनीले एक वर्ष समय पाएको थियो । सो अवधि गत फागुनमा सकिएको छ । कोरोनाले काम प्रभावित भएपछि आयोजनाहरूमा ६ महिना म्याद थप गर्ने सरकारको निर्णयअनुसार यो पुल निर्माणको अवधि पनि साउनमा सकिँदै छ । तर, ठेकेदारले अहिले काम रोकेको छ ।

कालोसूचीमा राखेर ठेक्का रद्द गर्दा पुल निर्माणको काम थप लम्बिने भएकाले निर्माण कम्पनीलाई कालोसूचीमा नराखिएको उनले बताए । ‘स्पष्टीकरण सोध्ने, धरौटी तान्नेसम्मको कारबाही ग-यौं तर ठेक्का रद्द गर्दा अझ बढी समय लाग्ने भएकाले रद्द गरेनौं,’ जैसवालले भने, ‘अब जतिसक्दो चाँडो काम पूरा गराउँछौं ।’ ठेक्का लिएको लामा–साल्पा–शेर्पा–विरुवा जेभीमध्ये अन्यत्रको ठेक्का अलपत्र पारेकाले लामा कालोसूचीमा परेको । शाल्पा–शेर्पा कम्पनीले नाम फेरेर हिमाली राखेको छ । पुल निर्माणको काम अहिले बिरुवाले गरिरहेको आयोजना प्रमुख जैसवालले बताए ।

पैसा तिरेर नदी तर्नुपर्ने बाध्यता 

कान्द्रा नदीमा निर्माणाधीन पुलले भजनी नगरपालिका–३ ठेकी र वडा नम्बर ५ नयाँ बस्तीलाई जोड्छ । नौवटा वडा रहेको भजनी नगरपालिकाका ५, ७, ९ नम्बर वडा कान्द्रा नदी पारी पर्छन् । नदीमा पुल नहुँदा ५ र ७ वडाका बासिन्दाले वर्षायाममा भजनी बजार, नगरपालिका कार्यालय र नगरका अन्य गाउँ पुग्न सास्ती खेप्नुपर्छ ।

हुलाकी राजमार्गको निर्माणाधीन पुलभन्दा करिब ५ सय मिटर उत्तरमा सानो काठको पुल राखिएको छ, जहाँबाट नदी तरेको पैसा तिर्नुपर्छ । नगरपालिकासँगको सम्झौतामा ठेकेदारले काठको पुल राखेर आउजाउ गर्नेबाट पैसा असुल गर्छन् । वर्षाले नदीमा बाढी आएको दिन भने आवतजावत नै बन्द हुन्छ । कतिपय ठाउँमा डुंगाबाट नदी तर्ने गरिएको छ ।

काठको पुलबाट नदी तर्दा मान्छे र साइकलको १०/१० रुपैयाँ तथा मोटरसाइकलको ५० रुपैयाँ तिर्नुपर्ने भजनी–५ का स्थानीय कहरसिंह कडायतले बताए । ‘बर्खामा बाढी आएको दिन थुनिएर बस्नुपर्छ, पारी जान पाउँदैनौं ।’ उनले भने, ‘पुल बनेको भए सजिलो हुन्थ्यो ।’