दार्चुलाको टिंकरका बासिन्दा सञ्चारविहीन
फोन गर्न पनि एक दिनको बाटो हिँड्नुपर्ने बाध्यता
2021/09/28, 12:37
 
aa

दार्चुलाको व्यास गाउँपालिका–१ टिंकर क्षेत्रका स्थानीय करिब दुई वर्षदेखि सञ्चार सुविधाविहीन छन् । नेपाल टेलिकमको सञ्चार सेवाले काम गर्न छोडेपछि स्थानीय सञ्चारविहीन हुन पुगेका हुन् ।

जिल्लाकै उच्च भूभागमा पर्ने बस्ती र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका सरुक्षाकर्मी बसोबास रहेको ठाउँमा नेपाल टेलिकमको सञ्चार सेवाले काम गर्न छोडेको हो । टिंकरका स्थानीय गाउँबाहिर खबर गर्न छाङरु पुग्ने गरेको स्थानीय दानसिंह टिंकरीले बताए । २०७७ पुसदेखि अवरुद्ध व्यासको छाङरुस्थित नेपाल टेलिकमको स्काई टावर आठ महिनापछि सञ्चालनमा आए पनि टिंकरमा भने सञ्चार सेवा पुग्न सकेको छैन ।

‘गाउँमा केही भए खबर गर्न सञ्चार सेवा नहुँदा हामी साह्रै समस्यामा परेका छौं,’ स्थानीय मोहनसिंह टिंकरीले भने, ‘केही खबर पुर्‍याउनुपरे छाङरु जानुपर्छ । टिंकरबाट छाङरु पुग्न करिब एक दिन लाग्छ । फोन गर्न पनि एक दिनको बाटो हिँड्नुपर्ने अवस्थामा छौं ।’ छाङरुमा सशस्त्र प्रहरीसित वायरलेस फोन सेवा छ । टिंकरका स्थानीयले त्यसैबाट केही खबर बेंसी पुर्‍याउने गरेका छन् । उक्त वायरलेसमा बेंसीबाट खबर गर्न सकिँदैन । ‘छाङरुबाट मात्र खबर गरे फोन हुन्छ, सदरमुकामबाट हामीले फोन गरे लाग्दैन,’ उनले भने ।

गत वर्षमै छाङरुमा टेलिकमको फोरजी सेवासहितको फोन सुचारु गर्ने भन्दै टावर गाडिए पनि उपकरण जडान गरिएको छैन । अवरुद्ध स्काई फोन सेवा तत्काल सुचारु गर्न सबै सरोकारवाला निकायलाई जानकारी भए पनि वास्ता नगरेको स्थानीय भनाइ छ । स्थानीय दानसिंहका अनुसार दुई वर्षअगाडिसम्म छाङरुको टावरले टिंकरमा काम गर्थ्यो । हिउँदमा बिग्रेको टावर मर्मत नभएपछि टिंकरतिर सञ्चार सम्पर्क टुटेको हो ।

टिंकरका बासिन्दालाई समेत सञ्चार सेवा दिन टावर निर्माण गर्न सर्भे गरिएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए । टिंकरमा सञ्चार पहुँच पुर्‍याउन पहल भइरहेको उनको भनाइ छ । स्थानीय वैशाखतिर गाउँ गएदेखि नै गाउँपालिकाले नेपाल टेलिकमलाई पत्राचार गरी नस्काई टावर सञ्चालन गर्न माग गरेको थियो । लामो समयदेखि बिग्रेको सञ्चार सेवा सुचारु नहुँदा व्यासका स्थानीयको समस्या बुझ्न नसकिएको सदरमुकाममा रहेका टिंकरका स्थानीय मोहनसिंह टिंकरीले बताए । ‘हाम्रो क्षेत्रबाट बारम्बार पहल गरिएको छ । काम गर्ने निकायको ध्यान पुग्न सकेको देखिँदैन,’ उनले भने ।