सुत्केरीको मृत्युको तीन दिनसम्म पनि आफन्तले अस्पतालबाट शव उठाएका छैनन । मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण अनहकमा ज्यान गुमाउनु परेको भन्दै शव उठाउन नमानेका हुन ।
शनिबार सुत्केरी ब्यथा लागेपछि धनगढीको नवजीवन अस्पताल पुगेकी डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लको आइतबार बिहान मृत्यु भएको थियो।महिनौँअघिदेखि चेकजाँच गर्दै आएका डाक्टरले बिरामीको अवस्था थाहा नपाउनु लापरबाहीको पारकाष्ठा रहेको मृतकका आफन्तले बताउदै आएका छन । बिरामी स्वयंले अप्रेसनका लागि अनुरोध गर्दा पनि चिकित्सकले भ्याकुम प्रयोग गर्दा मृत्यु भएको दावी आफन्तले गरेका छन ।
आफन्तले घटनाको छानबिन र दोषीलाई कारबाहीको माग राख्दै माग सम्बोधन नभएसम्म मृतकको शव नउठाउने अडान लिएका छन् । सोमबार दिनभर जिल्ला प्रशासन कार्यलय कैलालीमा बस्दा पनि सहमति हुन नसकेपछि आज पुन: जिल्ला प्रशासनमा सहमतिको प्रयास भैरहेको छ ।
यता नवजीवन अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर जयराज केसीले सुत्केरी मल्लको उच्च रक्तस्रावका कारण मृत्यु भएको बताएका छन । अस्पतालका विशेषज्ञ चिकित्सले हरप्रयास गर्दा पनि सुत्केरी महिलालाई बचाउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।
सुत्केरी मल्लको पाठेघरको मुख नरम मात्रै भएर एक घर खुलेको र औषधिले अर्को घर खुलाइएको अस्पतालले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरेको छ । त्यसपछि बच्चाको धड्कन कम हुँदै गएको र आमामा बच्चा जन्माउने बल नपुगेपछि भ्याकुम प्रयोग गरेर शनिबार राति ११ बजेर ४४ मिनेटमा डेलिभरी गराइएको जनाइएको छ ।
त्यसक्रममा पाठेघरको मुख फराकिलो बनाउन इपिसियोटोमी एक्सटेन्डेड टियर दिइएको अस्पतालले जनाएको छ । इपिसियोटोमी एक्सटेन्डेड टियरलाई सिलाउन प्रयास गर्दा उनले असहज महसुस गरेपछि एनेस्थेसियालाई बोलाएर टाँका सिलाउने काम गरिएको, तर अत्यधिक रक्तस्रावका कारण बिरामीलाई कार्डियाक एरेस्ट भएर मृत्यु भएको दाबी अस्पतालको छ ।चिकित्सकहरूले कुनै लापरबाही नगरेको भन्दै अस्पतालले आइतबार स्पष्टीकरण दिइसकेको छ ।
धनगढीको नवजिवन अस्पतालमा मृत्यु भएकी कल्पना सिंह मल्लका लागि न्यायको माग गर्दै विद्यार्थीहरूले प्रर्दशन गरेका छन् । सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)का विद्यार्थीहरूले मुख्यमन्त्री कार्यालयअगाडि प्रर्दशन गरेका हुन्।
उनीहरूले नवजिवन अस्पताल तथा डाक्टरहरूको लापरबाहीले मल्लको ज्यान गएको भन्दै नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । ‘कल्पनालाई न्याय दे’, ‘अस्पताल प्रशासन मुर्दावाद’, ‘मेडिकल माफिया मुर्दावाद’ जस्ता नारा लगाएका उनीहरूले केहीबेर सडक समेत अबरुद्ध पारेका थिए ।
अस्पतालमा कडा सुरक्षा धनगढीको नवजिवन अस्पतालमा मृत्यु भएकी कल्पना सिंह मल्लका आफन्त र स्थानीयले अस्पतालमा तोडफोड गर्न सक्ने भन्दै व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीसंगै सशस्त्र समेत परिचालन गरिएको प्रशासनले जानकारी गराएको छ ।