युवतीले नक्कली परिचयपत्र बोकेको भेटिएपछि नगरपालिकाले थाल्यो छानबिन
2021/09/30, 11:38
 
dd

 

कञ्चनपुरमा एक युवतीले भीमदत्त नगरपालिकाको छाप र दस्तखतको दुरुपयोग गरेर सामाजिक परिचालिकाको नक्कली परिचयपत्र भिरेको पाइएपछि नगरपालिकाले छानबिन शुरु गरेको छ ।

भीमदत्त नगरपालिकाकै बासिन्दा रहेकी गायत्री भट्टले आफू सामाजिक परिचालिका भएको भन्दै सरकारी छाप र दस्तखत किर्ते गरेर बनाइएको परिचयपत्र बोकेर विभिन्न कार्यक्रममा सहभागी हुने गरेको पाइएपछि आवश्यक अनुसन्धान थालिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रशासकीय अधिकृत हरिसिंह धामीले भट्ट आफ्नो कर्मचारी नभएको, सरकारी छाप र दस्तखत कित्र्ते गरेको बताए । ‘हामीले सरकारी छाप र दस्तखत किर्ते गरेर नगरपालिकाको कर्मचारीको परिचयपत्र बनाएर भिर्ने गरेको थाहा पाएपछि सम्बन्धित व्यक्तिलाई बोलाएर सोधपुछ गर्ने काम गरेका छौं,’ धामीले भने, ‘उनीसँग जोडिएका अन्य व्यक्तिसँग पनि सोधपुछ गर्ने काम भइरहेको छ । हामीबाट यो केस निराकरण हुने नदेखिएकाले अब आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई आग्रह गर्छौं ।’

यता भट्टले भने आफ्नो नाममा अरु कसैले परिचयपत्र बनाएर दुरुपयोग गरेको दाबी गरेकी छन् । उनको व्यक्तिगत मोबाइल नम्बर समेत राखिएको उक्त परिचयपत्र आफूले प्रयोग नगरेको जिकिर गर्दै भट्टले आफ्नो बदनाम गर्ने मनसायले अरुले नै त्यस्तो काम गरेको हुनसक्ने दाबी गरिन् । तर सामाजिक सञ्जालमा उनकै फेसबुक वालमा परिचयपत्र राखिएको भेटिएको थियो ।