सुदूरपश्चिम प्रदेशमा जनताका गुनासा सुन्न ०७५ जेठ ७ गते मुख्यमन्त्री त्रिलोचन भट्टले ‘हेल्लो सिएम’ शुभारम्भ भएको घोषणा गरे। पहिलो गुनासो सुनाए डोटीको शिखर नगरपालिका–२ का करणजन शाहीले। धनगढीको ट्राफिक व्यवस्थाबारे गुनासो टिपाएको तीन वर्ष भयो। गुनासो अहिले पनि उस्तै छ।
बुधवार त्रिनगर नाका हुँदै रोजगारीका लागि भारत जाँदै थिए डोटीका अमर भट्ट। आफ्नो आर्थिक अवस्थामा परिवर्तन ल्याउन विगत १२ वर्षदेखि भारतमा चौकीदारी गर्दै आएका उनी मुख्यमन्त्री भट्टले स्वदेशमा रोजगारीको अवसर दिन्छु भनेर ढाँटेको बताउँछन्। ‘म जस्तै मजदुरी गरेका त्रिलोचन भट्ट अहिले मुख्यमन्त्री छन्,उनले आफ्नो भविष्य बनाए,’अमरले भने,‘हामीहरूलाई पनि रोजगारीका लागि भारत जानु पर्दैन भन्थे गफै रहेछ।’
घर खर्च चलाउन कहिलेसम्म भारतको भर पर्ने? उनले यो प्रश्न मुख्यमन्त्री समक्ष ‘हेलो सिएम’ मा फोन गरे। तर फोन रिसिभ भएन। ‘हाम्रो समस्या कहिले समाधान हुन्छ भनेर सोध्न मन थियो,तर हाम्रा कुरा उहाँ सुन्न हुन्न,’अमरले भने,‘गुनासो सुन्ने ‘हेलो सिएम’ छ भन्ने सुनेको थिए, त्यसमा फोन नै उठेन।’
न भयो सम्बोधन, न आउँछन् गुनासा
हेलो सिएम कक्षमा जनगुनासो तथा सुझाव दिनका लागि पैसा नलाग्ने टोल फ्री १६६०–९१५२७२३ नम्बरको व्यवस्था गरिएको छ। स्थापनादेखि अहिलेसम्म १ सय ८९ गुनासा आए। गुनासो सम्बोधन भएको जानकारी मुख्यमन्त्रीको कार्यालयले दिएको छैन।
धनगढी हसनपुरका विजय मल्ल दुई वर्ष पहिले छाडा पशु चौपाया व्यवस्थापनको माग गर्दै गुनासो टिपाए पनि अहिलेसम्म समस्या उस्तै रहेको बताउँछन्। ‘सम्बोधन नहुने भए गुनासो गर्नुको के अर्थ,’उनले भने,‘त्यसपछि मैले गुनासो नै टिपाउन छोडे।’ घोडाघोडीका गणेश भण्डाराले समस्या टिपाउन हेलो सिएममा फोन गरे पनि फोन नै नउठेको गुनासो गरे। ‘हेलो सिएम सुरु भए पनि त्यसबाट यहाँका नागरिकले लाभ लिन सकेनन्,’भण्डाराले भने,‘गुनासो आउँदैन भन्छन्, गुनासो गर्नलाई फोन पनि उठ्नु पर्यो नि ?’
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रवक्ता विश्वदीप वेस्राले पछिल्लो समय गुनासा आउन छोडेको बताए। ‘म सरुवा भएर आएको ५ महिना भयो,यो अवधिमा एउटा पनि गुनासो आएको छैन,त्यसअघि पनि डेढ वर्ष यता गुनासो आएको देखिएन,’उनले भने,‘हाल सम्म १ सय ८९ गुनासा परेका छन्,त्यसमा पनि खानेपानी, बिजुली, टेलिफोन, पूर्वाधार विकास, सामाजिक, स्वास्थ्य र आर्थिक सेवासँग सम्बन्धित गुनासा धेरै छन्।’
उनले आएका गुनासामध्ये केही बाहेक अधिकांशको सम्बोधन भएको दाबी गरे। चालु आर्थिक वर्ष ‘हेलो सिएम’ कक्षका लागि ४ लाख बजेट विनियोजन गरेकाले थप प्रभाकारी हुने वेस्राले बताए। ‘हामीले प्रभावकारी ढङ्गबाट हेलो सिएमलाई सञ्चालन गछौँ,अहिले हामीले गुनासो टिप्न एक जना कर्मचारी पनि खटाएका छौँ,’उनले भने’,आएका गुनासालाई प्रदेश सरकारको क्षेत्र अधिकारभित्र पर्ने र बाहिरका दुबैलाई सम्बन्धित निकायकहाँ लिखित रूपमा पत्राचार गरेर सम्बोधन गर्ने गरेका छौँ।’