सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई तीन सय शैयाको बनाउन प्रक्रिया अघि बढाएको छ । प्रदेशको मन्त्रीपरिषदको आज बसेको बैठकले सेती प्रादेशिकलाई तीन सय शैया बनाउन बिस्तृत परियोजना अध्ययन (डीपीआर) प्रतिवेदन तयार गरी त्यसको अनुमानित लागत, डिजाईन र टेण्डरका लागि समेत गरी एक करोड रुपैया स्वीकृत गरेको छ ।
प्रदेश सरकारकी प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सेती प्रादेशिक अस्पताललाई तीन सय शैयाको बनाउन प्रकृया थालिएको जानकरी दिईन । प्रवक्ता जोशीका अनुसार मन्त्री परिषदको बैठकले सुदूर पश्चिम प्रदेश लोक सेवा आयोगको २०७७÷७८ को वार्षिक प्रतिबेदन प्रदेश सभामा पेश गर्ने निर्णय समेत गरेको छ ।
प्रदेश सभाको आठौ वर्षे अधिवेशन शुक्रवार राति १२ बजे अन्त्य गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी प्रदेश उच्च शिक्षाको संभाव्यता अध्ययनका लागि गठन भएको कार्यदललाई समेत बैठकले पूर्णता दिएको छ ।
प्राविधिक शिक्षाविद डाक्टर खेमराज जोशीको संयोजकत्वमा नौ सदस्यीय कार्यदलले आजको बैठकबाट पूर्णता पाएको छ । त्यसैगरी मन्त्री परिषदको बैठकले सुदूरपश्चिमको डोटी डडेल्धुरा र कञ्चनपुरमा प्रदेश लेखा ईकाई कार्यालय गठन गर्ने र तीन वटै कार्यालयमा ५÷५ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।