सुदूरपश्चिम सरकार मन्दिर बनाउँदैमा ठिक्क, पर्यटन व्यवसायी दिक्क !
2021/09/30, 4:20
 
ss

पर्यटकीयस्थलको प्रचुर सम्भावना भएको सुदूरपश्चिममा आवश्यक पूर्वाधारको कमीले ओझेलमा परेका छन्। चर्चामा रहेका पर्यटकीयस्थलहरूमा आवश्यक पूर्वाधारको विकास हुन नसक्दा ओझेलमा पर्दै गएका हुन्। कुनै पनि पर्यटनस्थलमा जाँदा पर्यटकले आफ्ना लागि सुरक्षित गाँसबाससँगै अन्य कुरा खोज्ने गर्छन्  तर यहाँका पर्यटकीयस्थलमा त्यस्ता पूर्वाधारको विकासले गति लिन सकेको छैन।

यहाँ धार्मिक, सांस्कृतिक, पुरातात्विक, साहसिक (हिमाल आरोहण, ¥याफ्टिङ, प्याराग्लाइडिङ), ग्रामीण पर्यटनलगायतको प्रचुर सम्भावना छ। आवश्यक पूर्वाधार नहुँदा आन्तरिक तथा बाह्य पर्यटक आगमनको अवस्था न्यून रहेको यहाँका पर्यटन व्यवसायीको गुनासो छ। सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय तह तथा सङ्घीय सरकारले पर्यटन पूर्वाधार विकासमा उचित ध्यान दिन नसकेको पर्यटन व्यवसायी कलम बमको भनाइ छ। पर्यटकीयस्थलसम्म पुग्न पर्यटकलाई सहज व्यवस्था नभएकाले यहाँको पर्यटन प्रवद्र्धनले गति लिन नसकेको उनी बताउँछन्। 

सुदूरपश्चिम प्रदेश सरकारले वर्षेनी पर्यटन शीर्षकका नाममा स–साना मन्दिरमा मात्रै बढी बजेट विनियोजन गर्दै आएको छ। यहाँ पर्यटकलाई आकर्षण गर्ने सक्ने गन्तव्य रहे पनि खाने बस्ने, यातायातलगायत सुविधा दिनसक्ने खालका योजनामा ध्यान दिन सकेको छैन। कोभिड–१९ को महामारीका कारण अझै पनि पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुनसकेको छैन। विगतको तुलनामा अहिले १० प्रतिशत मात्रै बाह्य पर्यटक आइरहेको पर्यटन व्यवसायीको भनाइ छ। अछाम, बझाङ, बाजुरा र डोटी जिल्लामा पर्ने खप्तड सधैँ आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइ हुने गरेको छ।

कैलालीको कर्णाली नदीमा ¥याफ्टिङको निकै सम्भावना छ। त्यस्तै टीकापुर उद्यान, विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल तथा डल्फिन क्षेत्र, जाखोर ताल र गोदावरी तथा शिवपुरीधाम महत्वपूर्ण गन्तव्य रहेका छन्। त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष, दोधारा–चाँदनीको झोलुङ्गे पुल, वेदकोटताल, डडेल्धुराको उग्रतारा तथा परशुरामधाम, डोटीको शैलेश्वरी, अछामको रामरोशन, वैद्यनाथधाम तथा पञ्चदेवल, बाजुराको बडीमालिका र बूढीनन्दा, बझाङको सुर्मा सरोवर र साइपाल हिमाल, बैतडीको पात्लाभुमेश्वर गुफा, त्रिपुरासुन्दरी, जगन्नाथ, निग्लासैनी, दार्चुलाको अपि हिमाल, मल्लिकार्जुनलगायत धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीयस्थल छन्।

यसबाहेक सुदूरपश्चिमको विविध जातजातिको वेषभूषा, कलासंस्कृति, खानपिन, रहनसहन ग्रामीण पर्यटनका भरपर्दो आधार बनेका छन्। तराईका दुई जिल्लामा रहेका पर्यटकीयस्थलसम्म सडक यातायातको सुविधाका साथै सुविधासम्पन्न होटल, लज र अन्य पूर्वाधारको तुलनात्मकरूपमा विकास भइसकेकाले पर्यटन आगमनमा केही सहज भए पनि पहाडी जिल्लामा पूर्वाधारको विकास हुन नसकेकाले पर्यटन विकासले गति लिन नसकेको नेपाल टुर एण्ड ट्राभल्स एशोसिएशन (नाटा)का सुदूरपश्चिम प्रदेश अध्यक्ष मायाप्रकाश भट्ट बताउछन्। 

पर्यटन व्यवसायीले भारतीय पर्यटकलाई सुदूरपश्चिम प्रदेशमा सहज रुपमा भित्र्याउने वातावरण बनाउन प्रदेश सरकारसँग आग्रह गर्दै आएका छन्। भारतीय पर्यटकको आगमन वृद्धि नै प्रदेशको पर्यटन क्षेत्र चलायमान हुने आधार रहेको भट्टको भनाइ छ। अहिले सरकारले सीमानाका पूर्णरूपमा खोले पनि त्यहाँबाट भारतीय नम्बरप्लेटका सवारी साधन आउन अवरोध गरिएको बताउँदै कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवर भन्छन्, “जबसम्म नाकामा सहज हुँदैन तबसम्म पर्यटकीय क्षेत्र र होटल व्यवसाय चलायमान हुँदैन।”

सीमानाकाबाट भारतीय पर्यटकलाई सहजरूपमा आउने वातावरण बने पर्यटन व्यवसाय केही हदसम्म सुधार हुने आकलन पर्यटन व्यवसायीको छ। कोरोना महामारीमा कमी आए पनि अझै सुदूरपश्चिम प्रदेशमा भारतीय पर्यटकको आगमन वृद्धि हुन नसकेको अध्यक्ष कुँवर बताउछन्। पर्यटन विकासका लागि पूर्वाधार अभावका कारण सुदूरपश्चिम प्रदेशमा बाह्य पर्यटक निकै कम आउने गरेकाले  प्रदेश सरकारले पर्यटकीय गन्तव्यको विकासमा ठोस योजना बनाएर अघि बढ्नुपर्ने यहाँका पर्यटन व्यवसायीको सुझाव छ। प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीका अनुसार सरकारले केही पर्यटकीय गन्तव्यका लागि बजेट विनियोजन गरेको र  यहाँका पर्यटकीय गन्तव्यहरुलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन प्रयासरत रहेको बताउछन्।