हिन्दूहरुको महान पर्व दशैं नजिकएसंगै कामका लागि भारत गएका नेपालीहरु फर्किन थालेका छन् । पर्व मनाउनका लागि उनीहरु धमाधम घर फर्किन थालेका हुन ।कोरोना महामारीको क्रममा रोजगारीको सिलसिलामा भारत पुगेका उनीहरु कोरोना महामारीकै क्रममा फर्किन थालेका छन् । अरुबेला भारतमा सङ्क्रमण बढेका बेला फर्किने गरेका उनीहरु यस पटक भने त्यहाँ सङ्क्रमण केही घटेको बेला फर्किदैछन् ।
उता, सङ्क्रमण घटे पनि जोखिम भने रहि रहेको छ । किनभने, जबजब भारतबाट नेपाली फर्किने गर्दछन्, तबतब नेपालमा सङ्क्रमण सल्किने गरेको छ । पहिलो र दोस्रो लहरको कोरोना सङ्क्रमण धेरै जसो भारतबाटै फर्किनेहरुबाटै सल्केको थियो । त्यहाँ सङ्क्रमण बढेपछि फर्केका उनीहरु परीक्षण नगराई सिधै गाउँघर पुगेपछि कोरोना सङ्क्रमण बढेको थियो ।
मुग्लान पसेका नेपालीहरु हजारको सङ्ख्या फर्किरहेका अवस्थालाई मध्यनजर गरेर गतविगत जस्तै नाकामा परीक्षणको व्यवस्था गरिएको छ । गड्डाचौकी र गौरीफन्टा नाकाबाट फर्किने स्वास्थ्य समस्या भएका व्यक्तिलाई ‘एन्टिजेन’ विधिबाट परीक्षण गरेर पठाइने गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी कृष्णानन्द जोशीले बताए ।
‘यो पहिलेदेखि भइरहेको कार्य हो’, उनले भने । ‘स्वास्थ्य समस्या भएका वा शंकास्पद् व्यक्तिलाई नाकामै एन्टिजेन विधिबाट परीक्षण गर्ने गरिएको छ ।’ स्वास्थ्य समस्या नभएका, खोप लगाएका र परीक्षणपछि कोरोना पुष्टि नभएका व्यक्तिलाई सोझै घर जान दिइने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
सो जिल्ला मातहतमा रहेको गड्डा चौकी र गौरीफन्टा नाकाबाट पछिल्लो चार÷पाँच दिनदेखि दैनिक हजारको सङ्ख्यामा नेपालीहरु घर फर्किरहेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार पछिल्लो आठ दिनमा दुवै नाकाबाट आठ हजार ४९१ जना नेपाली स्वदेश फर्केका छन् । जसमध्ये पाँच हजार ५५५ जनाको नाकामै एन्टिजेन विधिबाट परीक्षण गरिएको छ ।
परीक्षण गरिएकामध्ये जम्मा छ जनामा कोरोना सङ्क्रमण देखिएको कञ्चनपुर जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । भारतबाट फर्किनेहरुमा यस पटक पहिलेको तुलनामा कम कोरोना संक्रमण देखिएको छ ।
यसैगरी, चाडपर्व नजिकएको बेला भारततिर जाने नेपालीको सङ्ख्या पनि धेरै छ । पछिल्लो आठ दिनमा पाँच हजार १४२ जना भारततिर गएका छन् । जसमध्ये धेरै जसो मानिस रोजगारीका लागि गइरहेका छन् । यता, काम नपाइएपछि चाडपर्वको मुखमा उनीहरु बाध्य भएर भारत जान थालेका हुन । गत भदौमा गड्डा चौकी नाकाबाट १४ हजार ११५ जना नेपाली फर्किएका थिए । सोही अवधिमा सात हजार ८१४ जना भारततर्फ गएका थिए । यसैगरी, गौरीफन्टा नाकाबाट १४ हजार ११२ जना भित्रिएका थिए भने १८ हजार ८५ जना भारततिर गएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
गाउँमा चहलपहल
लाहुरे फर्किन थालेसंगै छिमेकी मुलुक भारतमा रोजगारी गरेर घर फर्किने डोटेलीहरूको केही दिनयतादेखि लर्को लाग्न थालेको छ । रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका डोटीसहित समग्र सुदूरपश्मिवासी अहिले दशैँ नजिकिँदै गएकाले घर फर्किने गरेका छन् ।
भारतबाट रोजगारी गरी घर आउन थालेका यहाँका नागरिकका कारण अहिले जिल्ला सदरमुकाम तथा यहाँका गाउँघरमा निकै चहलपहल बढेको छ । रोजगारीबाट घर फर्किएका जिल्लाका नागरिकका कारण अहिले तराईबाट पहाड आउने गाडी पनि भरिभराउ हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
भारतबाट आउने जिल्लाका नागरिकको सङ्ख्या बढेको र कोरोना महामारी कायमै रहेकाले कोरोना जोखिमबाट सजग रहन स्थानीय प्रशासनले सबैमा आग्रह गरेको छ । यसै सिलसिलामा घरको खेतीपातीको काम सकेर यहाँका नागरिक कामका लागि छिमेकी मुलुक भारत गएका थिए । भारतमा कामका लागि गाउँघरमा स्थानीयवासी गएका कारण गाउँघर प्रायः सुनसान अवस्थामा थिए । अहिले उनीहरु धमाधम गाउँमा फर्किन थालेका कारण गाउँमा चहलपहल बढेको जोरायल गाउँपालिका–६ निरौलीका स्थानीयवासी डम्बरबहादुर बोहराले बताए ।
दशैँ आउन अझै थुप्रै दिन बाँकी रहे पनि यहाँका नागरिकले आफ्ना घर पोत्ने तथा कमेरो लगाउने काम पनि सुरु गरेकाले गाउँमा निकै रौनकता छाएको स्थानीयवासी बताउँछन् । जिल्लाको शिखर नगरपालिका–१ साफरीगाउँमा किसनसिंह साफरी एक वर्षअघि गहुँखेती लगाएर परिवारसहित रोजगारीका लागि भारत गएका थिए ।
भारतमा एक वर्ष रोजगारी गरी अहिले दशैँका लागि भन्दै उनको परिवारसहित घर फर्किएको छ । किसनसिंह मात्र होइन, रोजगारका लागि भारतलगायत अन्य तेस्रो मुलुक गएका डोटीसहित समग्र सुदूरपश्चिमेली अहिले घर फर्किन थालेका हुन् । भारतको उत्तराखण्ड रोजगारी गरेर दशै मनाउनकै लागि घर फर्किनु भएका जिल्लाको केआइसिंह गाउँपालिका–४ का अर्का स्थानीयवासी दीपकबहादुर कामी पनि अहिले आफ्ना परिवारसहित घर फर्किएका छन् ।
कोरोना सङ्क्रमणका कारण खासै कमाइ गर्न नपाए पनि दशैँका लागि घरपरिवारलाई नयाँ लुगा कपडा लिएर आएको उनले बताए । ‘पैसा कमाउन त सकिनँ, वर्ष दिनको पर्व दशैँ घरपरिवारसँग मनाउन घर फर्किएको छु, दशैँ–तिहार सकिएपछि पुनः कामका लागि उतै फर्किन्छु’, उनले भने ।
यसैगरी दशैँ मनाउनकै लागि भारतबाट रोजगारी गरी आएका दिपायल सिलगढी नगरपालिका–८ लडागडाका रामबहादुर कठायत पनि बुधबार मात्रै घर फर्किएका छन् । कोरोनाका कारण गएको वर्ष दशैँ मनाउन घर आउन नपाएको बताउँदै उनले भने , ‘पैसाभन्दा ठूलो घरपरिवार हो, गत वर्ष कोरोनाले आउन पाइनँ, यस वर्ष कोरोना केही शान्त भएकाले परिवारसँगै दशैँ मनाउन आएँ, खुसी छु ।’
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दैनिक संयौंको नेपाली कैलालीका त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल फर्किने गरेका छन् । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिसमेत राम्रो नपाइने भएपछि सुदूरपश्चिम प्रदेशबाट रोजगारीका लागि वर्षेनी भारत जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।
भारतबाट घर फर्किदैं गरेका नेपालीलाई सीमामा सास्ती नहोस् भन्नका लागि त्रिनगर र गड्डाचौकी नाकामा चाडपर्व लक्षित सीमा सहायता कक्ष स्थापना गरिएको प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेलले बताए । ‘नेपालीलाई घर फर्किँदा सीमामा कुनै समस्या नहोस् भन्नका लागि सहायता कक्ष स्थापना गरिएको छ, कुनै समस्या भए प्रहरीलाई खबर गर्दा हुन्छ’, उनले भने ।
यसैगरी डोटीमा दशैँ, तिहार तथा छठपर्वलाई लक्षित गर्दै प्रहरीले नागरिक सहायता कक्षसमेत स्थापना गरेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको ३६ नम्बर गणले सवारी साधन जाँचमा कडाइ तथा जिल्लाको शान्ति सुरक्षा कायम गर्न बजारमा गस्तीसमेत गर्दै आएका छन् ।