सिमानामा कोरोना जाँच, बस चढेर गाउँ जान बाध्य संक्रमित
2021/10/03, 11:54
 
aa

मुख्य नाकामा कोरोना संक्रमण नियन्त्रणलाई बेवास्ता गरिएको छ । नाकामा अहिले स्वास्थ्य मापदण्ड पालना भए/नभएको निगरानी गरिन्छ तर मुलुक भित्रिरहेका व्यक्तिमा संक्रमण छ/छैन परीक्षणमा ध्यान दिइएको छैन । केही नाकामा एन्टिजेन परीक्षण भइरहेको छ । यस्तो परीक्षणको रिपोर्ट पोजिटिभ आएमा उनीहरूलाई आइसोलेसनमा राख्ने गरिएको छैन । व्यक्ति सम्बन्धित स्थानीय तहलाई जानकारी गराएर पठाउने गरिएको छ ।

कञ्चनपुरको सीमानाका गड्डाचौकी भएर भारतबाट घर फर्किने नेपालीमा कोरोना संक्रमण देखिए नाकाबाटै आइसोलेसनमा बसाउने गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाकामा एन्टिजेन परीक्षणपछि संक्रमण पुष्टि भए महेन्द्रनगरस्थित स्वास्थ्य कार्यालयले बनाएको कम्युनिटी हेल्थ इन्स्टिच्युट (आईसीएच) को आइसोलेसनमा राख्ने गरिएको हो । शनिबार आईसीएचको आइसोलेसनमा ११ जना संक्रमित बसिरहेका छन् । गड्डाचौकी नाका भएर घर फर्किनेलाई एन्टिजेन परीक्षणपश्चात् संक्रमण पुष्टि भए महाकाली प्रादेशिक अस्पतालको एम्बुलेन्समार्फत आइसोलेसनसम्म पुर्‍याइन्छ । आफ्नै घर जान चाहनेले सम्बन्धित पालिकाको सिफारिस र छट्टै सवारीसाधन वा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने हुन्छ । ‘कतिपय १४ दिन आइसोलेसनमै बसेर घर जान्छन्, चाँडै जान खोज्नेहरू पालिकाको सिफारिसअनुसार होम आइसोलेसनमा बस्ने गरी जान्छन्,’ स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले भने, ‘उनीहरू आफैंले छुट्टै सवारीसाधनको व्यवस्था गर्नुपर्छ ।’

चाडपर्व नजिकिएसँगै भारतबाट घर फर्किने नेपालीको चाप बढ्न थालेको छ । अहिले दैनिक ६/७ सयको संख्यामा घर फर्किन लागेका छन् । शनिबार गड्डाचौकी नाकाबाट ७ सय ८८ जना भित्रिएका छन् । जसमध्ये ७ सय ५६ को एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी गौरीफन्टा नाकाबाट ४ सय २४ जना भित्रिएका छन् । तीमध्ये २ सय २५ को एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएन । स्वास्थ्य कार्यालयका अनुसार गड्डाचौकी नाकामा हालसम्म ४७ हजार ६ सय ३३ को एन्टिजेन परीक्षण गर्दा ६ सय ७ जनामा संक्रमण पुष्टि भएको छ ।

कैलालीको गौरीफन्टाबाट भित्रिने सबैको परीक्षण भने गरिँदैन । समूहमा आउनेमध्ये केहीको एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भए दुई साता आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ । यहाँ धनगढी–१५ उर्मामा आइसोलेसन सेन्टर बनाइएको छ । तर अहिले आइसोलेसनमा एक जना पनि संक्रमित छैनन् । एक सातायता नाकाबाट भित्रिएकामध्ये एक जनामा पनि कोरोना पुष्टि नभएकाले आइसोलेसन बेड खाली रहेको सीमानाकाका हेल्थ हेल्प डेस्कमा कार्यरत दिनेश ठकुल्लाले बताए ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, धनगढी उपमहानगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिकाले संयुक्त रूपमा नाकामा हेल्थ डेस्क स्थापना गरेका हुन् । हरेक दिन पाँच सयभन्दा बढी घर फर्किरहेका नेपालीको हरेक समूहबाट २/३ सय जनाको मात्रै एन्टिजेन परीक्षण हुने गरेको छ । ‘हाम्रो प्रयास शतप्रतिशतको स्वास्थ्य परीक्षण गर्ने हो,’ हेल्थ डेस्क इन्चार्ज ठकुल्लाले भने, ‘तर कहिलेकाहीं ठूलो संख्यामा नेपाली भित्रिने भएकाले सबैको परीक्षण गर्न नसकिने अवस्थामा शंकास्पद, समूह वा परिवारको एक जनाको मात्रै परीक्षण गर्छौं ।’ उनले एक जनामा पनि संक्रमण पाइए समूहमा रहेका सबैको परीक्षण गरिँदै आएको बताए । पछिल्लो समयमा कतिपयले भारतमै कोरोना परीक्षणको रिपोर्ट पनि साथै लिएर आउने गरेको बताए । भारत सरकारको सरकारी अस्पतालको परीक्षण रिपोर्ट लिएकालाई भने नाकामा जाँच गरिँदैन ।