बझाङमा हेलिकप्टरबाट सुत्केरीको उद्धार
2023/12/18, 12:45
 
bajhang

सुत्केरी हुन नसकेर गम्भिर बिरामी भएकी सुन्दरी थापाको हेलिप्टरमार्फत् उद्धार गरिएको छ । जयपृथ्बी नगरपालिका –११ की ३० वर्षीय थापाको सुत्केरी हुन नसकेर पाठे घर फुटेपछि थप उपचारका लागी नेपालगञ्ज लगिएको हो । 

सुत्केरीहरु चेकजाँच गर्नका लागि जिल्ला अस्पताल बझाङमा आएकी थापा चेकजाँच गरि फर्किनु भएको थियो । सुत्केरी व्यथाले च्यापेपछि आईतबार जिल्ला अस्पताल बझाङमा भर्ना हुनुभएकी थापाको शल्यक्रिया गरेर बच्चा निकाल्नु पर्ने डाक्टरले सुझाव दिएपछि बिरामीका आफन्तले भने मानेका थिएनन् । 

जिल्ला अस्पताल बझाङका निमित्त प्रमुख ईन्द्र बहादुर शाहले भन्नुभयो, “यो समस्या आएपछि बैतडीबाट विशेषज्ञ डाक्टर बोलाएका थियौं । राती १० बजे बच्चाले दिसा खाएको थाहा भएपछि डाक्टरले अप्रेसन गर्नुपर्ने सुझाव दिँदा बिरामीका आफन्तले मानेन । फेरि राती २ बजे बच्चाको स्वासप्रस्वासमा समास्या भई बच्चाको पेटमा नै मृत्यु भएपछि शल्यक्रिया गरेर बच्चा निकाल्ने तयारी भएको थियो । आमाको पेट अस्वभाविकरुपमा सुन्निन थालेको थियो । ” 

वर्षेनी जिल्लामा उपचार हुन नसकेर धेरै सुत्केरीहरुको रिफर गर्नु पर्ने अवस्था छ । जिल्लामा २५ शैय्याको अस्पताल भएपनि दक्ष जनशक्ति र आधुनिक उपकरण नभएर जिल्लामा धेरै सुत्केरी आमाहरुले अकाल मै ज्यान गुमाउनु बाध्य छन् ।