दसैं नजिकिएसँगै थारू समुदायमा पनि यसको रौनक सुरु भएको छ । थारूहरूले भिन्न तरिकारले दसैं मनाउँछन् । पश्चिम तराईका थारूले दसैंमा कुल देवतालाई ढिक्री, सिद्रा, कुखुराको बलि दिने र पितृ पूजा गर्ने चलन छ ।
सप्तमीको दिन ढिक्री बनाउन प्रयोग हुने भाँडाकुँडा सरसफाइ गर्ने, गुरुवाको घरबाट धूप ल्याउने गर्छन् । अष्टमीको दिन थरीथरी ढिक्री बनाएर कुल देवतालाई चढाउने जानकी गाउँपालिका–३ का लालबहादुर चौधरीले बताए ।
‘दसैंमा सकेसम्म नयाँ धानको ढिक्री पकाउने र देवतालाई चढाउने गर्छौं,’ उनले भने । नवमीका दिन बिहान पूजा कोठामा कुखुराको बलि दिएर पूजा गर्ने चलन छ ।
थरअनुसार ५, ७ या ९ वटासम्म कुखुरा चढाउने गरिन्छ । दसैंमा थारू समुदायलाई खसीबोका नभई लोकल कुखुरा नै चाहिन्छ । यसको जोहो पहिले नै गरिएको हुन्छ । दसैं पितृलाई सम्झने पर्वका रूपमा पनि थारूहरूले मनाउँदै आएका छन् । दसैंमा तीन, पाँच वा सात थरीका तरकारी पकाउने र पितृलाई चढाउने गरिन्छ ।
‘दसैंमा खासगरी पितृलाई खुवाउन (श्राद्ध गर्न) सिद्रा र साग अनिवार्य हुन्छ । पितृका लागि सिद्रा, तोरीको साग, गेडागुडी पकाएर श्राद्ध गर्ने चलन छ,’ लालबहादुर चौधरीले भने ।
नवमीको दिउँसो पितृलाई चढाएका खानेकुरा राखिएका दुनाटपरी गाउँ नजिकैको नदी, खोलामा बगाइन्छ, जसलाई उनीहरू ‘पित्तर असरैना’ भन्छन् । नदी, खोलामा जाँदा गाउँका तन्नेरी नाच्दै, गाउँदै जाने र फर्कने गर्छन् ।
टीकाको दिन चामलको पीठोको टीका बनाएर लगाउने चलन थारूहरूको हो तर पछिल्लो समय अरू जातजातिको देखासिखीमा रातो टीका लगाउने चलन बढ्दै गएको छ । दसैंमा सेतो टीकाको ठाउँ रातोले लिँदै गएको टीकापुर–९ वनगाउँका दिलबहादुर चौधरीले बताए ।
उनले भने, ‘आफ्नो चालचलन बिर्सेर अरूको चलन भित्रिँदै गएकाले यसमा सचेतना अपनाउन आवश्यक छ ।’ थारू बस्तीमा दसैंमा सखिया नाच नभई नहुने अर्को परम्परा हो ।