वर्षाले सडकहरु अवरुद्ध हुँदा औषधीको अभाव
2021/10/30, 10:49
 
aa

कार्तिक पहिलो साताको भारी वर्षाका कारण गएको बाढीपहिरोले सुदूरपश्चिमका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अझै सुचारु भएको छैन । तराइ र सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने एकमात्र भीमदत्त राजमार्ग पहिरोका कारण केही दिन अवरुद्ध रह्यो। डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग सातापछि अहिले सुचारु भएको छ ।

बैतडी, दार्चुला जोड्ने राजमार्ग पनि केही दिन बन्द रहे । बाजुरा जोड्ने साँफे–मार्तडी सडक खण्ड गत असारबाटै बन्द छ । त्यसबेलाको भारी वर्षापछि गएको पहिरोले बन्द सडक सुचारु हुन सकेको छैन । यसपालिको वर्षाले सडकमा थप क्षति गरेको छ । पहाडी जिल्लाका अधिकांश राजमार्ग र ग्रामीण सडक अवरुद्ध हुँदा पहाडी जिल्लाहरूमा औषधि अभाव हुन थालेको छ भने जिल्ला अस्पतालबाट रेफर गरिने बिरामीलाई उपचारका लागि जिल्लाबाहिर लैजान पनि समस्या परेको छ ।

राजमार्गहरु बन्द भएपछि दसैँयता औषधीहरु ढुवानी हुन सकेको छैन । औषधि ढुवानीको तयारी हुँदै गर्दा लगातार परेको वर्षाले ठाउँठाउँका राजमार्ग अवरुद्ध भएपछि ढुवानी रोकिएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले जनाएको छ । पहाडी जिल्लाका कतिपय अस्पतालमा टाइफाइड, ज्वरो, ग्यासट्राइटिस तथा दीर्घरोगीले बढी प्रयोग गर्ने ब्लडप्रेसर, सुगर, थाइराइडका औषधि अभाव हुन थालेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा मात्र होइन, सदरमुकाममा समेत ती औषधीको अभाव छ ।

चार महिनादेखि सडक अवरुद्ध हुँदा बाजुरामा औषधिको अभाव देखिएको छ । कतिपय स्वास्थ्य संस्थामा सिटामोललगायत अत्यावश्यक औषधि सकिएको छ । औषधि अभावमा बिरामीलाई रित्तो हात पठाउनुपर्ने अवस्था आएको स्वास्थ्यकर्मीले बताएका छन् ।

ज्वरो, रुघाखोकी, निमोनिया आदिको उपचारमा प्रयोग गरिने औषधीहरुको मौजदात सकिएको स्वामीकार्तिक गाउँपालिकाको साप्पाटा स्वास्थ्य चौकीका प्रमुख बद्रीबहादुर शाहीले बताए । ‘सिटामोल पनि सकिएको छ । उपचार गर्न आउने ज्वरो, रुघाखोकीका बिरामीलाई औषधी दिन सकेका छैनौँ ।’ शाहीले भने, ‘अन्य औषधीको मौजदात पनि कमै छ ।’ गत असोजमा स्वास्थ्य सम्बन्धी गोष्ठीमा सदरमुकाम जाँदा आफूले बोकेर ल्याएको सिटामोल केही दिनअघि सकिएको उनले बताए । 

बुढीगंगा नगरपालिकास्थित बुढीगंगा स्वास्थ्य चौकीमा पनि औषधीको अभाव हुन थालेको स्वास्थ्य चौकी प्रमुख भेषराज पण्डितले बताए । स्वास्थ्य चौकीम आँखा, कानमा हाल्ने औषधीको मौजदान नरहेको उनले जानकारी दिए । स्वास्थ्य कार्यालयमै औषधी नरहेकाले ल्याउन नपाएको पण्डिले बताए । ‘भएका औषधीहरु पनि पर्याप्त छैनन् ।’ उनले भने, ‘तराइबाटै ढुवानीको समस्या छ ।’

स्वास्थ्य संस्थाहरुमा एण्टीबायोटिक, सिटामोल, ब्रोफिनलगायत औषधीहरु अभाव देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले बताए । ढुवानी हुन नसक्दा जिल्लामा पनि औषधीको स्टक लगभग सकिएको उनले बताए । दसैँलगत्तै पहिरोले सडक अवरुद्ध भएको ठाउँसम्म गाडीबाट र त्यहाँबाट बोकेर औषधी ढुवानी गर्ने तयारी रहे पनि पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध हुँदा ढुवानी रोकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

‘प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढीले दसैँलगत्तै औषधी ढुवानी गर्ने भनेको थियो तर डोटी, डडेल्धुरालगायत विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध हुँदा ढुवानी हुन सकेको छैन ।’ पन्तले भने, ‘जिल्लामै धेरैजसो औषधीको मौजदात सकिन थालेको छ ।’ स्थानीय तहहरुले पनि औषधी ढुवानी गर्न सकेका छैनन्।

बाजुरा जोड्ने साँफे–मार्तडी सडक गत असारबाट अवरुद्ध छ । सडक खण्डअन्तर्गत बुढीगंगा नगरपालिका–१, अम्कोटमा गत असारमा पहिरो गएपछि अवरुद्ध सडक सुचारु हुन सकेको छैन । गत साता भएको वर्षाले अम्कोट क्षेत्रमा पुनः पहिरो गएकाले सडक सुचारु हुन समय लाग्ने देखिएको बुढीगंगा नगरपालिकाका उपमेयर तारा खातीले बताइन् ।

अछामको साँफेदेखि अम्कोट पहिरोसम्म गाडी चल्छन् । त्यहाँबाट सदरमुकाम जान पहिरो भएको ठाउँमा करिब ३०–४० मिनेट हिँडेपछि अर्को गाडी चढ्नु पर्ने उनले बताइन् । सडक अवरुद्ध हुँदा बिरामीलाई उपचारका लागि जिल्ला बाहिर लैजानु पर्दा निकै सास्ती खेप्नु परिरहेको उपप्रमुख खातीले बताइन् । ‘बिरामीलाई बोकेर लैजानुपर्छ ।’ उनले भनिन्, ‘बाटो बन्द हुँदा औषधी, खाद्यान्नलगायत सामान ढुवानीमा पनि समस्या छ ।’

यस्तै डोटीमा ग्रामीण सडक अवरुद्ध हुँदा औषधी ढुवानी हुन नसकेको बोगटान–फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताएका छन् । उनले भने, ‘औषधि सकिन लागेकाले ल्याउने तयारी हुँदै थियो । एकाएक तीन दिनसम्म पानी परेपछि बाटाघाटा बन्द भए । अहिले बाहिरबाट औषधि आयात गर्न सकिने अवस्था रहेन । अभाव सुरु भइसकेको छ । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूमा टाइफाइड, ज्वरो, ग्यासट्राइटिस तथा दीर्घरोगीले बढी प्रयोग गर्ने ब्लडप्रेसर, सुगर, थाइराइडका औषधि सकिएको छ ।

जिल्लाका थुप्रै ठाउँमा बाढी र पहिरोले खानेपानीका स्रोत धमिल्याएको छ । जसका कारण खानेपानी विषाक्त भएर झाडापखाला, हैजाको महामारी फैलन सक्ने जोखिम छ। तर, जिल्लामा झाडापखालाको समेत औषधि सकिएको छ । स्वास्थ्य कार्यालय डोटीका प्रमुख उद्धव ठगुन्नाले डोटीका स्वास्थ्य संस्थाहरूमा महामारीका वेला आवश्यक पर्ने औषधिहरू अभाव रहेको बताए ।

‘झाडापखाला तथा महामारीका वेला दिइने औषधिको अभाव छ,’ ठगुन्नाले भने, ‘अन्य सामान्य प्रकारका औषधि छन् । अभाव भएका औषधि प्रदेश आपूर्ति केन्द्रमा माग गरेका छौँ, तर ढुवानीमा समस्या हुँदा आउन सकेको छैन ।’
जिल्ला अस्पताल र निजी फार्मेसीमा समेत औषधि अभाव रहेको जिल्ला अस्पतालका डा. प्रकाश ठकुल्लाले जानकारी दिए । ‘अस्पतालको फार्मेसीमा धेरै औषधि सकिएका छन् । निजी फार्मेसीले पनि औषधि छैन भन्न थालेका छन्,’ डा. ठकुल्लाले भने, ‘अवस्था यही रहे अबको केही दिनमै औषधिको चरम अभाव हुनेछ ।’ 

बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अझै सुचारु भएको छैन । सडक अवरुद्ध रहेकाले अन्य जिल्लासँगको सडक सम्पर्क विच्छेद भएको छ । जसका कारण जिल्ला अस्पतालले रेफर गरेका बिरामी प्रत्यक्ष मारमा परेको जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानु जोशीले बताए । सडकमार्ग अवरुद्ध रहेकाले हवाइ मार्गमात्र विकल्प रहेको, तर टिकट पाउन मुस्किल रहेकाले बिरामी समस्यामा परिरहेको उनको भनाइ छ।

‘पहिरोका कारण सडकमार्ग अवरुद्ध छ । धनगढी–बझाङ दैनिक दुईवटा मात्र हवाई उडान भइरहेकाले टिकट पाउन समस्या छ,’ जोशीले भने, ‘जिल्लाबाहिर गएर उपचार गर्नुपर्ने बिरामी निकै मारमा परेका छन् ।’ पहिरोले ठाउँठाउँमा राजमार्ग अवरुद्ध पारेकाले सुचारु हुन अझै केही समय लाग्ने देखिन्छ । जिल्ला अस्पतालमा महिना दिनलाई पुग्ने औषधि स्टक रहे पनि लामो समयसम्म सडक अवरुद्ध भए औषधिको संकट पर्न सक्ने उनले बताए ।