लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता र छठीदेवीलाई चढाई बर्तालुले त्यही खिर खाने गर्दछन् । यो विधिलाई ‘खरना’ भनिएको हो ।
श्रद्धा, निष्ठा र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठपर्वको ‘खरना’का दिन दिनभर उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खिर पकाउने र त्यसलाई केराको पातमा राखेर छठी मातालाई चढाएर मात्र बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा खाने गर्छन् । आज दिनभर उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्दैछन् ।
पर्वको चौथो दिन भोलि बुधबार अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेका बर्तालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ । त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने प्रचलन छ । उदाउँदो सूर्यलाई दिइने अघ्र्यलाई ‘भोरका अरख’ भनिन्छ ।
छठपर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त तथा नातेदारकहाँ पु¥याउन जाने परम्परा छ । पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।
यता सुदुरपश्चिमको तराई क्षेत्र कैलाली कञ्चनपुरमा पनि छठको रौनकता रहेको छ । धनगढीको मोहना नदी किनारमा छठी घाट निर्माण गरेर सजाईदैछ । नदी किनारमा छठ पूजाका लागि सरसफाइको काम गरिएको छ । छठको दिन पूजा गर्नका लागि घाट निर्माण गर्दै आवश्यक पर्ने केराको बोट, रंगरोगन लगायतको काम भईरहेको छ । गत वर्ष कोरोनाका कारण सामान्य पूजा पाठ मात्रै भएकोमा यस वर्ष भने पुरानै शैलीमा पूजा र धार्मिक कार्यक्रमको तयारी गरिएको छठ पूजा सेवा समितिका सचिव सरोज यादवले बताए ।
छठमा परिवारको सुख शान्ति तथा सन्तान प्राप्तिका लागि ब्रत बस्ने र पूजापाठ गर्ने चलन छ। कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ छठ पर्व मनाउने गरिन्छ । छठ पर्वको मुख्य दिन षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ दिइन्छ। पर्वको अन्तिम अर्थात् सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत सम्पन्न गरिन्छ ।