कैलालीको गोदावरी नगरपालिका हुँदै बग्ने खुटिया नदी छेउका स्थानीयको आम्दानीको मुख्य स्रोत नै नदीजन्य पदार्थ हो। जोशी टोल र खुटिया टोलबासी गिट्टी कुटेर गुजारा चलाउँछन्।
५ दर्जनभन्दा बढी परिवार बिहानदेखि बेलुकासम्मै नदी किनारमै गिट्टी कुटिरहेको भेटिन्छन्। गिट्टी कुट्नेहरूकै बीचमा थिइन् ६५ वर्षीया गोमती आउँजी। ९ वर्षीया उनकी नातिनी पनि उनलाई सघाउँदै थिइन्। 'वर्षभरि घामपानी नभनी गिट्टी फुटाउँछौ, तर मिहिनेत अनुसारको फल अहिलेसम्म पाइएको छैन', गोमतीले भनिन्।
उनी र नातिनी मात्र होइन, ८० वर्षका उनका श्रीमान् पनि सँगै गिट्टी कुटिरहेका हुन्छन्। 'यो उमेरमा निकै गाह्रो हुन्छ बाबु, मर्ने बेला भइसक्यो तर एक छाक खानको लागि पनि गिट्टी कुट्नु परिरहेको छ', उनले भनिन्। 'छोरा बुहारीसँग पैसा माग्दा कहिले दिन्छन्, कहिले दिँदैनन्, त्यसैले आफैँले काम गर्नु परिरहेको छ', गोमतीका श्रीमान वीरबहादुरले भने। खुटिया नदी वरिपरिका युवाहरू रोजगारीका लागि अधिकांश भारत जान्छन् भने बालबालिकाका र वृद्धवृद्धाहरू नदी किनारामा गिट्टी कुटेरै रोजीरोटी चलाउने गरेका छन्।
प्रवीण साउद र उनकी हजुरआमा सीता पनि दैनिक यहाँ गिट्टी कुटेर गुजारा चलाउँछन्। 'हामी मात्रै हैन बाबु गाउँका सबै यहीँ आउँछन् गिट्टी कुट्न', प्रवीणकी हजुरआमा सीताले भनिन। प्रवीणका बुवाको उनी ९ वर्षको हुँदै देहान्त भएको थियो। घरमा प्रवीणभन्दा साना–साना भाइबहिनी छन्। उनीहरूलाई पढाउन भनेर प्रवीणले ८ कक्षा पढ्दै गर्दा नै पढाइ छोडेर गिट्टी कुट्दै आएका छन्। यता राधा थापाको पीडा पनि कम छैन। दिनभरि गिट्टी कुट्दा पनि साँझ-बिहानको छाक टार्न मुस्किल पर्छ उनलाई।
'अरूको गिट्टी फुटाउने भए पो दिनभरि गरेको कामको साँझ ज्याला पाइने थियो। यो त हामीले आफ्नै ढुङ्गा सङ्कलन गरेर गिट्टी फुटाएका हौं। बेचेन भने त खान लाउनै समस्या पर्छ', उनले भनिन्। 'दिनभरि दुई जनाले मेहनत गरेर गिट्टी कुट्दा पनि ५ बोराभन्दा बढी सकिँदैन', जोशी टोलकी पुष्पा जोशीले भनिन, ‘तर वैशाखदेखिको गिट्टी बेचिएको छैन।' 'हामी एक घन मिटरको १२ सयदेखि १३ सयको हाराहारीमा गिट्टी बेच्ने गर्छौं। तर किन्ने मान्छे नै आएका छैनन', सँगै गिट्टी कुटिरहेका अरुण साउदले भने, 'निकै मेहनतका साथ घाम, पानी, भोक नभनेर काम गर्छौं तर तयारी अवस्थामा राखिएको गिट्टी पनि बिक्री नहुँदा निकै समस्या हुन्छ।'
खुटिया नदी आसपासका बासिन्दा कतिले नदी किनारामै गिट्टी कुट्छन् भने कतिपयले घरमै नदीबाट ढुङ्गा लगेर गिट्टी कुट्ने गर्छन्। 'घरमै बसीबसी गिट्टी कुटेर एक महिनामा २० हजार बराबरको आम्दानी गर्न सकिन्छ', आफ्नै घरआँगनमा गिट्टी कुटिरहेका नारायण बोहराले भने, 'तर आजभोलि त तयारी अवस्थामा रहेको गिट्टीले पनि बजार पाइरहेको छैन।'
गिट्टी कुट्दा–कुट्दै हातमा परेका फोका देखाउँदै ६० वर्षीय रत्ना शर्माले भनिन, 'योबाहेक अरू विकल्प पनि छैन। हाम्रो त उमेर ढल्किसक्यो नातिहरूलाई पनि नगरपालिकाले केही काम दिएको भए गिट्टी कुट्नु पर्ने थिएन।'