अटो चलाएर छोरालाई डाक्टर पढाउँदै
2021/11/27, 10:09
 
ss

झिसमिसेमै फोनको घण्टी बज्छ । उनी हतारिँदै फोन उठाउँदा यात्रुहरू गन्तव्यमा छाडिदिन आग्रह गर्छन् । उनी अटो चलाउँदै यात्रु बोक्न निस्किन्छिन् । फुर्सद पाउनेबित्तिकै घर पुगेर परिवार र आफ्ना लागि खाना बनाएर फेरि हिँड्छिन् । कुनै दिन त यात्रुको चापले खाना बनाउने र खाने समेत फुर्सद पाइँदैन ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसीकी अटो रिक्सा चालक गोमा चौधरीको दैनिकी ६ वर्षदेखि यस्तै छ । अटो चलाएर उनले परिवारको गुजारा मात्रै चलाएकी छैनन्, छोरालाई डाक्टरसमेत पढाएकी छन् । एमबीबीएस अध्ययनरत छोराको पढाइ खर्च जुटाउनुपर्ने भएकाले समेत उनलाई अटोमा बढी समय दिनुपरेको हो । मुक्त कमैया परिवारकी चौधरी अटो चलाउनुअघि सीमापारिको वनबासा बजारबाट महेन्द्रनगरसम्म साइकलमा मालसामान ओसार्थिन् । त्यसबाट दिनमा ५/७ सय बचाएर घरखर्चसँगै छोराछोरीको पढाइ पनि चल्थ्यो । जब बजारमा अटो आउन थाले उनले पनि क्यारिङको काम छोडेर अटो चलाउन थालिन् ।

अटो चलाएर गोमाले दिनमा एक/डेढ हजार बचत गर्छिन् । त्यही पैसा र आफन्तबाट ऋण काढेर उनले छोराको पढाइ शुल्क तिर्छिन् । चौधरीका छोरा सन्तोष अहिले युनिभर्सल मेडिकल कलेज भैरहवामा एमबीबीएस तेस्रो वर्षमा अध्ययन गरिरहेका छन् । अढाइ वर्षमा ४० लाख बढी खर्च भइसकेको उनले बताइन् । एमबीबीएस अध्ययनका लागि आधा शुल्क

(२२ लाख) भर्नाकै बेला र बाँकी २२ लाख शुल्क ६/६ महिनामा गरेर चार किस्तामा तिरेको उनले सुनाइन् । छोराले डाक्टरी पढ्ने इच्छा देखाएपछि गोमाले रोक्न सकिनन् । ‘अब दुई वर्ष मात्रै बाँकी छ, त्यो पूरा गर्न सके छोरा डाक्टर भएर आउछ,’ गोमाले भनिन्, ‘स्कुल पढाउँदा त केही थाहा पाइएन, अहिलेको खर्च जुटाउन गाह्रो भएको छ ।’ गोमाका श्रीमान् धनबहादुर गाउँमै मजदुरी गर्छन् । घर निर्माणको काममा मजदुरी गरेर अलिअलि खर्च जुटाउँछन् ।

गोमाका ससुरा देशु ससुरालीमै लामो समय कमैया बसे । उनीसंँगै धनबहादुर र गोमाले पनि कमैयाको काम गरे । सरकारले कमैया मुक्त घोषणा गरेपछि उनको परिवार ज्याला मजदुरीदेखि आम्दानीका लागि विभिन्न काम गर्न थालेको हो । त्यसपछि नै उनीहरूले आफ्ना छोराछोरीलाई पढाउन थालेका हुन् ।

क्यारिङ र अटो चलाएरै चौधरी परिवारले भासीमा घरेडी किनेर घर बनाएका छन् । घरमै सानो किराना पसल पनि थापेका छन् । त्यसबाट पनि घर खर्च चलाउन सजिलो भएको उनी बताउँछिन् । ‘हामीले त पढ्न सकेनौं, छोराछोरीको भविष्य सुध्रेला भनेर रातदिन घोटिएका छौं,’ गोमाले भनिन्, ‘इष्टमित्र र आफन्त सबैले सहयोग पनि गरेका छन् ।’ गोमाले छोरालाई मात्रै होइन छोरीलाई नर्सिङ पढाएकी छन् । उनी अहिले बाजुराको कोल्टी स्वास्थ्य चौकीमा अनमिमा कार्यरत छिन् । छोरीको विवाह भइसकेको छ । भाइलाई पढाउन उनले पनि सघाइरहेको गोमाले बताइन् । ‘अब एक/दुई वर्ष मात्रै हो, त्यसपछि धेरै दौडधुप गर्दैन,’ गोमाले भनिन्, ‘छोराको पढाइ सकिएपछि धेरै भार हलुका हुन्थ्यो ।’

कमैया मुक्त भएपछि चौधरी परिवारले ५/६ वर्ष भाँसीमै अधियाँमा खेती गरे । मिहिनेत गरे पनि उत्पादन नभएपछि उनको परिवारले अधियाँ बनाउन छाड्यो । गोमा एक गैरसरकारी संस्थाको कार्यसमिति सदस्यमा चयन भइन् । उक्त संस्थाले उनलाई साइकल उपलब्ध गरायो । त्यही साइकलमा उनले वनबासादेखि महेन्द्रनगरसम्म मालसामान ढुवानी गर्न थालिन् । वनबासा–महेन्द्रनगर आउजाउ गर्दा गर्दै उनले संघर्षसँगै धेरै कुरा सिकिन् । महेन्द्रनगरमा अटो आउन थालेपछि उनले क्यारिङको काम छाडिन् । जतिबेला महेन्द्रनगरमा अटो चलाउने महिला थिएनन् उनले आँट गरिन् ।

‘सुरुमा निकै समस्या पनि भयो । रातबिरात हिँड्नु पर्दा यात्रुहरूले नै जिस्क्याउने । पछिपछि सबैले चिन्दै जाँदा सजिलो भयो,’ उनले भनिन् । यात्रुसँगको व्यवहार र इमान्दारिताले आफू अहिलेसम्म यो व्यवसायमा टिकेको उनी बताउँछिन् । ‘मेरो अटोमा यात्रा गर्नेहरू महेन्द्रनगरमा जहाँ भए पनि फोन गरेर बोलाउँछन्,’ उनले भनिन्, ‘म पनि फोन आउनेबित्तिकै सबैथोक छाडेर हिँड्छु ।’