ज्यानमारा बन्दै कैलालीको पुर्वपश्चिम राजमार्गः ५ दिनमा ४ दुर्घटना, ४ जनाको मृत्यु
2021/11/29, 10:14
 
dd

कैलालीको पुर्व पश्चिम राजमार्गमा दैनिक जसो सवारी दुर्घटना हुँदा मानिसहरुको ज्यान गईरहेको छ । पछिल्लो पाँच दिनमा मात्रै राजमार्गका विभिन्न सडक खण्डमा चार वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । पछिल्ला चार दुर्घटनामध्ये तीनमा ट्रकले ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ ।

पछिल्ला केही दिनयता चिसो बढ्दा कैलालीमा साँझ र विहान हुस्सु र सितलहर बढ्दा पूर्वपश्चिम राजमार्गमा दुर्घटना बढ्दै गएको छ । पछिल्ला चार दुर्घटनामध्ये तीनमा ट्रकले ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ । बजार क्षेत्रमा तिव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढेको प्रहरीले जनाएको छ ।

आज सोमबार मंसीर १३ गते विहान कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । नाम र ठेगाना नखुलेका र २५ वर्षीय पुरुषको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । भैरहवाबाट अत्तरिया आउँदै गरेको ना ६ ख ५३६६ नम्बरको मालवाहक ट्रकले  सोमबार विहान साढे ३ बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रक चालक कपिलवस्तु ९ भर्तापुरका २५ वर्षीय सैलेश नेपालीलाई ट्रक सहित इलाका प्रहरी मालाखेतीले नियन्त्रणमा लिएको छ ।

मंसीर १२ गते राति कैलालीमा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । ३ जना गम्भीर घाइते भएका छन । नम्बर नखुलेको अनटेस्ट मोटरसाइल, से ६ प ६९० नम्बरको अर्को मोटरसाइकल र से ६ प ९२३५ नम्बरको स्कुटी घोडाघोडी नगरपालिका वडा नम्बर १ को बेलकोटा एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा परी घोडाघोडी नगरपालिका वडा नम्बर १ का २० वर्षीय रुद्र बोहराको मृत्यु भएकोे प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । यस्तै घाइते हुने सोही ठाउँका ३२ वर्षीय लक्ष्मीराम चौधरी, ३० वर्षीया सुमिता चौधरी र १८ वर्षीय सन्जु शाही रहेको प्रहरीले बताएको छ । 

मंसीर ११ गते राति कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक बसन्तराज शर्माको मृत्यु भयो । मृतकका आफन्तले १२ गते विहान ८ बजेबाट सडक अवरुद्ध गरे । घोडाघोडी नगरपालिका ५ डोकेबजारमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सु.प.प्र.०१ ००८ प ५४७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लु १ ख ४६६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो । 

मंसीर ९ गते टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु ट्रकको ठक्करबाट मृत्यु भयो । उनलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्की बजारमा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिदा ती महिलाको घटनास्थलमै मृत्यु भएपछि झण्डै ५ घण्टासम्म राजमार्ग अवरुद्ध गरिएको थियो । सो क्रममा स्थानीयले आन्दोलन गरेपछि प्रहरीले २८ राउण्ड हवाई फायर र ३४ सेल अश्रुग्यास प्रहार गरेको थियो ।