कैलालीका २३ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या प्रकरणमा आरोपितलाई भाग्न सघाएको भन्दै थप दुई जना पक्राउ परेका छन्। कैलालीको बौनीया र बर्दियाबाट दुई जनालाई पक्राउ गरिएको हो।
घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार आरोपितलाई भाग्न सघाएको आरोपमा सविनजंग शाह र लोकेन्द्र कुँवर पक्राउ गरिएको बताए। उनीहरुलाई पनि सहयोग गरेको अभियोगमा धनगढीका विश्वास शाहलाई पनि पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ। उनी नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य हुन्। शाहलाई सोमबार तारेखमा छोडिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
‘सविनजंग र लोकेन्द्रले हत्याका आरोपितलाई गाडी खोजेर भाग्न सहयोग गरेको खुलेको छ,’ ती अधिकारीले भने, ‘ती दुबै जनालाई मतियार बनाएर मुद्धा अगाडि बढाइएको छ। विश्वासलाई भने सोधपुछका लागि ल्याइएको हो। उनी घटनामा संलग्न भने देखिएका छैनन्। तर घटनापछि सविनजंगसंग उनको कुराकानी भएको छ।’ घटनाका योजनाकार भनिएका नविन रावल लगायतका केही आरोपित अझै फरार छन्। आरोपित ११ जनालाई भने प्रहरीले पक्राउ गरि सार्वजनिक गरिसकेको छ।